ad ad

खेल


इंग्ल्यान्डको सन्तुलित टिमलाई ५६ वर्षदेखिको उपाधि खडेरी तोड्ने चुनौती

इंग्ल्यान्डको सन्तुलित टिमलाई ५६ वर्षदेखिको उपाधि खडेरी तोड्ने चुनौती

नेपालखबर
मंसिर २, २०७९ शुक्रबार ९:४१, काठमाडौँ

विश्व फुटबलमा सधैं दाबेदार टिमका रुपमा हेरिए पनि आधुनिक फुटबल जगतले इंग्ल्यान्ड  टिमको प्रमाणित कलाको साक्षी बस्न पाएको छैन। सन्तुलित देखिने टिम र दर्शकको सधैंको बलियो साथले पनि इंग्ल्यान्ड महत्वपुर्ण समयमा चुक्ने गरेको छ।

सन्तुलित टिम लिएर कतार पुगेका प्रशिक्षक ग्यारेथ साउथगेटसँग ५६ वर्षदेखिको उपाधि खडेरी तोड्नु पर्ने चुनौती छ। 

प्रिमियर लिगमा उत्कृष्ट लयमा देखिएका खेलाडीहरुको समूह यस पटक साउथगेटसँग छ। विश्व फुटबलका पारखीहरुले अब्बल मानेका तीनै खेलाडीहरुलाई खेल शैलीका लागि होइन, जितको मानसिकताका लागि तयार पार्नु साउथगेटको चुनौती हुनेछ। 

सन् १९६६ मा आफैं आयोजना गर्दा विश्वकप जितेको इंग्ल्यान्डले उपाधि दोहोर्‍याउन सकेको छैन। व्यक्तिगत रुपमा प्रिमियर लिगका अब्बल खेलाडी भए पनि इंग्ल्यान्डको टिमले त्यो अनुसार नतिजा भने दिन सकेको छैन। 

युरोकपको उपाधिमा पनि इंग्ल्यान्डले आफ्नो नाम लेखाउन सकेको छैन। सन् २०२० को युरो कपमा पनि उपाधिको मुखमा पुगेको इंग्ल्यान्ड फाइनलमा चुकेको थियो। युरो कपमा इटालीसँग पेनाल्टीमा पराजित हुँदा इंग्ल्यान्ड उपविजेतामै सिमीत बन्यो।

विश्वकपमा भने घरेलु मैदानमा बाहेक इंग्ल्यान्ड जम्न सकेन। 

विश्वकप फुटबलमा उतारचढावपुर्ण यात्रा गरेको इंग्ल्यान्डले सन् २०१८ को विश्वकपमा जस्तो प्रर्दशन गर्‍यो त्यो प्रदर्शनको अपेक्षा समर्थकले पनि गरेका थिएनन्।

२०१८ को विश्वकपमा इंग्ल्यान्ड सेमिफाइनलिस्ट टोली बन्यो। सेमिफाइनलमा क्रोएसियासँग २–१ को हार व्यहोर्दै तेस्रो स्थानका लागि खेलेको थियो। तेस्रो स्थानका लागि भएको खेलमा बेल्जियमसँग २–० ले पराजित भएको इंग्ल्यान्ड अहिले ५६ वर्षपछि उपाधि उचाल्ने लक्ष्यमा छ। 
धेरै पटक उपाधि नजिक पुगेर पनि टाढिएको इंग्ल्यान्ड विश्व फुटबलमा एक पटक आफुलाई पुनः स्थापित गर्न संर्घषरत छ।

५ दशकपछि विश्वकपको ट्रफी उचाल्ने सपना देखेको इंग्ल्यान्डले समुह चरणमा अमेरिका, वेल्स र इरानसँग खेल्नेछ। समुह चरणका टोलीलाई हेर्ने हो भने इंग्ल्यान्ड अन्य टोलीभन्दा बलियो टोली हो। 

सन् १९३० बाट सुरु भएको विश्वकपको उपाधि उचाल्ने ८ राष्ट्रमध्ये इंग्ल्यान्ड पनि एक हो। १९६६ मा घरेलु मैदानमा भएको विश्वकपमा इंग्ल्यान्डले ट्रफी घरमै राख्न सफल भएको थियो। त्यसयता उपाधि नजिक पुगेर पनि इंग्ल्यान्डले ट्रफी जित्न सकेको छैन। सन् १९९० र २०१८ मा अन्तिम ४ मा पुगेर इंग्ल्यान्डले विश्वकपको यात्रा सकाएको थियो। जुन अहिलेसम्म कै उत्कृष्ट प्रर्दशन हो। 

१९३८ मा विश्वकप आयोजना भएपछिका दुई संस्करण विश्वकप हुन सकेन। सन् १९४२ र १९४६ मा दोस्रो विश्वयुद्धको समयमा विश्वकप आयोजना भएन। 

सन् १९३० बाट विश्वकप सुरु भएपनि इंग्ल्यान्डले सन् १९५० मा आएर मात्र विश्वकपमा सहभागिता जनाएको थियो। त्यसअघिका ३ संस्करणमा भाग नलिएको इंग्ल्यान्ड पहिलो चरणबाटै बाहिरियो। १९५४ मा क्वार्टरफाइनल सम्मको यात्रा तया गरेको इंग्ल्यान्डले १९५८ मा पुनः पहिलो चरणबाट नै बहिरियो। 

१९६३ मा भएको विश्वकमा क्वार्टरफाइनल पुगेको इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप आयोजना ग¥यो जुन समयमा उपाधि घरमा नै राख्न सफल भएको थियो। 

त्यसपछिका संस्करण फेरी क्वार्टरफाइनलसम्म पुगेको इंग्ल्यान्डले १९७४ र १९७८ को विश्वकपमा भाग लिएन। इंग्ल्यान्ड १९८२ मा दोस्रो चरणसम्म पुगेको थियो। १९८६ मा भएको विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको इंग्ल्यान्डले १९९० मा तेस्रो स्थानका लागि खेलेको थियो।

सेमिफाइनलमा वेष्ट जर्मनीसँग पेनाल्टीमा ४–३ ले पराजित हुँदै उपाधि नजिक पुग्नबाट चुकेको थियो। तेस्रो स्थानका लागि भएको खेलमा इटालीसँग २–१ ले पराजित हुँदै चौथो भएको थियो। 

त्यसपछि १९९४ मा भएको विश्वकपमा सहभागी नभएको इंग्ल्यान्ड १९९८ मा भने अन्तिम १६ बाट बाहिरिएको थियो। 

त्यसपछिका दुई संस्करणमा क्वार्टफाइनलसम्म पुगेको इंग्ल्यान्ड २०१० मा अन्तिम १६ र २०१४ मा पहिलो चरणबाटै बाहिरियो। तर २०२२ मा भने इंग्ल्यान्ड १९६६ को इतिहास दोहोर्याउने योजनामा छ।  

ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्डलाई गोल्डेन जेनेरेसनको समय मानिएको छ। त्यसैले पनि समर्थकलाई यो पटक टोलीबाट उपाधिको अपेक्षा छ। इंग्ल्यान्डले पछिल्लो समय टोलीमाथि ठुलो लगानी छ जसको नतिजा उ विश्वकपमा चाहन्छ। 

युवा टोलीको वर्चश्व रहेको इंग्ल्यान्डका खेलाडीले उमेर समुहमा आफुलाई प्रमाणित गरिसकेका छन्। उनीहरुले उमेर समुहका यू–१७, यू–१९, र यू–२० का गरि युरोपियन र विश्व फुटबलका ठुला उपाधि उचालिसकेका छन्। उत्साही युवा खेलाडी र ह्यारी केनको कप्तानीमा टोलीलाई एकपटक पुन च्याम्पियन बनाउने दौडमा इंग्ल्यान्ड छ। तर यसमा उनीहरुको मेहनतले भर पार्नेछ।

इंग्ल्यान्डले घाइते मिडफिल्डर जेम्स म्याडिसनलाई समेट्दै टोलीको घोषणा गरेको थियो। 

लेष्टरका प्ले मेकर जेम्स घुँडाको चोट बोकेका छन्। इंग्ल्यान्डले न्यु क्यासलका कालुम विल्सन र चेल्सीका मिडफिल्डर कोनोर गल्लभेरलाई ढिला गरि टोलीमा समावेश गरेको थियो। 

इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपका लागि युरोकप खेलेका १२ खेलाडीलाई १ देखि १२ नम्बरसम्मको जर्सी दिएका छन्। ग्यारेथले घोषणा गरेको टोलीमा विदेशी लिग खेल्ने एक मात्र खेलाडीले स्थान बनाउँदा बाँकी खेलाडी घरेलु लिगकै छन्। इंग्ल्यान्डको टिममा विदेशी लिगबाट बोरुसिया डर्टमुन्डका जुडे बेलिघंम मात्र छन्। 

इंग्ल्यान्डको गोलपोष्ट जोर्डन पिकफोर्ड, निक पोपे, आरोन राम्सडाले मध्य एकले सम्हाल्नेछन्। 

रक्षापंक्ती ट्रेन्ट एलेक्सान्डर, कोनोर कोएडी, इरिक डिर, ह्यारी मगुइर, लुक साव, जोहन स्टोनिस, किएरान ट्रिप्पिर, केल वाल्कर, बेन ह्वाइटले सम्हाल्दा मिडफिल्डमा जुडे बेलिंघम, कोनोर गाल्लाघेर, जोर्डन हेन्डरसन, मसन माउण्ट, कलभिन फिलिप्स र डेक्लान राइस खेल्नेछन्। 

कप्तान तथा मुख्य फरवार्ड ह्यारी केन इंग्ल्यान्डका मुख्य हतियार हुन्। उनले इंग्ल्यान्डका लागि ७५ खेलमा ५१ गोल गरेका छन्। उनी इंग्ल्यान्डको सर्वाधिक गोल गर्ने खेलाडीको किर्तिमान नजिक छन्। इंग्ल्यान्डबाट यसअघि वेनी रोनीले ५३ गोल गर्दै सर्वाधिक गोलकर्ताको किर्तिमान आफ्नो नाममा लेखाएका थिए। विश्वकपमा केनले २ गोल गरे रोनीको किर्तिमान बराबरी गर्नेछन्।

२०१८ को विश्वकपमा केनले ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए। उनकै कप्तानीमा इंग्ल्यान्डले २०२० मा युरो कपको उपविजेता बनेको थियो। 

२९ वर्षिय केनलाई मुख्य गरेर आर्सनलका फरवार्ड बुकायो साकाले साथ दिनेछन्। अट्याकिङ खेलमा अब्बल साकाले राष्ट्रिय टिममा २०२० मा डेब्यु गरेका थिए। नम्र स्वभावका साका निकै परिश्रमी छन्। यस्तै म्यानचेस्टर सिटीका फिल फोडेन र ज्याक ग्रिलिस पनि इंग्ल्यान्डको आक्रमण लाइनमा हुनेछन्। म्यानचेस्टर युनाइटेडका मार्कस रासफोड र चेल्सीका रहिम स्ट्रलिंगसहित जेम्स माडिसन, कालुम विल्सन पनि फरवार्ड लाइनमा उपलब्ध हुनेछन्।

मिडफिल्डमा बलियो देखिएको इंग्ल्यान्डको मध्यक्रम डेक्लान राइस, जुडे बेलिंघम र फिल फोडेनले मुख्य रुपमा सम्हाल्नेछन्। मध्यक्रम र फरवार्ड दुवैमा अब्बल २२ वर्षिय फोडेन अहिलेका प्रतिभावान खेलाडी हुन्। उनमा टोलीको आवश्यक्ता अनुसार दुवै पोजिसनमा खेल्न सक्ने क्षमता छ। 

भारतमा भएको यू–१७ विश्वकपमा इंग्ल्यान्डलाई च्याम्पियन बनाउँदा फोडेनले गोल्डेन बल जितेका थिए। उनी अहिले राष्ट्रिय टोलीमा पहिलो रोजाइमा खेल्छन्। टोलीका मुख्य प्रशिक्षकले फोडेनलाई १५,१६ वर्षको उमेरदेखि नै हेरिरहेका कारण उनी आउने दिनमा एक स्टारको रुपमा चम्कनेमा कुनै शंका नरहेको बताएका छन्। 

अर्का मिडफिल्डर जुडे बेलिंघम इंग्ल्यान्डका अर्का भरपर्दा खेलाडी हुन्। उनी इंग्ल्यान्डका तेस्रो युवा खेलाडी हुन्। १९ वर्षिय जुडे भर्सटाइल खेलाडीको रुपमा परिचित छन्। उनी विश्वकपमा सुरुवातमा नै मैदान उत्रने खेलाडी हुन्। 

उनीसँगै डेक्लान राइस पछिल्लो समय युरोपका उत्कृष्ट मिडफिल्डर हुन्। युरोकपमा राइसले उत्कृष्ट प्रर्दशन गर्दै आफ्नो छाप छाडेका थिए। २३ वर्षिय राइसमा बललाई नियन्त्रणमा लिन सक्ने क्षमताका साथै स्टाइकरसँग पनि राम्रो तालमेल गर्न सक्छन्। 

समूह बीमा रहेको इंग्ल्यान्ड तुलनात्मक रुपमा सहज समूहमा छ। इंग्ल्यान्ड रहेको समूहमा इरान, अमेरिका र वेल्स छन्। इंग्ल्यान्डले पहिलो खेल मंसिर ५ गते साँझ ६ः४५ बजे इरानसँग खेल्नेछ। दोस्रो खेलमा मंसिर ९ गते मध्यरात अमेरिकासँग र समूहको अन्तिम खेल मंसिर १३ गते मध्यरात वेल्ससँग भिड्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .