ad ad

सुदूरपश्चिम


कञ्चनपुरका गाउँगाउँमा अनुमतिबिनाका औषधि पसल, एक महिनामै १५ जनाविरुद्ध मुद्दा

कञ्चनपुरका गाउँगाउँमा अनुमतिबिनाका औषधि पसल, एक महिनामै १५ जनाविरुद्ध मुद्दा

गोकुल जोशी
साउन १, २०८० सोमबार १२:२१, कञ्चनपुर

अनधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने विरुद्ध कञ्चनपुर प्रहरीले अभियान थालेको छ।

वर्षौंदेखि अनधिकृत रुपमा सञ्चालनमा रहेका मेडिकल पसलमा छापा हानेर प्रहरीले धमाधम उनीहरुलाई नियन्त्रणमा लिइरहेको हो।

अवैध मेडिकल पसल विरुद्ध ‘अप्रेसन’नै चलाएर सो कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउने अभियान चलिरहेकोे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले बताए।

‘लामो समयदेखि यस क्षेत्रमा बिना इजाजत जोखिमपूर्ण औषधिहरुको बिक्री वितरण तथा इलाज भइरहेको छ,’ उनले भने, ‘यसलाई संवेदनशील रुपमा लिएर यसविरुद्धको अभियानका रुपमा अगाडि बढेका छौँ।’

उनका अनुसार इलाज सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अवैधानिक रुपमा मेडिकल पसल सञ्चालन गर्नेलाई प्रहरीले कानूनी दायरामा ल्याइरहेको छ।

खानतलासका क्रममा इजाजतबिना नै इलाज तथा औषधि बिक्री वितरण गर्दै आएको, नाम बिनाको मेडिकल सञ्चालन गरेको, पसलमा कुनै बोर्ड नरहेको, इजाजत पत्र नराखेको र बिना सिफारिस बिक्री वितरण गर्न नपाइने जोखिमपूर्ण औषधिहरु बिक्रीका लागि तयारी अवस्थामा राखेको पाइएको प्रहरीले जनाएको छ।

‘अहिले गाउँतिर केन्द्रित भएर अभियान सुरु गरेका छौँ, अब बजारतिर केन्द्रित हुन्छौँ,’ एसपी थापाले भने, ‘इजाजत लिएर कानून सम्मत मेडिकल सञ्चालन गर्न आग्रह गरिन्छ।’

मुुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ अनुसार इलाज सम्बन्धी कसुरमा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न नहुने व्यवस्था छ।

कानून बमोजिम औषधि बिक्री वितरण गर्न पाउने व्यक्तिले इलाज गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिस बिना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागुऔषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न पाइँदैन।

प्रहरीले एक महिनाको अवधिमा अवैध मेडिकल सञ्चालन गर्ने १५ जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाभर अवैध मेडिकल जालो फैलिएको छ।

शुक्रबार प्रहरीले भीमदत्त नगरपालिकाका ६ वटा मेडिकल पसलमा छापा हानेको थियो। ती मेडिकल पसलका ४ जना सञ्चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

भीमदत्त नगरपालिका–७ की बिमला उपाध्याय, भीनपा–१६ मझगाउँका राजेन्द्रबहादुर चन्द, भीनपा–१० सुकासालका सुरेश पाण्डेय र सोही ठाउँका मोहनबहादुर रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुई जना मेडिकल सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ। भीमदत्त नगरपालिका–१६ बसन्तपुरका वीरेन्द्रराज पन्त र भीमदत्त नगरपालिका–१३ साझा चौराहका रामबहादुर विष्ट फरार रहेका छन्।

पन्तको मेडिकल पसलबाट ९४ प्रकारका औषधि र विष्टको मेडिकल पसलबाट १२५ प्रकारका औषधि बरामद गरिएको प्रहरीले जनाएको छ। यसअघि प्रहरीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका क्षेत्रबाट ११ जना मेडिकल सञ्चालकलाई समातेको थियो।

भीमदत्त नगरपालिका–१३ बडैपुरमा मेडिकल पसलको नाम तथा अनुमति नलिइ औषधि पसल सञ्चालन गर्ने ३५ वर्षीय शान्तिरजन बैरागी र ब्रहमदेवमा औषधि पसल सञ्चालन गर्ने भारतको नोदिया पोष्ट ग्राम ईटापुकुरका ३९ वर्षीय गोकुल मण्डल प्रहरी फन्दामा परेका थिए।

दोधारा चाँदनीबाट भारतीय नागरिक सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी, भूपेन्द्र पुरी, राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार पक्राउ परेका थिए।

यी ११ जना इलाज सम्बन्धी कसुरमा जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भएको डीएसपी प्रकाश डाँगीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .