सुदूरपश्चिम


सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्- गेटामा विश्वविद्यालय बनाउन पहल जारी छ

सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्- गेटामा विश्वविद्यालय बनाउन पहल जारी छ

नेपालखबर
जेठ २९, २०८० सोमबार १७:२२, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन पहल गरिरहेको बताएका छन्।

सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री शाहले संघीय सरकारले नीति तथा कार्यक्रम र बजेटले उल्झन देखाएको भन्दै सरकार राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। 

गेटा मेडिकल कलेज सुदूरपश्चिम प्रदेश र सिंगो मुलुककै स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको केन्द्रको रुपमा विकास हुन पर्ने चाहना रहेको विज्ञप्तीमा उल्लेख छ।

सुदूरपश्चिमबासीको माग र चाहना बमोजिम संघ सरकारले गेटामा विश्वविद्यालय स्थापना गर्नका लागि कानुनी प्रक्रिया अघि बढाइएको मुख्यमन्त्री शाहले बताए।

नीति तथा कार्यक्रममा विश्वविद्यालय विधेयक चालु अधिवेसनमा नै प्रस्तुत गर्ने भनी उल्लेख भएकोमा वार्षिक बजेटमा भने स्वास्थ्य विज्ञान प्रतिष्ठान उल्लेख भएर  अस्पष्टता सिर्जना हुन पुगेकामा उनले ध्यानाकर्षण गराएका छन्। 

‘यस विषयमा हामीले सरकारका जिम्मेवार राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग निरन्तर सम्वाद र सम्पर्क गरिरहेका छौं,’ विज्ञप्तीमा भनिएको छ, ‘सम्वादको क्रममा उहाँहरुबाट उक्त अस्पष्टता हटाई गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम प्रदेशका आम नागरिकको चाहना र नेपाल सरकारको पूर्व निर्णय बमोजिम सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने गरी आवश्यक कानूनी र अन्य व्यवस्था मिलाइने विश्वास दिलाउनु भएको छ।’

मुख्यमन्त्री शाहलेसुदूरपश्चिमको प्रदेश सभा बैठकमा सोमबार सार्वजनिक महत्वको विषयमा समय माग गर्दै गेटा विश्वविद्यालयका सम्बन्धमा स्पष्टीकरण दिए। तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले विश्वविद्यालयको मुद्दा प्रदेश सभामै उठाएको छ।

प्रदेशको मन्त्रीपरिषद्ले विश्वविद्यालयको लागि निर्णय गर्नु पर्ने भन्दै सोमबार एमालेले प्रदेश सभा बैठक बहिस्कार गरेको थियो। यसअघि आइतबार प्रदेश सभामा नेकपा एमालेले गेटा विश्वविद्यालयका बारेमा सरकारको धारणा माग गरेको थियो।

२०७९ साल माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो। तर सरकारले १०० शैयाको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेको पछि यहाँ आन्दोलन भइरहेको छ।

विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समिति चरणबद्ध आन्दोलनमा छ। आइतबार सुदूरपश्चिममा आमहडताल गरेको संघर्ष समितिले सोमबार नाराबाजी गर्दै प्रदेश सभा घेराउ गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .