ad ad

राजनीति


बालुवाटारमा ‌कांग्रेस नेतासँग ओलीको भनाभन, राष्ट्रपतिका लागि ढोक्सा नथाप्न चेतावनी

बालुवाटारमा ‌कांग्रेस नेतासँग ओलीको भनाभन, राष्ट्रपतिका लागि ढोक्सा नथाप्न चेतावनी

फाइल तस्बिर


नेपालखबर
माघ ३, २०७९ मंगलबार १९:३८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुबीच भनाभन भएको छ।

प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख-उपसभामुख पदको चयन दलहरुबीच सहमतिमा गर्नुपर्ने प्रस्ताव अघि सारेको बैठकमा एमाले अध्यक्ष ओली र कांग्रेस प्रमुख सचेतक रमेश लेखकबीच चर्चाचर्की परेको हो। 

मंगलवार अपरान्ह सरकारी निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले सहमतिको बाटोमा जान खोज्दा ओली कांग्रेससँग रुस्ट बनेका छन्। 

तर उक्त बैठकमा ओलीले सात दलीय सत्ता गठबन्धनबीच राष्ट्रपतिदेखि उपसभामुखसम्म कसले लिने भन्ने सहमति बनिसकेकोअवस्थामा कांग्रेसले लोभ गरेको टिप्पणी गरेका थिए।

उनले बैठकका क्रममा सात दलको सहमतिमा कांग्रेसले खेलेर पद लिन खोजेको बताएका थिए। त्यसक्रममा ओलीले कांग्रेसलाई प्रतिपक्षी दलका रुपमा उभिन नसकेको भन्दै कटाक्ष गरेका थिए।

उनले प्रदेशदेखि संघसम्म सहमति भइसकेको अवस्थामा अब कांग्रेसले कुनै आश गर्नुको अर्थ नहुने बताए। 

‘हामीले गठबन्धनमा प्रदेशदेखि संघका सबै कुरामा सहमति गरिसकेका छौँ', ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'अबको बाटोका लागि हामीबीच सहमति बनिसकेको छ। प्रदेशदेखि संघसम्म गठबन्धनले विश्वासको मत लिइरहेको छ। अब तपाईंहरु सत्ता र पदका लागि नखेल्नु। कुनै पदका लागि तपाईंहरुले ढोक्सा नथाप्नुस्। तपाईंहरू अहिले प्रतिपक्ष भएर पनि बस्न सक्नुभएन।’

प्रचण्डले सहमति खोजिरहँदा ओलीले कांग्रेसलाई राष्ट्रपति पद दिन नसकिने अडान लिए। उनले गत पुस १० गते नै सबै कुरामा सहमति गरिसकेको अवस्थामा कांग्रेसको दाउको अर्थ नहुने बताए। 

‘राष्ट्रपति पद कांग्रेसलाई दिन सकिन्न। पुस १० गते नै हमति गरिसकेका छौँ,’ उनले भने, ‘अब थप सहमति कसैसँग हुँदैन। कांग्रेसले पद नपाइने ढोक्सा नथाप्नु।’

ओलीको उक्त टिप्पणीलाई लिएर कांग्रेस प्रमुख सचेतक लेखक आक्रोशित भए। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्कासमेत उपस्थित बैठकमा ओलीलाई जवाफ दिँदै लेखकले संविधान बचाउन विश्वासको मत दिएको बताए। 

'प्रचण्डजीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई बुझाएको पत्रमा हाम्रो हस्ताक्षर थिएन', उनले भने, 'तर हामीले सत्ताका लागि खेलेका छैनौँ। संविधान बचाउन हामीले प्रचण्डलाई विश्वासको मत दिएका हौँ।'

तर लेखकले सभामुखको निर्वाचन हुनै लाग्दा आफूहरु राष्ट्रिय सहमतिको पक्षमा रहेको व्याख्या गरे। 'संविधान बचाउन र मुलुकको आवश्यकताअनुसार विश्वासको मत दियौँ', उनले भने, 'यो हाम्रो कदम संविधान बचाउन हो, कुनै पद र सत्ताका लागि खेल्न होइन।'

बैठकपछि नेता लेखकले आफूहरुले सहमतिमै अघि बढ्न भनेको बताए। 'चार पदमा संविधानको पालना संरक्षण र तटस्थ भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ। सबैको साझा बस्नुपर्ने भएकाले प्रमुख प्रतिपक्षी भएकाले पनि यसमा छलफल गर्न तयार छौँ भनेका छौँ', उनले भने, 'प्रधानमन्त्रीले पनि यी पदहरुमा छलफल गरेर सहमतिमा जान सकिन्छ कि भन्नु भएको छ।'

उनले अबको बाटोका लागि आन्तरिक छलफलबाट निर्णय लिने बताए। 'हामी छलफल गर्छौँ। छलफल गरेर धारणा बनाउँछौँ। कुनै विषयमा सहमति भएको छैन, विषय प्रवेश भएको छ', उनले भने, 'चार पदमा सहमति गरेर जान सकिन्छ कि भन्ने भएको छ।'

तर उनले ओलीसँगको चर्काचर्कीबारे केही खुलाएनन्। 'एमालेको धारणाबारे उहाँहरुलाई नै सोध्नुस्', उनले भने, 'हामीले सहमतिबाटै अघि बढ्न हाम्रो कुरा राखेका छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .