ad ad

खेल


रोनाल्डोको प्रशंसामा विराट कोहली : तिम्रो योगदानको कुनै ट्रफी र उपाधिसँग तुलना हुँदैन

रोनाल्डोको प्रशंसामा विराट कोहली : तिम्रो योगदानको कुनै ट्रफी र उपाधिसँग तुलना हुँदैन

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०७९ सोमबार १३:४, काठमाडौँ

मोरक्कोसँग क्वार्टरफाइनल भिडन्तमा हारेसँगै फिफा विश्कप २०२२ बाट क्रिस्टियानो रोनाल्डो रुँदै बिदा भएका छन्। 

पोर्चुगललाई हराउँदै विश्कप इतिहासमा पहिलो पटक अफ्रिकी टोली सेमिफाइनलमा पुगेको छ। 

रोनाल्डो रुँदै मैदानबाट निस्किँदा उनका करोडौँ फ्यान भावुक भए। मानिसहरुले आफ्नो हिरोका लागि सामाजिक सञ्जालमा म्यासेज दिइरहेका छन्। 

उनीहरुमा एक हुन् भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहली। उनले पनि ट्वीट गर्दै रोनाल्डोलाई सर्वकालिन महान खेलाडी भनेका छन्। 

क्रिकेटका राजाको उपमा पाएका विराट कोहलीले फुटबलको विश्वका एक वादशाह रोनाल्डोका लागि भावुक सन्देश सामाजिक सञ्जालमा दिएका छन्। 

उनले आफ्नो हिरोका लागि लेखेका छन्, 'तिमीले यस खेलबाट दुनियाँभरका खेल प्रशंसकका लागि जति गर्न सक्यौ, त्यसलाई कुनै ट्रफी या कुनै उपाधिले कम आँक्न सक्दैन। तिम्रो खेलले कति प्रभाव पार्न सक्यौ भन्ने कुरा तिम्रो खेल हेरिरहेका विश्वभरका लाखौँ करोडौँ मानिसहरुले महसुस गर्न सक्छन्। तिमी भगवानको तर्फबाट एक सुन्दर उपहार हौँ।'

उनी रोनाल्डो प्रशंसा गरेर थाक्दैनन्। अझै अगाडि बढ्दै उनले रोनाल्डोले मैदानमा उत्रिँदा सधैँ मनबाटै खेल्ने गरेको पनि बताए। 

'यस्ता व्यक्तिका लागि भगवानले वास्तविक आशीर्वाद दिएका छन्। जो हरेक पटक आफ्नो मनबाट खेल्छन्। र, कुनै  पनि खेलाडीका लागि रोनाल्डो मिहिनेत र समर्पण तथा सच्चा प्रेरणाका प्रतीक हुन्। तिमी मेरो लागि सर्वकालीन महान छौ।'

३७ वर्षीय रोनाल्डोले अब अर्को विश्वकप खेल्ने सम्भावना कम छ। पाँच पटकका बालोन डीओर विजेताको विश्वकप सपना तुहिँदा उनका करोडौँ फ्यान पनि स्तब्ध छन्। 

हाल क्लबविहीन रहेका क्रिस्टियानो रोनाल्डोका लागि यो विश्वकप पनि विवादमुक्त रहेन। उनलाई मोरक्कोविरुद्ध  शुरुवाती प्लेइङ ११ मा राखिएको थिएन। तर उनी टिमका कप्तान थिए। यसका बावजुद उनीमाथि प्रशिक्षक फ्रनान्डो सान्तोसको यो व्यवहार पाच्य थिएन। रोनाल्डो फर्ममा नरहेको भन्ने पनि होइन। फिटनेसको पनि समस्या थिएन। तर पनि उनलाई सुरुमा बेन्चमा राखेर पोर्चुगल विश्वकपबाट बाहिरिँदा मोरक्कोका फ्यानले उनलाई हाँसोको पात्र बनाए।

विराट कोहलीले कयौँ पटक आफू रोनाल्डोको ठूलो फ्यान रहेको बताइसकेका छन्। उनी फिटनेसका लागि रोनाल्डोलाई फलो गर्छन्। आफ्नो हिरो रुँदै मैदानबाहिर जाँदै गरेको देखेपछि विराट कोहलीले पनि भावुक सन्देश छाडेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .