सुदूरपश्चिम


कञ्चनपुर २ र अछाम २ का यी प्रतिस्पर्धी पाँच वर्षपछि फेरि आमनेसामने

कञ्चनपुर २ र अछाम २ का यी प्रतिस्पर्धी पाँच वर्षपछि फेरि आमनेसामने

गोकुल जोशी
कात्तिक २७, २०७९ आइतबार १४:५१, कञ्चनपुर

प्रतिनिधि र प्रदेश सभा चुनावको मिति नजिकिएसँगै उम्मेदवार मतदाता रिझाउन  व्यस्त छन्। सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये अधिकांश क्षेत्रमा पुरानै अनुहार चुनावी मैदानमा छन्। 

तर कतिपय ठाउँमा भने ०७४ कै प्रतिस्पर्धी आमनेसामने भएका छन्। सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये दुई वटा क्षेत्रमा ०७४ कै प्रतिस्पर्धीबीच चुनावी भिडन्त हुँदैछ।

कञ्चनपुर २ र अछाम २ मा एमाले र कांग्रेसबाट ०७४ स्पर्धा गरेका उम्मेदवार यसपटकको चुनावमा पनि मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन्। यसपटक उम्मेदवार पुरानै भए पनि राजनीतिक समीकरण भने फेरिएको छ।

०७४ मा एमालेको सारथी माओवादी केन्द्र यसपटक नेपाली कांग्रेससँग चुनावी सहकार्यमा छ। कञ्चनपुर २ र अछाम २ अघिल्लो पटक माओवादी केन्द्रको समर्थनमा एमालेले जितेको थियो। 

कञ्चनपुर २ मा ०७४ कै प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउद र नेकपा एमालेका नरबहादुर धामी चुनावी दौडमा छन्।

०७४ मा नेकपा माओवादी केन्द्रको समर्थनमा एमालेका धामी ३३ हजार २२० मतसहित विजयी भएका थिए। कांग्रेसका साउदले त्यसबेला २४ हजार ८९३ मत ल्याएका थिए।

अहिले साउद सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रुपमा चुनावमा होमिएका छन्। ०७४ जितेका धामी दोहोरिने दाउसहित चुनावी मैदान छन्। साउद विगतको हारको बदला लिने योजनामा छन्।

‘एमालेले जनताको पक्षमा काम गर्न सकेको छैन, त्यसैले विकास र समृद्धिका लागि यसपटक जनताले गठबन्धनलाई जिताउँछन्,’ कांग्रेस क्षेत्र नं. २ का सभापति लालबहादुर सिंहले भने, ‘यहाँ हामी त्यसै पनि बलियो छौँ, त्यसमाथि माओवादी पनि हामीसँग छ, हामी भारी मतान्तरले जित्छौँ।’

पार्टी विभाजनबाट गुज्रिरहेको एमालेलाई गठबन्धनविरुद्ध जित्न चुनौती छ। त्यसमाथि टिकटमा असन्तुष्टि जनाउँदै क्षेत्र नम्बर २ का कतिपय नेताले पार्टी छोडेका छन्।

प्रदेश सभा २ (१) मा टिकट नपाएपछि एमालेबाट विद्रोह गर्दै टेकबहादुर हमाल बागी उम्मेदवार बनेका छन्। क्षेत्र नम्बर २ मा स्थानीय तहको परिणामअनुसार सत्तागठबन्धन बलियो देखिन्छ।

यो क्षेत्रमा बेदकोट नगरपालिका (८ नम्बरबाहेक), शुक्लाफाँटा र कृष्णपुर नगरपालिकासहित ३० वडा छन्। स्थानीय तहमध्ये बेदकोट र कृष्णपुर नगरपालिकामा कांग्रेसले मेयर–उपमेयर दुवै जितेको छ। शुक्लाफाँटा नगरपालिकामा उपमेयर मात्रै कांग्रेसले जितेको छ भने मेयर एमालेले जितेको छ।

यहाँ स्थानीय चुनावमा एमाले, कांग्रेस एक्लाएक्लै तथा माओवादी केन्द्र र एकीकृत समाजवादी तालमेल गरेर लडेका थिए। यहाँ कांग्रेस र माओवादीसहितको वाम–लोकतान्त्रिक गठबन्धनसँग करिब ३० हजार मत छ।

क्षेत्र नम्बर २ अन्तर्गत पर्ने तीन स्थानीय तहमा कांग्रेसका प्रमुखका उम्मेदवार एक्लैले कूल २४ हजार ६७६ मत बटुलेका छन्। एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादीसँग पनि १० हजार हाराहारी मत छ।

माओवादीको समर्थनमा बेदकोट नगरपालिकामा मेयरका उम्मेदवार एकीकृत समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ र शुक्लाफाँटामा एकीकृत समाजवादीको समर्थनमा उम्मेदवार बनेका माओवादीका नवराज ऐरले ५ हजार २२५ मत ल्याएका थिए।

यस्तै, एक्लै लडेको कृष्णपुर नगरपालिकामा माओवादीका उम्मेदवार जोगराज चौधरीले ८ हजार २०० र एकीकृत समाजवादीका सुरेन्द्र बहादुर बमले ६७५ मत ल्याएका थिए। 

समाजवादीका रेग्मी र बम अहिले एमालेमै फर्किएका छन्। एमालेसँग क्षेत्र नम्बर २ मा १७ हजार बढी मत छ। एमालेका प्रमुखका उम्मेदवारले तीनै स्थानीय तहमा १७ हजार ९८७ मत बटुलेका छन्।

३० वडामध्ये कांग्रेसले १५ वडा, माओवादीले ८, एमाले ६ र एकीकृत समाजवादीले १ वडामा अध्यक्ष जितेको छ।

कांग्रेसले २ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बेदकोटका १, ३, ४, ५ र ७,  शुक्लाफाँटाका ४, ५, ६, ९, १० र ११ तथा कृष्णपुर नगरपालिकाका १, ५, ८ र ९ वडा जितेको छ।

माओवादीले बेदकोटको वडा नम्बर ६, १०, शुक्लाफाँटाको ३, ८ र कृष्णपुरको २, ३, ४, ६ जितेको छ। 

एमालेले बेदकोटको वडा नम्बर २, ९, शुक्लाफाँटाको १, २, ७ र कृष्णपुरको ७ जितेको छ। एकीकृत समाजवादीले शुक्लाफाँटा–१२ मा जितेको छ।

‘जनताबाट राम्रो प्रतिक्रिया पाएका छौँ, एमालेको सरकारका पाला थुप्रै विकास निर्माणका काम भएका छन्,’ एमालेबाट प्रदेश सभा (२) का उम्मेदवार रहेका कृपाराम रानाले भने, ‘जति ठूलो गठबन्धन बनाए पनि एमालेको जितलाई रोक्ने तागत कसैसँग छैन, जनताले काम गर्नेलाई मत दिन्छन्।’

यस्तै, अछाम २ मा एमालेले यसपटक ०७४ का विजेता यज्ञबहादुर बोगटीलाई उम्मेदवार बनाएको छ। सत्तारुढ गठबन्धनको तर्फबाट बोगटीका ०७४ का प्रतिस्पर्धी कांग्रेसका पुष्पबहादुर शाह प्रतिस्पर्धामा छन्।

वाम गठबन्धनका साझा उम्मेदवार यज्ञ बोगटीले ०७४ सालमा २१ हजार ९६५ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी शाहले १९ हजार १०६ मत ल्याएका थिए।

अछाम २ को स्थानीय तहको मतपरिणाम कांग्रेस अनुकुल छ। वडाध्यक्षले पाएको मतलाई आधार मान्दा कांग्रेस १९ हजार ३३९, एमाले १७ हजार ९८७, माओवादी ६ हजार ४४१ र नेकपा एकीकृत समाजवादीको २ हजार १७५ मत छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .