सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावल र नेकपा एमालेका नेता डा. भीम रावलबीच जम्काभेट भएको छ।
बिहीबार कैलालीको धनगढी विमानस्थलको भीआईपी कक्षमा रावलद्धयबीच जम्काभेट भएको हो।
एमाले सुदूरपश्चिमका सहइन्चार्ज समेत रहेका मुख्यमन्त्री रावल संघीय राजधानी काठमाडौंबाट धनगढी फर्किदै थिए। एमाले पूर्वउपाध्यक्ष रावल काठमाडौंतर्फ गइरहेका थिए।
उनीहरुबीच धनगढी विमानस्थलको भीआइपी कक्षमा जम्काभेट भएको मुख्यमन्त्री रावल निकट एक नेताले जानकारी दिए।
‘कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन, मुख्यमन्त्री ज्यू काठमाडौंबाट धनगढी ल्याण्ड भएपछि भीआइपी कक्षमा जानुभयो, त्यहाँ कमरेड भीम रावल हुनुहुन्थ्यो,’ ती नेताले भने, ‘उहाँ काठमाडौंतर्फ जाँदै हुनुहुदोरहेछ, भीआइपी कक्षमै उहाँहरुबीच सामान्य कुराकानी भयो।’
ती नेताका अनुसार नेता रावलले मुख्यमन्त्री रावललाई बधाई दिएका थिए। उनले मुख्यमन्त्री रावलसंग विश्वासको मतको बारेमा जिज्ञासा पनि राखेका थिए।
‘मुख्यमन्त्री ज्यूलाई बधाई दिनुभयो, विश्वासको मत कहिले लिनुहुन्छ? भनेर जिज्ञासा पनि राख्नु भयो,’ ती नेताले भने, ‘मुख्यमन्त्रीले ज्यूले केही दिनमा विश्वासको मत लिने जवाफ दिनुभयो।’
मुख्यमन्त्री रावल एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन्। नेकपा एमालेको धुव्रिकरणमा नेता रावल भने ओली इतर कित्ताका नेताका रुपमा गनिन्छन्।
नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीको अडानले मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस छ। त्यसकै कारण ११ माघमा तोकिएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।
उनी विश्वासको मतको अनुकुल वातावरण बनाउन करिब एक साता काठमाडौंको बसाइ पछि बिहीबार गृहप्रदेश फर्किएका छन्।
काठमाडौं मुख्यमन्त्री रावलले सत्तारुढ दलका शीर्ष नेतृत्वसंगै डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई पनि भेटेका थिए।
नागरिक उन्मुक्तिले विश्वासको मतका लागि रेशम चौधरीको रिहाइ ‘बटम लाइन’ बनाएर सत्तारुढ गठबन्धनमाथि व्यापक दबाब पारेको छ।
‘काठमाडौंको बसाई सकारात्मक रह्यो, केही दिनमै विश्वासको मत लिन्छौं,’ नेकपा एमालेका एक नेताले भने।
मुख्यमन्त्री रावलले सुदूरपश्चिमका डीआइजी असोक सिंहबाट भूकम्पको क्षतिको विवरण पनि विमानस्थलमै लिएका छन्।
उनले डीआईजी सिंहलाई भूकम्पको केन्द्रबिन्दु बाजुराको बिच्छ्याको पछिल्लो अवस्था, त्यहाँ प्रहरी पुगे÷नपुगेको जानकारी तथा क्षतिको जानकारी लिएका थिए।
डीआईजी सिंहले बिच्छ्यामा केही भौतिक संरचनामा सामान्य क्षति भएको र केही भेडा मरेको तर मानवीय क्षति भने नभएको जानकारी मुख्यमन्त्री रावललाई गराएका थिए।
प्रतिक्रिया