खेल


सावित्राले गरिन् सर्वाधिक गोल गर्ने कीर्तिमानको बराबरी

सावित्राले गरिन् सर्वाधिक गोल गर्ने कीर्तिमानको बराबरी

नेपालखबर
भदौ २६, २०७६ बिहिबार १२:२५,

सावित्राले किर्गिस्तानमा बिहीबार सम्पन्न नादेझ्दा कपको फाइनलमा नेपालका लागि दुई गोल गर्दै यसअघि अनु लामाको नाममा रहेको सर्वाधिक गोल गर्ने कीर्तिमानको बराबरी गरेकी हुन्। अनु र सावित्राको ३५–३५ गोल भएको छ। सावित्राले नेपालका लागि ३३ खेल खेल्दै ३५ गोल गरेकी हुन्।

नेपाल नादेझ्दा कपको फाइनलमा उज्बेकिस्तानसँग ३–० ले पछि परेको अवस्थामा ६७औं मिनेटमा सावित्राले पहिलो गोल गरेकी थिइन्। सरु लिम्बुले मैदानको मध्यभागबाट बल अघि बढाउँदै डी बक्सभित्र सावित्रालाई पास दिएकी थिइन्। सावित्राले वान भर्सेस वानमा पहिलो टचमै एक गोल गरिन्।

खेलको अन्तिम मिनेटमा डी बक्सभित्र उज्बेकिस्तानका खेलाडीले ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई सावित्राले गोलमा परिणत गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ३५ पुर्‍याएकी हुन्। खेलमा नेपाल ३-२ ले पराजित भयो।

Image may contain: 1 person, standing and outdoorचार खेलमा ७ गोल गरेकी सावित्रा प्रतियोगिताकी सर्वाधिक गोलकर्ता समेत हुन्

यस प्रतियोगिताका चार खेलमा नेपालले गरेका ११ गोलमध्ये सावित्राले ७ गोल गरिन्। नेपालले पहिलो खेलमा किर्गिस्तानलाई ८-२ ले हराउँदा सावित्राले चार गोल गरेकी थिइन्।यस्तै लिग चरणको अन्तिम खेलमा ताजकिस्तानलाई १-० पराजित गर्दा सावित्राले निर्णायक गोल गरेकी थिइन्। फाइनलमा थप २ गोल गर्दै सावित्राले अनुको कीर्तिमानमा बराबरी गरेकी हुन्।

डेब्यू गरेको दुई मिनेटमै गोल
एपीएफबाट घरेलु लिगमा राम्रो प्रदर्शन गर्दै गएपछि सन् २०१४ को साफ महिला च्याम्पियनको बन्द प्रशिक्षणमा पहिलो पटक उनी परिन्। बन्द प्रशिक्षण हुदैँ उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाइन्।

पाकिस्तानमा भएकोे तेस्रो साफ महिला च्याम्पियन्ससिपको समूह चरणमा भुटानविरुद्ध ८६ औं मिनेटमा अनु लामाको स्थानमा मैदान प्रवेश गरेकी उनले त्यसको दुई मिनेटमै पहिलो डेब्यू गोल गरिन्। त्यसपछि भने उनले कहिल्यै पछि फर्केर हेनुपरेको छैन्।

२०१६ मा भारतको सिलोङमा भएको १२ औं दक्षिण एसियाली खेलकुदबाट उनी पहिलो रोजाईकी फरवार्ड बनेकी हुन्। त्यहीवर्ष भारतमै भएको चौथो साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गर्ने क्रममा उनले ६ गोल गरेकी थिइन् यस्तै माल्दिभ्सविरुद्ध ९–० को जित हात पार्ने क्रममा उनले ५ गोल गरेपछि उनलाई गोलमसिन भन्न थालियो।

सावित्राको लक्ष्य आफू सक्रिय फुटबल खेलिरहँदा नेपाललाई जसरी पनि साफ च्याम्पियन बनाउने रहेको छ। अरू देशहरूलाइ पराजित गरे पनि भारतीय टोलीलाइ नेपालले जित्न सकेको छैन। साफ महिला फुटबलको पाँचमध्ये चार उपाधि भारतले फाइनलमा नेपालबाट नै खोसेको थियो।

सावित्राको सुरुवात

लमजुङको पामचोक गाउँमा चार दिदीबहिनी र दुई दाजुभाईको परिवारमा हुर्किएकी सावित्रा सानैदेखि साथीभाईसँग मोजाको बल बनाई खाली खुट्टाले फुटबल हान्थिन्। बुबा स्वास्थ्य चौकीको कर्मचारी थिए। बुबाको कमाईले घरपरिवार धान्न ठिक्क थियो। सावित्रालाई फुटबल किन्न मन लाग्थ्यो तर पारिवारक स्थिति बुझेकी उनी जिद्दि गर्दिनथिन्।

घरमाथि उनी पढ्ने सरस्वती निम्न माध्यामिक विद्यालय थियो। स्कुलको चौरमा स्थानीय दाईहरु फुटबल खेल्थे। सुरुमा सावित्रा कान्लामा बसेर उनीहरुले खेलेको हेरेर बस्थिन्।

सावित्रालाई चौरमा खेलिरहेको बल कहिले तल गह्रामा झर्ला र हानौंला भन्ने प्रतिक्षा हुन्थ्यो। बल जब चौरबाट खसेर गह्रामा जान्थ्यो त्यसबेला कुदेर बल समात्दै एक लात हानेर पुनः दाईहरुकोमा नै पुर्याउँथिन्। साच्चकै बल छुन पाउँदा सावित्रालाई औधी आनन्द आउँथ्यो।

गाउँबाट युवाहरु बैदेशिक रोजगारका र अध्ययनका लागि विदेश तथा काठमाडौं पलायन हुन्थे। फूटबलका लागि केटाहरुको टिम नपुग्ने हुन्थ्यो र उनीहरुले सावित्रालाई खेल्न बोलाउन थाले। स्थानीय दाईहरुसँग सुरुमा सावित्राले खाली खुट्टामै बल हानिन्।

‘गाउँमा महिला फुटबल हुन्थेन्। केटाहरुको टिम नपुग्दा मात्रै खेल्न पाइन्थ्यो,’ सावित्राले विगत स्मरण गर्दै भनिन्, ‘म पहिलैदेखि बलियो थिएँ। सितिमिती दाईहरुले पनि लडाउँन सक्दैन थिए। पाएको बेला गोल पनि हान्दिथे। विस्तारै दाईहरुसँग घुलमिल हुन थालेँ र उनीहरुसँगै स्थानीय प्रतियोगिताहरुमा सहभागिता जनाउँन थालेँ।’

शुक्र लामाको नजरमा परेपछि
२०७० साल दशैँमा लमजुङको घले गाउँमा भएको स्थानीय प्रतियोगिताको दौरान एन्फा रेफ्री शुक्र लामाको नजरमा परेपछि भने सावित्राको फुटबल जिन्दगीले नयाँ मोड लियो।

दशैँमा गाउँ गएका शुक्रले सावित्रालाई पहिलोपटक उक्त प्रतियोगितामा देखेपछि उनको खेलबाट प्रभावित हुदैँ भने, ‘यहाँ मात्रै खेलेर हुँदैन। तिम्रो गेम राम्रो छ। म काठमाडौं गएर कुराकानी गर्छु। उताबाट मिल्यो भने खेल्न आउँछौ?’

सावित्रालाई फुटबलको लत छदैँ थियो। त्यसमाथि काठमाडौंमै राम्रो फुटबल खेल्न पाउँने भए किन नाई भन्थिन्। उनले ‘हुन्छ’ भनिन्।

शुक्रले सावित्राबारे सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा कुरा गरेपछि २०७१ साल असारतिर उनलाई काठमाडौं बोलाए। शुरुमा एपीएफले दुई महिना उनको ट्रायल लिने भयो।

‘काठमाडौंमा शुरुका दिनहरु कष्टकर थिए। म आफन्तकोमा बनस्थलीमा बस्थेँ,’ संघर्षका दिन सम्झदै उनले भनिन्, ‘ट्रायलका लागि एपीएफ मैदान हल्चोक जानुपथ्र्यो। पैसा हुदैँन थियो। एक्लो कमाईले सुयुंक्त परिवार पालिरहनु भएकाले बुबासँग माग्ने अवस्था थिएन। म गाडी नचढेरै बनस्थलीबाट हल्चोक जान्थे। त्यसबाट बचेको पैसाले डाइट खान्थे।’

यो पनि: रोहित चन्द अर्थात् नेपाल चिनाउने अर्को अन्तर्राष्ट्रिय ब्रान्ड 

दुई महिनाको ट्रायलपछि सावित्रासँग एपीएफले मासिक पाँच हजार करारमा सम्झौता गर्यो। त्यहीबाट सावित्राको व्यवसायिक फुटबल यात्रा शुरु भएको थियो।

पछिल्लोपटक गत फागुनमा हिरो गोल्डकपमा भारतलाई पहिलोपटक नेपालले २–१ले हराउँदा सावित्राले दुवै गोल गरेकी थिइन्। उनी भन्छिन्, ‘हामीले पाएका अवसरहरु सदूपयोग गर्दै उत्कृष्ट खेल्यौं भने भारतमात्रै हैन जस्तोसुकै टिमलाई हराएर पनि नेपाललाई उपाधि दिलाउन सक्छौं। मेरो व्यक्तिगत लक्ष्य पनि उत्कृष्ट टिमलाई हराउँदै नेपाललाई ऐतिहासिक उपाधि दिलाउँने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .