ad ad

खेल


क्यानकै साझेदारको डिजाइनमा गरियो ‘स्पट फिक्सिङ’

खेलाडीलाई १० लाखसम्म दिने प्रस्ताव
क्यानकै साझेदारको डिजाइनमा गरियो ‘स्पट फिक्सिङ’

जतिन आलुवालिया र अभिषेक सकलानी


उजिर कार्की
माघ १०, २०७९ मंगलबार २२:१९, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) ले ८ वर्षका लागि नेपाल टी२० लिग सञ्चानका लागि साझेदारी गरेको कम्पनीकै डिजाइनमा स्पट फिक्सिङ भएको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्पट फिक्सिङबारे हालसम्म भएको अनुसन्धानको मंगलबार जानकारी दिएको हो। 

फिक्सिङमा ४ नेपाली र ६ जना विदेशी संलग्न रहेको सीआईबीका प्रवक्ता एसपी संजयसिंह थापाले बताए। त्यसमध्ये सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन आलुवालिया र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिषेक सकलानीको मुख्य योजनामा सो घटना भएको खुलेको छ। उनीहरुसहित ६ विदेशीको संलग्नता खुलेको सीआईबी श्रोतले जानकारी दिएको छ। 

क्यानले भारतको बेटिङ कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग नेपाल टी २० लिग सञ्चालनका लागि ८ वर्षको सम्झौता गरेको थियो। सेभेन थ्री स्पोर्ट्सले ८ वर्षमा क्यानलाई करिब ३३ करोड रुपैयाँ दिने सम्झौता भएको थियो। 

क्यानले यो भारतीय कम्पनीसँग रणनीतिक र कमर्सियल पार्टनरका रुपमा ८ वर्षको सम्झौता गरेको थियो। जसले पहिलो वर्ष ३ करोड ६० लाख रुपैयाँ दिने सम्झौता भएको थियो। 

यसमध्ये क्यानले यो कम्पनीबाट एक करोड २० लाख रुपैयाँ भुक्तानी पाएको छ। लिग सञ्चालनको सुरुमा एकल आयोजक जसरी नै प्रस्तुत हुने सेभेन थ्री स्पोर्टसका मालिक र कर्मचारीहरु फिक्सिङको चर्चा भएसँगै भारत भागेका थिए। 

विवादित कम्पनीलाई लिगको साझेदार बनाउन क्यान अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव प्रशान्त मल्लको जोड थियो। सेभेन थ्री स्पोटर््सलाई साझेदार बनाउने विषय क्यानभित्रै पनि सुरुमा विवादमा परेको थियो। 

नेपालमा प्रतिबन्धित बेटिङ कम्पनीलाई क्यानले बिनाप्रतिस्पर्धा छनौट गरेको थियो। क्यानकै केही पदाधिकारीले यसको विरोध गरेका थिए। 

क्यानको नयाँ कार्य समिति आएपछि नेपाल टी२० लिग आफैँ सञ्चालन नगर्ने र साझेदार खोज्ने निर्णय गर्यो। जुन निर्णय गर्दा क्यानका सचिव थिए, अशोकनाथ प्याकुरेल। प्याकुरेलसहितले सुरुमा सेभेन थ्री स्पोर्ट्सलाई भित्र्याएका थिए। तर विवाद बढ्दै गएपछि भने उनीहरुले नै क्यानबाट राजीनामा दिएको श्रोतले बतायो।

पछि कार्यवाहक सचिव प्रशान्त मल्ल लगायत ५ जनाको ‘गभर्निङ काउन्सिल’ बन्यो। जसले लिग सम्पूर्ण रुपमा सञ्चालन गर्ने जिम्मेवारी पायो। सेभेन थ्री स्पोटर््सका जतिन र अभिषेक थिए। यता क्यानबाट प्रशान्त मल्ल, केन्दीय सदस्य दुर्गाराज पाठक र मिडिया समिति सदस्य भानु सिग्देल काउन्सिलमा थिए। नयाँ सम्झौतासँगै सेभेन थ्री स्पोर्ट्सले नेपाल लिगमा स्थान पाएको थियो। 

अहिले लिगको गभर्निङ काउन्सिलकै सदस्यहरुको योजनामा स्पट फिक्सिङ भएको खुलेको हो। 

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा सीआईबीले नेपाली राष्ट्रिय टिमका पूर्वक्रिकेटर र हालका एक क्रिकेटर गरी २ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति पनि दिइसकेको छ। 

सीआईबीले यो प्रकरणमा १० जना संलग्न रहेको बताएको छ, अन्य फरार छन्। 

पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका ३ का ४१ वर्षीय महबुब आलम र बारा सिम्रौनगढ नगरपालिका ३ का २० वर्षीय मोहमद आदिल आलम छन्। महबुब मोरङ विराटनगर महानगरपालिका १ शान्ति चोकबाट र मोहमद सप्तरीको राजविराज नगरपालिका ५ लंका टोलबाट सोमबार पक्राउ परेका हुन्।

उनीहरुलाई सीआईबीले सोमबार नै काठमाडौं ल्याएर अनुसन्धान थालेको छ। महबुब पूर्वखेलाडी हुन्। आदिलले नेपाल टी२० लिग पनि खेलेका थिए। 

नेपाल क्रिकेट संघको आयोजना तथा सेभेन थ्री स्पोट्र्स प्रालिको रणनीतिक तथा व्यावसायिक साझेदारीमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको क्रिकेट मैदानमा गत पुस ९ देखि २७ गतेसम्म लिग सञ्चालन भएको थियो। 

तर लिगमा बाजी जिताउने वा हराउने उदेश्यले खेलमा मिलोमतो तथा अनियमितता देखिएको आशंका बाहिरिएसँगै सीआईबीले छानबिन थालेको थियो। 

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महबुबले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको सीआईबीको दाबी छ। 

मोहमद आदिल आलमले स्पट फिक्सिङका लागि गरेको प्रस्ताव अनुसार नै एउटा नो बल र एउटा वाइड बल फालेको सीआईबीका एसएससपी दिनेशकुमार आचार्यले बताए। 

उनका अनुसार आदिलले कम्तीमा दुई वटा खेलमा यसरी खेलेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको दाबी सीआईबीको छ। लिग सञ्चालका दौरान क्यानको समेत कमजोरी देखिएको सीआईबीले पत्रकार सम्मेलनमा बताएको छ। 

फिक्सिङमा संलग्नहरुबीच भएको मेसेज आदानप्रदानको प्रमाण सुरक्षित रहेको सीआईबीको दाबी छ। सीआईबीका प्रवक्ता थापाका अनुसार पक्राउ परेका दुई जनाले संलग्नता स्वीकार समेत गरिसकेका छन्।

नेपाली दुई खेलाडीलाई महबुबले र अन्य तीन जनालाई हाल फरार रहेका व्यक्तिले प्रस्ताव गरेका थिए। आदिलबाहेकले उक्त प्रस्ताव अस्वीकार गरेको सीआईबीको दाबी छ। महबुबले प्रस्ताव गरेका खेलाडीले भने फिक्सिङको प्रस्ताव अस्वीकार गरेको प्रहरीलाई बताएका छन्। 

हाल फरार भएका दुई नेपालीले पनि फिक्सिङका लागि एजेन्टको भूमिका निर्वाह गरेका थिए। उनीहरु राष्ट्रिय टोलीका सदस्य भने नरहेको स्रोतले बतायो। 

फिक्सिङमा मुछिएका ६ भारतीयमध्ये एक जना खेलाडी छन्। साझेदार संस्थाका दुईबाहेक एक जना टिम व्यवस्थापक, एक जना मध्यस्थकर्ता र अर्का कर्मचारी रहेको सीआईबी श्रोतले बतायो। 

स्पट फिक्सिङका लागि खेलाडीलाई ६ लाखदेखि १० लाख रुपैयाँसम्मको प्रस्ताव गरेको खुलेको छ। तर कारोबार गरेको प्रमाण भने सीआईबीले पाउन सकेको छैन।
‘अनुसन्धानका क्रममा सबै प्रमाण जुटाउँछौँ, कतिपय अहिले छन्, बाँकी खोज्दै जान्छौँ,’ एसएसपी आचार्यले भने। 

अहिलेसम्म भने फिक्सिङको प्रस्ताव गरेको प्रमाण र सोही अनुसार मैदानमा भएको खेललाई नै सीआईबीले प्रमुख प्रमाणका रुपमा लिएको छ। स्पट फिक्सिङ गरेको पुष्टि भए राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार ३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .