ad ad

सुदूरपश्चिम


दुर्घटनामा मान्छे मरेको भन्दै फेसबुक लाइभ गर्ने कलाकार कुटिए

दुर्घटनामा मान्छे मरेको भन्दै फेसबुक लाइभ गर्ने कलाकार कुटिए

गोकुल जोशी
साउन १५, २०७९ आइतबार १९:४०, कञ्चनपुर

बैतडीको पाटन नगरपालिका–९ खोड्पेका जनकराज भट्ट (जेआर) माथि कुटपिट भएको छ। 

आइतबार कैलालीको अत्तरियामा ५–६ जनाको समूहले आफूमाथि कुटपिट गरेको भट्टले बताएका छन्। 

कुटाइबाट कानको जाली फुटेको र टाउकोमा पनि चोट लागेको उनले बताए।

‘म अहिले धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार गराइरहेको छु,’ उनले भने, ‘मैले कसैको केही बिगारेको थिइन, अनाहकमा कुटपिट गरे।’

भट्ट सुदूरपश्चिमका कलाकार (देउडिया) पनि हुन्। भट्ट सामाजिक सञ्जाल र टीकटकमा जेआर भट्टका नामले चर्चित छन्। 

ठेट बैतडेली भाषाको कमेडी गर्ने र देउडा गाउने उनले शनिबार अबेर साँझ अत्तरियामा भएको ट्याङ्कर दुर्घटनाको फेसबुकमार्फत लाइभ प्रसारण गरेका थिए।

उक्त दुर्घटनामा सडकमा हिँडीरहेका मालिकार्जुन गाउँपालिका–९ का लोकेन्द्र धामी घाइते भएका थिए। पाँच वटा पशुचौपाया मरेका थिए।

कलाकार भट्टले स्थानीयलाई उदृत गर्दै दुर्घटनामा एक जनाको मृत्यु भएको हुनसक्ने आशय प्रकट गरेका थिए।

‘मैले सुनेको भरमा लाइभ गरेको हो,’ उनले भने, ‘पछि उक्त दुर्घटनामा कसैको पनि मृत्यु नभएको प्रतिक्रिया आएपछि सच्याएको थिएँ, तर त्यही कुरालाई निहूँ बनाएर ज्यानै मार्ने उद्देश्यले म माथि भौतिक आक्रमण भएको छ।’

हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियामा बस्दै आएका भट्टले आफू तरकारी किन्न अत्तरिया बजार गएका बेला एक्कासी ५–६ जनाले आक्रमण गरेको बताए।

‘यो आफूलाई ठूलै टिकटक स्टार सम्झिन्छ, हिजो पनि नमरेको मानिसलाई मर्याे भन्दै लाइभ गर्यो’ भनेर अन्धाधुन्ध कुटपिट गरिएको भट्टले बताए।

उनले गल्ती महसुस भएपछि त्यो लाइभ पहिल्यै डिलिट गरिसकेको पनि सुनाए।

कुटपिटपछि माया मेट्रो हस्पिटलबाट उनले रुँदै फेसबुकमा लाइभ गरेपछि घटना सार्वजनिक भएको हो।

उनले आफूमाथि कुटपिट गरिएको भन्दै ईलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन दिएका छन्। प्रहरीले घटनामा संलग्न भएको आशंकामा गोदावरी नगरपालिका–२ का स्थानीय रोहित साउदलाई पक्राउ गरेको छ।

घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .