ad ad

खेल


क्यान निर्वाचन आज, पाण्डे र चन्दमा को बलियो?

क्यान निर्वाचन आज, पाण्डे र चन्दमा को बलियो?

यज्ञराज जोशी
असोज १०, २०७६ शुक्रबार १३:०,

शनिबार बिहान ८ बजेदेखि चुनावी कार्यक्रम शुरु हुनेछ। निर्वाचन कमिटीले उम्मेदवारी मनोनयनपत्र दर्ता प्रक्रिया बिहान ८ देखि ९ बजेसम्म राखेको छ।

यस्तै उम्मेदवारी नामावली प्रकाशन गर्ने समय बिहान ९.३० बजे, उम्मेदवारीबाट नाम फिर्ता लिने समय ९.३० देखि १०.३० सम्म, अन्तिम नामावली प्रकाशनको समय ११ बजे, मतदानको समय दिउँसो १ देखि २.३० बजेसम्म, मतगणनाको समय २.३० देखि ३.३० सम्म र परिणाम घोषणाको समय ३.४५ देखि ४ बजेसम्म तोकिएको छ। 

सम्बन्धित समाचार- यस्तो छ बहुप्रतिक्षित क्यानको चुनावी तालिका 

त्यसपश्चात पदभार ग्रहणको समय ४ देखि ५ बजेसम्मका छुट्टाइएको छ। यसअघि शुक्रबार उद्घाटन र बन्दशत्रको कार्यक्रम थियो। निर्वाचन कमिटीले २ बजेदेखि कार्यक्रम राखेको थियो। तर बोलाएका सबै पाहुनाहरु २ बजेअघि नै कार्यक्रम स्थलमा पुगे।

प्रायः कार्यक्रमहरूमा ढिला पुग्ने छवि बनाएका युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) पनि समयमै पुगे। विशेष साधारण सभाको उद्घाटन गर्दै उनले आफूजस्तै धेरै जना यस दिनको पखाईमा रहेको स्पष्ट पारे।

‘समग्र क्रिकेटका साथै खेलप्रेमीले आजको दिनलाई धेरै पहिलादेखि प्रतिक्षा गरेका थिए। यो दिन नेपाली क्रिकेटका लागि धेरै ढिला गरि आएको छ। आजको २ पनि कति बेला बज्ला भन्ने थियो। त्यसैले हामी सबै २ नबज्दै कार्यक्रमका लागि उपस्थित भइसकेका थियौं’, उनले भने।

70225007 2637814319614767 5346762670341095424 n

मन्त्री विश्वकर्माले भने झै यस दिनको प्रतिक्षा नेपाली क्रिकेटले साढे तीन वर्षदेखि गरेको थियो। यदि कुनै बिध्नबाधा नआए शनिबार क्यानले नयाँ कार्यसमिति पाउनेछ। उक्त निर्वाचित कार्यसमितिले आवश्यक डक्युमेन्ट अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी) समक्ष पुर्‍याउनेछ। त्यसपछि आगामी अक्टोबर १३ मा हुने आइसीसीको बोर्ड बैठकले क्यानमाथि लगाएको निलम्बन फुकुवा गर्ने विश्वास गरिएको छ।

२०७२ मंसिर तत्कालीन अध्यक्ष टंक आङबुहाङ पक्षको असन्तुष्टिका बाबजुद मध्यरातमा भएको क्यानको निर्वाचनबाट चतुरबहादुर चन्द अध्यक्षमा चुनिए। तर, उक्त महाधिवेशनलाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले मान्यता दिएन। राखेपले अर्को महिना रमेश सिलवाल (जो अहिले राखेपको सदस्यसचिव छन्) को नेतृत्वमा तदर्थ समिति गठन गर्‍यो।

सोहीकारण सरकारी हस्तक्षेप भन्दै आइसीसीले २०७३ बैशाख १३ गते क्यानलाई निलम्बन गर्‍यो। त्यसयता कोमामा पुगेको क्यानलाई ब्युझाउँने अन्तिम प्रक्रिया स्वरुप केन्द्रीय निर्वाचन हुन लागेको हो।

मन्त्री विश्वकर्माले विगतमा भएका सबै परिस्थतिको निर्मम समिक्षा गरेर भोलिका लागि सुखद यात्रा अवलम्बन गर्न शुभकामना दिए।

‘आज हामी दूरगामी सुखद् भविष्यको सुरूआत गर्ने संघारमा छौं,’ उनले भने, ‘विगतमा भएका सबै परिस्थतिको निर्मम समिक्षा गरेर भोलिका लागि सुखद यात्रा अवलम्बन गर्न साधारण सभामार्फत आउने नेतृत्वलाई अनुरोध छ। क्रिकेटको विकासका लागि विगतमा जहाँ जे जे भए त्यसलाई बिर्सिएर अब खेलाडीहरूले हाँसिल गरेका सफलतालाई अघि बढाउने बेला आएको छ।’

सदस्यसचिव सिलवाल र अध्यक्षका प्रत्यासीद्वय पाण्डे र चन्द। तस्बिर: निरञ्जन राजवंशी

यस्तै राखेप सदस्यसचिव रमेशकुमार सिलवालले साधारण सभाबाट योग्य र सक्षम टिम आउने विश्वास व्यक्त गरे।  

‘साधारणसभाबाट योग्य र सक्षम टोली निर्वाचित गरिसकेपछि आईसीसीलाई जानकारी गराउँछौं,’ उनले भने, ‘अक्टोबर १३ मा बस्ने आईसीसीको बैठकले नेपालको प्रतिबन्ध फुकुवा गर्नेसहमति जनाइसकेको छ। यस साधारण सभापछि हामी त्यसदिनको पखाईमा छौं।’

पाण्डे र चन्दमा को बलियो?
केन्द्रीय नेतृत्वका लागि पूर्वअध्यक्षद्वय विनयराज पाण्डे र चतुरबहादुर चन्दबीच प्रतिस्पर्धा हुँदैछ। दुवैले शुक्रबार पनि सहमतिको सम्भावना सकिएको र लोकतान्त्रिक प्रक्रिया निर्वाचनमा जाने बताए।

१७ सदस्यीय कार्यसमितिका लागि हुने चुनावमा ७ प्रदेशका ५९ प्रतिनिधिले मताधिकार प्रयोग गर्नेछन्। ३९ जिल्लाका एकएक तथा प्रदेशमा २ जिल्ला बराबर एक प्रतिनिधि छानिएर आएका छन्।

पाण्डेले झण्डै चार दशकसम्म सन् १९६५ देखि २०१० सम्म क्यानमा सचिव, उपाध्यक्ष, महासचिव तथा अध्यक्ष पदमा रहेर काम गरेका छन्। २००५ देखि २०१० सम्म उनी क्यान अध्यक्ष थिए।

पाण्डे नेपाल क्रिकेट संघलाई ट्रयाकमा ल्याउन आफूले उम्मेदवारी घोषणा गरेको बताउँछन्। ‘मैले लामो क्रिकेटलाई योगदान दिइसकेको छु,’ उनले भने, ‘सामान्य निर्वाचन भए यसपटक म उभिन आवश्यक थिएन। तर, निलम्बन परेपछि खेलाडीको मेहनतले क्रिकेट धेरै माथि पुगेको छ। तर, संघ लथालिंग छ। त्यसैलाई ट्रयाकमा ल्याउन मैले उम्मेदवारी घोषणा गरेको हुँ।’ 

विनयराज पाण्डेले चार दशक बढी क्यानमा रहि काम गरिसकेँका छन्

उनले विभिन्न पदका रहेर क्यानमा काम गरेको भने निर्वाचन प्रणालीबाट हैन्। त्यसबेला राखेप तथा सरकारले सिधै आफू निकटका मान्छेहरुलाई क्यानको प्रतिनिधि बनाउँने चलन थियो। 

२०६८ सालमा क्यानको पहिलोपल्ट चुनाव भयो। उक्त चुनावबाट टंक आङबुहाङ अध्यक्षमा चुनिए। पाण्डेले त्यसका दोस्रोपल्ट २०७२ मा चन्द अध्यक्ष चुनिएको चुनावमा पनि सहभागिता जनाएका थिएनन्। त्यसपछि हुन लागेको क्यानको तेस्रो चुनावमा पाण्डेले पुनः अध्यक्षमा आकांक्षा देखाएका हुन्।

सोहीकारण पाण्डेलाई चुनाव तथा लोकतान्त्रिक विधि प्रति उदार नभएको उनका विपक्षीहरुको आरोप रहन्छ। तर, उनी भने पहिलो चुनावबाट आएका मान्छेहरुले राम्रो गर्लान भनेर नउठेको र दोस्रो चुनावलाई चुनाव नै नमान्ने प्रष्ट्रिकरण दिन्छन्।

‘फण्ड थियो, स्पोन्सर थियो, राम्रो सम्बन्ध थियो। त्यसबेला पहिलो चुनावले राम्रो गर्छ भन्ने ठाँनेको थिए,’ पाण्डेले भने, ‘तर, त्यसो भएन्। दोस्रो चुनाव(२०७२) त आधा प्रतिनिधिले बहिस्कार गरेका थिए। त्यसलाई म चुनाब मान्दिनँ।’

यो पनि- रुविना क्षेत्री: आमाले हुर्काएकी स्टार

यो पनि- अप्सरी अठोट: अब निर्धक्क क्रिकेट खेल्छु

पाण्डेको प्यानलको उपाध्यक्षमा मिङ्मा डाण्डु शेर्पा उठ्ने निश्चित जस्तै भएको छ। उनी नेकपाको राष्ट्रिय युवा संघका केन्द्रीय नेतासँगै क्यान प्रदेश १ का अध्यक्ष हुन्। सोही कारण प्रदेश १ का ८ भोटमा पाण्डेको पक्षमा रहेको उनका निकट एक प्रतिनिधले बताए। यस्तै प्रदेश २ का प्रभावशाली मध्येका एक पूर्वत कप्तान पवन अग्रवालको साथ पाण्डेलाई रहेकाले त्यस प्रदेशका १२ भोटमा केही पाण्डेलाई आउने देखिन्छ।

पाण्डेले अन्तिम समयमा पूर्व उपाध्यक्ष विनोद मैनालीलाई महासचिवका रुपमा आफ्नो प्यानलमा राखेका छन्। बाँकेको प्रतिनिधिका रूपमा आए पनि प्रदेश ५ र ६ का केही भोटमात्रै उनले तान्न सक्ने अवस्था छ। किनकी यही प्रदेशका प्रभावशाली अर्का व्यक्ति अशोकनाथ प्याकुर्‍याल चन्द पक्षमा महासचिवका प्रत्यासी छन्।

प्रदेश ३ भने पाण्डेको पकड क्षेत्र हो। पाण्डे स्वयम यही क्षेत्रबाट प्रतिनिधि बनेका हुन्। यस्तै यही क्षेत्रका प्रतिनिध उपेन्द्र भट्टराईलाई पाण्डेले कोषाध्यक्षमा उठाउँने तयारी छन्। 'प्रदेश ३ का ९ प्रतिनिधिले नै हामीलाई सहयोग गर्ने बाचा गरेका छन्,' पाण्डे पक्षका प्रभावशाली प्रतिनिधिको दाबी छ।

चतुरबहादुर चन्द

अध्यक्षका अर्का प्रत्यासी बैतडीका चन्द तत्कालीन क्षेत्रनम्बर ६ को अध्यक्ष हुँदै २०६३ सालमा क्यानको उपाध्यक्ष बनेका थिए। उनी २०७२ मा क्यानको अध्यक्ष पनि चुनिए। तर, राखेपले उनको समितिलाई मान्यता नदिई तदर्थ समिति गठन गर्यो। त्यस लगत्तै आइसीसीले सरकारी हस्तक्षेप भएको बन्दै क्यान निलम्बनमा राखेपछि उनले चुनाव जिते पनि चारवर्षे कार्यकालमा केही काम गर्न पाएनन्।

चन्द आफू अवसर पाए काम गरेर देखाइदिने बताउँछन्। ‘म सक्षम छु। काम गर्न सक्छु। भिजन छ भनेर मैले अवसर पाउनपर्छ भनेर अध्यक्षमा लड्दैछु,’ उनले नेपालखबरसँग भने, ‘विनयराज पाण्डेले छाड्नेबेला नेपाल डिभिजन ५ मा थियो। त्यसपछि नेपाली क्रिकेटले प्रगति गरेको हो। नेपाली क्रिकेटले प्रगति गर्दा संघको उपाध्यक्ष थिएँ। उपाध्यक्षको रूपमा क्रिकेटको विकासमा भूमिका खेलेको हो नि।’

यो पनि- क्यानको अध्यक्षमा मेरो दाबेदारी स्वाभाविक होः चतुरबहादुर चन्द(अन्तर्वार्ता) 

चन्दको प्यानलमा यसअघिकै महासचिव अशोकनाथ प्याकुरेलले निरन्तरता पाउने भएका छन्। प्रदेश ५–६ बाट प्रतिनिधित्व गर्ने प्रभावशाली उम्मेदवार भएकाले त्यस प्रत्येकका १२ मध्ये बहुमत भोट उनले तान्ने देखिन्छ।

स्वयम सुदूरपश्चिमका भएकाले चन्दलाई सुदूरका १२ वटै भोट आउने उनको अनुमान छ। सोही अनुसार सुदूरका प्रतिनिधहरुलाई निर्वाचन अघि नै बोलाएर चन्दले आफ्ना पक्षमा परिचालन गरिसकेका छन्।

यस्तै चन्दले प्रदेश ४ का प्रतिनिधि राजुबाबु श्रेष्ठलाई उपाध्यक्षमा उठाएकाले त्यस प्रदेशका ६ भोट दुबैलाई बाँडिने देखिन्छ। कोषाध्यक्षमा प्रदेश २ का रोशनकुमार सिंहलाई उठाइएको छ। रोशनले चन्दलाई कति भोट ल्याउन सहयोग गर्छन त्यो निर्णायक हुनेछ। त्यस प्रदेशका १२ भोट छ। प्रदेश १ र ३ मा भने चन्दको पकड कमजोर देखिएको छ। 

'म ३९ वटै जिल्ला घुमेको छु। सबैले यसअघि तपाईले काम गर्न पाउँनु भएन। अहिले पाउँनुपर्छ भनेका छन्। सबैले सहयोग गर्नेमा विश्वस्त छु,' चन्दले भने। 

यी हुन प्रतिनिधि

प्रदेश १ (८ भोट)
जिल्ला प्रतिनिधि– अर्जुन पौडेल, लाक्पा लामा, रोशन बुढाथोकी, कैलाश विष्ट र शम्भु शर्मा।
प्रदेश प्रतिनिधि– मिंग्मा दण्डु शेर्पा, शिरिष उपाध्याय र मनोज कटुवाल

प्रदेश २ (१२ भोट)
जिल्ला प्रतिनिधि– पवन अग्रवाल, हिरा भगत, पवन गुप्ता, दाउद अन्सारी, आयुष श्रेष्ठ, सुनिल महासेठ, रोशनकुमार सिंह र माधव कर्माचार्य
प्रदेश प्रतिनिधि– अनिल शर्मा, आकाश पाण्डे, मुर्तुजा हवारी र सुनिलकुमार शाह

प्रदेश ३ (९ भोट)
जिल्ला प्रतिनिधि– विनयराज पाण्डे, दिपेन्द्र ढकाल, कैलाश प्रधान, नरेश राना, अमितबिर पाण्डे, उपेन्द्र भट्टराई
प्रदेश प्रतिनिधि– प्रफल्ल वैद्य, किरण क्षेत्री र दर्गाराज पाठक

प्रदेश ४ (६ भोट)
जिल्ला प्रतिनिधि– जगत टमाटा, सुदिप शर्मा, सन्जयकान्त सिग्देल, राजबाबु श्रेष्ठ
प्रदेश प्रतिनिधि– ऋषीराम गौतम र प्रकाश पौडेल

प्रदेश ५ र ६ (१२ भोट)
जिल्ला प्रतिनिधि– बिनोदकुमार मैनाली, अशोकनाथ प्याकुरेल, प्रशान्तबिक्रम मल्ल, राजेश श्रेष्ठ, प्रदीप मजगैया, प्रकाश गैरे, कृण्णप्रसाद श्रेष्ठ र पदमबहादुर खड्का
प्रदेश प्रतिनिधि– सन्जय गुरुङ, सन्जयराज सिंह, श्रीधर केसी र विनयराज भण्डारी

प्रदेश ७ (१२ भोट)
जिल्ला प्रतिनिधि– चुतुरबहादुर चन्द, विक्रम विष्ट, जयन्ती भट्ट, बासुदेव जोशी, दिनेश सिंह, धिरेन्द्र साउद, बिरेन्द्रबहादुर चन्द र प्रबिन्द्रबहादुर धामी
प्रदेश प्रतिनिधि– हरि रेग्मी, हरिप्रसाद उप्रेती, तेजप्रकाश भट्ट र आशिषकुमार खत्री

क्यानको विवाद टाइमलाइन– 
२०६८ पुस – माओवादी नेता टंक आङबुहाङको नेतृत्वमा क्यानको निर्वाचन
२०७२ पुस – टंक आङबुहाङको नेतृत्वको क्यानको कार्यकाल सकिदैँ।
२०७२ मंसिर– टंक आङबुहाङ पक्षले असन्तुष्टिका साथ मंसिर २९ गते भएको साधारण सभा बिथोल्ने प्रयास। मध्यराति सम्पन्न साधारण सभाबाट चतुरबहादुर चन्द अध्यक्ष, महासचिवमा अशोकनाथ प्याकुरेल चयन। 
२०७२ पुस २४– राखेपले उक्त निर्वाचित क्यानलाई आफ्नो अनुमति नभएको भन्दै रमेशकुमार सिलवालको अध्यक्षमा तदर्थसमिति गठन। 
२०७३ बैशाख १३ गते– सरकारी हस्तक्षेत्र र अनियमितताको आरोपमा आइसीसीद्धारा क्यानमाथि प्रतिबन्ध।
२०७३ कार्तिक– विवाद समाधान र नयाँ विधान बनाउँन विनयराज पाण्डेको अध्यक्षतामा सल्लाहकार समिति गठन। निर्वाचित क्यानको असन्तुष्टि। सल्लाहकार समितिमा असहभागिता।
२०७३ फागुन– निर्वाचित समुहका चतुरबहादुर चन्द र अशोकनाथ प्याकुरेल सल्लाहकार समितिमा सहभागी। 
२०७४ भदौ ६ गते– सल्लाहकार समितिले बनाएको नयाँ विधान, काठमाडौंमा भएको क्यानको विशेष साधारण सभाले संशोधन सहित पारित। सोही विधान अनुरुप ३७ जिल्लामा निर्वाचन। तर, आइसीसीले साधारण सभाले गरेको संशोधन मानेन्। 
२०७५ बैशाख ५ गतेः  क्यानको विशेष साधारण सभाले सल्लाहकार समितिले बनाएको विधान हुबहु पारित। 
२०७५ जेठ २४– पारित विधानअनुसार जिल्लामा चुनाव भए नभएको हेर्न र विधानअनुसार नभएको ठाउँमा पुनः चुनाव गर्न, संघ र केन्द्रको चुनावको जिम्मासहित अनुगमन समिति गठन। उक्त स्वतन्त्र समूहको सक्रियतामा जिल्ला र प्रादेशिक चुनाव गर्नुपर्ने।

२०७६ भदौं २१– जिल्लासँगै सम्पूर्ण प्रादेशिक चुनाव सम्पन्न। 

२०७६ भदौं २५– केन्द्रीय निर्वाचन असोज ३-४ गते गरिने भन्दै स्वतन्त्र समितिद्वारा सार्वजनिक सुचना गरि। सोहीदिन नै स्वतन्त्र समितीका सदस्य राजेश्वर श्रेष्ठलाई बोलाउँदै सदस्य सचिव रमेश सिलवालले आफूहरुको स्वीकृति नलिइ सुचना जारी गरेको, २१ दिने सुचना दिनुपर्ने, निर्वाचन मण्डल आफूले पठाउने लगायतका शर्तहरु राखेपछि अन्योल श्रृजना।

२०७६ भदौं ३०– राखेप, आइसीसी प्रतिनिधि र स्वतन्त्र कमिटीबीच असोज १० र ११ गते चुनाव गर्ने समझदारी र चुनाव हुँदै।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .