खेल


राखेपको शर्तपछि क्यानको चुनाव अन्योलमा

राखेपको शर्तपछि क्यानको चुनाव अन्योलमा

नेपालखबर
भदौ २६, २०७६ बिहिबार ८:४४,

आइसीसीद्वारा गठित स्वतन्त्र समितीले आगामी असोज ३ र ४ गते केन्द्रीय चुनाव हुने भनि सार्वजनिक सुचना जारी गरिसकेको थियो। बुधबार उक्त सुचना प्रकाशित भएलगत्तै राखेप सदस्यसचिव रमेश सिलवालले स्वतन्त्र कमिटीका सदस्य तथा अधिवक्ता राजेश्वर श्रेष्ठलाई बोलाएका थिए।

‘सदस्यसचिवले स्वीकृती नलिइकन सुचना गरेको मिलेन। निर्वाचन मण्डल हामी तयार गर्छौ। २१ दिनको सुचना दिनुपर्छ भन्नुभयो,’ भेटबारे श्रेष्ठले भने, ‘टेक्निकल समितिको विधान राखेपभन्दा माथि रहन सक्दैन। विधानलाई हामीले सहमति दिएको भएपनि हामी मान्दैनौं भनेपछि चुनाव अन्योल देखिएको हो।’

क्यानको नयाँ विधानमा भने स्वतन्त्र समितिले ७ दिनको सुचना जारी गरि चुनाव गराउन सक्ने स्पष्ट व्यवस्था भएको उनले बताए। ‘नयाँ विधानमा स्पष्टमै ७ दिनकै सुचना दिएर स्वतन्त्र कमिटिले निर्वाचन गराउन सक्ने उल्लेछ छ,’ नेपालखबरसँग श्रेष्ठले भने, ‘हामीले दशैंअघि नै चुनाव सक्नुपर्ने बाध्यता रहेकाले असोज ३–४ गते चुनाव गर्ने मितिसहितको सुचना जारी गरेका हौं।’

असोज २६ गते आइसीसीको बोर्ड बैठक बस्दैछ। उक्त बैठकका एजेन्डाहरु असोज १५ गते तय हुँदैछन्। क्यानको निलम्बन फुकुवा प्रस्ताव बोर्ड बैठकमा लग्न एजेन्डामा त्यो कुरा पार्नुपर्छ। जसका लागि स्वतन्त्र समितिले असोज १५ भित्र चुनाव सकि बाँकी प्रक्रिया पनि पूरा गर्नुपर्नेछ। 

तर राखेपको शर्तपछि भने ३-४ गते चुनाव हुनेमा अन्योल श्रृजना भएको छ। अब आइसीसीका प्रतिनिधिहरुले सदस्यसचिवसँग कुराकानी गरेपछि निष्कर्ष निस्कने श्रेष्ठले बताए। 

क्यानको केन्द्रीय कार्यसमिति १७ सदस्यीय हुनेछ। जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित १३ सदस्य चयन हुनेछन्। उनीहरुको कार्यकाल ४ वर्षीय हुनेछ।

क्यानको मतदाता भने ५९ सदस्य छन्। श्रेष्ठका अनुसार जिल्लाबाट १–१ जना प्रतिनिधि र प्रदेशमा दुई जिल्ला बराबर एक जना प्रतिनिधि हुनेछन्।

आइसीसीले २०७३ बैशाखमा क्यानलाई निलम्बन गरेको थियो।

क्यानको विवाद टाइमलाइन– 
२०६८ पुस – माओवादी नेता टंक आङबुहाङको नेतृत्वमा क्यानको निर्वाचन
२०७२ पुस – टंक आङबुहाङको नेतृत्वको क्यानको कार्यकाल सकिदैँ।
२०७२ मंसिर– टंक आङबुहाङ पक्षले असन्तुष्टिका साथ मंसिर २९ गते भएको साधारण सभा बिथोल्ने प्रयास। मध्यराति सम्पन्न साधारण सभाबाट चतुरबहादुर चन्द अध्यक्ष, महासचिवमा अशोकनाथ प्याकुरेल चयन। 
२०७२ पुस २४– राखेपले उक्त निर्वाचित क्यानलाई आफ्नो अनुमति नभएको भन्दै रमेशकुमार सिलवालको अध्यक्षमा तदर्थसमिति गठन। 
२०७३ बैशाख १३ गते– सरकारी हस्तक्षेत्र र अनियमितताको आरोपमा आइसीसीद्धारा क्यानमाथि प्रतिबन्ध।
२०७३ कार्तिक– विवाद समाधान र नयाँ विधान बनाउँन विनयराज पाण्डेको अध्यक्षतामा सल्लाहकार समिति गठन। निर्वाचित क्यानको असन्तुष्टि। सल्लाहकार समितिमा असहभागिता।
२०७३ फागुन– निर्वाचित समुहका चतुरबहादुर चन्द र अशोकनाथ प्याकुरेल सल्लाहकार समितिमा सहभागी। 
२०७४ भदौ ६ गते– सल्लाहकार समितिले बनाएको नयाँ विधान, काठमाडौंमा भएको क्यानको विशेष साधारण सभाले संशोधन सहित पारित। सोही विधान अनुरुप ३७ जिल्लामा निर्वाचन। तर, आइसीसीले साधारण सभाले गरेको संशोधन मानेन्। 
२०७५ बैशाख ५ गतेः  क्यानको विशेष साधारण सभाले सल्लाहकार समितिले बनाएको विधान हुबहु पारित। 
२०७५ जेठ २४– पारित विधानअनुसार जिल्लामा चुनाव भए नभएको हेर्न र विधानअनुसार नभएको ठाउँमा पुनः चुनाव गर्न, संघ र केन्द्रको चुनावको जिम्मासहित अनुगमन समिति गठन। उक्त स्वतन्त्र समूहको सक्रियतामा जिल्ला र प्रादेशिक चुनाव गर्नुपर्ने।

२०७६ भदौं २१– जिल्लासँगै सम्पूर्ण प्रादेशिक चुनाव सम्पन्न। 

२०७६ भदौं २५– केन्द्रीय निर्वाचन असोज ३-४ गते गरिने भन्दै स्वतन्त्र समितिद्वारा सार्वजनिक सुचना गरि। सोहीदिन नै स्वतन्त्र समितीका सदस्य राजेश्वर श्रेष्ठलाई बोलाउँदै सदस्य सचिव रमेश सिलवालले आफूहरुको स्वीकृति नलिइ सुचना जारी गरेको, २१ दिने सुचना दिनुपर्ने, निर्वाचन मण्डल आफूले पठाउने लगायतका शर्तहरु राखेपछि अन्योल श्रृजना।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .