ad ad

खेल


पीडादायी हार भुलाउने अवसर

पीडादायी हार भुलाउने अवसर

यज्ञराज जोशी
भदौ २३, २०७६ सोमबार १७:१६,

गत बिहीबार(भदौ १९) नेपाली फुटबलका लागि निकै पीडादायी दिनमध्येको एक बन्यो। कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले कुवेतलाई कडा प्रतिस्पर्धा दिने अनुमान थियो। त्यस अनुमान पछाडी केही कारणहरु पनि थिए। पाँच महिना अघिमात्रै नेपालले कुवेतविरुद्ध गोलरहित बराबरी र अर्को खेलमा १–० को झिनो हार ब्यहोरेको थियो। विश्वकप खेलिसकेको टोलीविरुद्ध उक्त नतिजाले हैसिएका फुटबलप्रेमीले बिहीबार प्रतिस्पर्धी नतिजाको अपेक्षा राख्नु अस्वभाविक पनि थिएन। 

तर, नतिजा सबैले अनुमान गरेको भन्दा ठिक विपरितको आयो। कुवेतविरुद्ध नेपाल ७–० ले स्तब्ध भयो। त्यो नतिजा टोलीलाई त विक्षिप्त पार्ने खालको थियो नै। साथमा फुटबलप्रेमीका लागि पनि उत्तिकै पीडादायी थियो। 

सम्बन्धित समाचार: कुवेतसँग नेपाल ७-० ले पराजित 

राष्ट्रिय टोलीका नियमित कप्तान विराज महर्जनले पनि नेपालले त्यत्रो गोल ब्यहोर्ला भन्ने सोचेकै थिएनन्। यसपटक टोलीमा नपरेपछि घरमै लाइभ ट्रिमिङबाट खेल हेरेका विराज भन्छन्, ‘मैत्रीपूर्ण खेलमा हामीले उनीहरुलाई बराबरीमा रोकेका थियौं। दोस्रो खेलमा उनीहरुले पेनाल्टी पाएरमात्रै जितेका थिए। कडा प्रतिस्पर्धा हुन्छ भन्ने लागेको थियो। तर ७–० को हार असोचनीय भयो।’  

नेपाली टोलीको कप्तानी गोलरक्षक किरण चेञ्जोङले गर्दैछन्

एकदशक नेपाली टोलीबाट नियमित खेलेका र नेपालबाट सर्वाधिक खेल खेल्ने कीर्तिमानी खेलाडी विराजको स्थानमा यसपटक नेपाली टोलीको नेतृत्व गोलरक्षक किरण चेञ्जोङले गर्दैछन्। राष्ट्रिय टोलीबाट ६० खेल खेलेका किरणको कप्तानीमा नेपालले कुवेतविरुद्ध ब्यहोरेको ७–० को हार नेपाली फुटबलको सबैभन्दा ठूलो हारमध्येको एक हो। 

तर, नेपालले ठूलो हार ब्यहोरेपछि उत्कृष्ट पुनरागमन गरेको इतिहास पनि छ। २०११ मा पनि त्यस्तै भएको थियो। फिफा विश्वकप छनोट अन्तर्गत नेपालले अवे खेलमा जोर्डनविरुद्ध ९–० को हार ब्यहोरेको थियो। तर, त्यसै जोर्डनलाई दशरथ रंगशालामा भने १–१ को बराबरीमा रोकेको अझैपनि धेरैले झल्झल्ती सम्झन्छन्।

यो पनि: रोहित चन्द अर्थात् नेपाल चिनाउने अर्को अन्तर्राष्ट्रिय ब्रान्ड 

 त्यसै खेलको उदाहरण दिदैँ विराज मंगलबार हुने चाइनिज ताइपेविरुद्धको खेलमा कुवेतविरुद्धको हारको पीडा भुलाउने अवसर रहेको बताउँछन्। उनी भन्छन्, ‘हामीले यसअघि पनि ठूलो अन्तरले पराजित भएर उत्कृष्ट पुनरागमन गरेका इतिहास छन्। चाइनिज ताइपेविरुद्ध हामी त्यस्तै पुनरामगन गर्न सक्छौं। त्यसका लागि कुवेतविरुद्ध भएका गल्तीहरु दोहोर्याउनु भएन।’

 अंक जोड्ने विश्वास
नेपाली प्रशिक्षक योहान कालिन विराजका कुरामा सचेत छन्। सोमबार खेलको पूर्वसन्ध्यामा कालिनले भने, ‘केही कारणहरुले हामी कुवेतविरुद्ध असफल रह्यौं। ती कारणहरु हामीले थाहा पाइसकेका छौं र अब ती दोहोर्याउनु हुँदैन। अब ट्रयाकमा फर्कने बेला आएको छ। आफ्नो खेल्ने तरिकामा फर्कन जरुरी छ।’

तीन महिनाअघि नेपालले चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो हाफमा १–० ले पछि परेपनि नेपालका लागि दोस्रो हाफमा दोस्रा पटक राष्ट्रिय टोलीबाट खेलिरहेका अभिशेक रिजालले बराबरी गोल फर्काएका थिए। खेल १–१ को बराबरीमा टुंग्गिएको थियो। नेपालले चाइनिज ताइपेसँग खेलेको त्योमात्रै एक खेल हो। 

नेपाली प्रशिक्षक कालिनले चाइनिज ताइपेविरुद्ध नेपालले अंक जोड्ने विश्वास व्यक्त गरे

 ताइपेले नेपालविरुद्ध मैत्रीपूर्ण खेल खेल्नु एकहप्ता अघि आफूभन्दा माथिल्लो वरियताको हङकङलाई २–० ले हराएको थियो। त्यसपछि ताइपेले नेपाल, म्यानमार, उत्तर कोरिया तथा सोलोमेन आइल्याण्डविरुद्ध खेल्यो। फिफा वरियतामा ताइपे नेपालभन्दा ४१औं स्थानमाथि छ। ताइपे १ सय २५औं स्थानमा हुँदा नेपाल १ सय ६६औं स्थानमा छ। घरेलु मैदान भएकाले ताइपेलाई त्यसको फाइदा पनि छ।

 विपक्षीको क्षमताबारे नेपाली प्रशिक्षक कालिन जानकार छन्। भन्छन्, ‘ताइपे माथिल्लो वरियताको टिम हो। उसलाई समूहको कमजोर टिम ठान्नु लगत हुनेछ। उसले केही अघिमात्रै हङकङलाई हराएको थियो। ताइपे कुवेतकै बराबरीकै टिम हो। हामीसँग उसविरुद्धको योजना छ। त्यही अनुरुप उच्च प्रदर्शनका साथ अंक जोड्ने हाम्रो लक्ष्य हुनेछ।

 २० मिनेटमै खेल जित्नुपर्छः ताइपे प्रशिक्षक

प्रशिक्षक लुइस लान्कास्टर(कालो) नेपालविरुद्ध चाइनिज ताइपे दाबेदारी टोली रहेको बताउँछन्

विश्वकपको पहिलो खेलमा नेपाल जस्तै चाइनिज ताइपेपनि पराजित भएको थियो। उसले पहिलो खेलमा जोर्डनलाई २–१ ले नतिजा सुम्पिएको थियो। प्रशिक्षक लुइस लान्कास्टर दोस्रो खेलमा नेपालविरुद्ध आफ्नो टिमले पुनरागमन गर्नेमा विश्वस्त छन्।

उनी भन्छन्, ‘नेपालविरुद्ध हामी दाबेदार टोली हौं। त्यसकारण हामीले उक्त खेल २० मिनेटमा जित्नुपर्छ। किनभने खेल जति लामो जान्छ त्यति दबाब दाबेदार टोलीमाथि पर्छ। हामीले उनीहरुलाई दबाबमा राख्नैपर्छ।’

 आफूभन्दा २६ स्थानमाथि रहेको जोर्डनविरुद्धको २–१ को बहादुरीपूर्ण नतिजाले नेपालविरुद्ध सहयोग पुग्ने लान्कास्टरको बुझाई छ। ‘फुटबलमा कसले बललाई नियन्त्रणमा राख्छ? र कसले खेललाई नियन्त्रणमा राख्छ? भन्ने कुराबीच ठूलो भिन्नता हुन्छ,’ लान्कास्टर भन्छन्, ‘मलाई विश्वास छ, हाम्रो खेल योजनाले काम गर्छ। हामीले सबैलाई नेपालविरुद्धको खेल जित्ने आशा पनि देखाएका छौं।’

अंक तालिका र खेल तालिका

नेपालले अहिले खेलिरहेको कतार विश्वकप छनोट अन्तर्गतको एसिया छनोट दोस्रो चरणका खेलहरु हुन्। नेपाल एसियाको शीर्ष ३४ भित्र परेपछि पहिलो चरण खेल्नुपरेको थिएन। यस छनोटमा नेपाल समूह बीमा छ। नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे छन्। समूहको शीर्ष टोली विश्वकप छनोट अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछ।

खेलअघि खेलाडीलाई निर्देशन दिँदै प्रशिक्षक कालिन

मंगलबारसम्म समूहमा अष्ट्रेलिया बाहेक सबै टोलीले १–१ खेल खेलिसकेका छन्। कुवेत ३ अंकसहित शीर्ष स्थानमा छ। त्यति नै अंक भएको जोर्डन गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। बिना कुनै खेल खेलेपनि अष्ट्रेलिया तेस्रो, पहिलो खेल हारेका चाइनिज ताइपे चौथो र नेपाल पाँचौ स्थानमा छ।

नेपालले भदौ १९ गते कुवेतविरुद्ध उसैको मैदानमा अवे खेल खेल्दै छनोटको सुरुवात गरिसकेको छ। यस्तै मंगलबार नेपालले चाइनिज ताइपेसँग दोस्रो अवे खेल खेल्दैछ। नेपालले असोज २३ मा अष्ट्रेलियाविरुद्ध र असोज २८ गते जोर्डनविरुद्ध थप दुई अवे खेलहरु खेल्नेछ।

नेपालले मंसिर ३ गते कुवेत, चैत्र १३ गते चाइनिज ताइपे, चैत्र २८ गते अष्ट्रेलिया र २०७७ जेठ २२ गते जोर्डनविरुद्ध दशरथ रंगशालामा होम खेलहरु खेल्दैछ।

कसरी पुगिन्छ विश्वकप?

आगामी विश्वकप २०२२ मा एसियाली राष्ट्र कतारमा हुने यसअघि नै टुंग्गो लागिसकेको छ। सोही विश्वकपका लागि अहिले छनोट प्रतियोगिता भइरहेका छन्। 

नेपालले बिहीबार देखि सोही विश्वकप अन्तर्गतको एसिया छनोटका दोस्रो चरणका खेलहरु खेल्न लागेको हो। जसअन्तर्गत पहिलो खेल नेपालले बिहीबार कुवेतसँग खेल्दैछ। चार महिनाअघि एसियाको शीर्ष ३४ भित्र रहेपछि नेपालले पहिलो चरण नखेली दोस्रो चरणमा प्रवेश पाएको हो।

नेपालले विश्वकप २०२२ अन्तर्गतको एसिया छनोट दोस्रो चरणका खेलहरु खेलिरहेको हो

दोस्रो चरणमा एसियाका ४० राष्ट्रले सहभागिता जनाउँदैछन्। उनीहरुलाई विभिन्न ८ समूहमा बाडिएको छ। नेपाल समूह बीमा छ। नेपाली समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे छन्। सबै राष्ट्रले होम र अवेका आधारमा एकअर्कासँग खेलेपछि समूहको शीर्षमा रहने टोली तेस्रो चरणमा पुग्नेछ। साथै सबै समूहका खेल सकिएपछि उत्कृष्ट ४ समूह उपविजेता टोलीलाई पनि तेस्रो चरणमा प्रवेश दिइन्छ।

तेस्रो चरणमा दोस्रो चरणबाट आएका १२ टोलीलाई दुई समूहमा बाँडिनेछ। एउटा समूहमा हुने ६ टिमले पुन: होम एण्ड अवेका आधारमा खेल्नेछन्। दुवै समूहका शीर्ष २ टोली विश्वकपमा छानिनेछन्। यस्तै तेस्रो हुने २ टोलीले चौथो चरणको छनोट खेल्नेछन्।

चौथो चरणमा तेस्रो चरणबाट आएका २ टोलीहरुले होम एण्ड अवेका आधारमा २ लेग(होममा २, अवेमा २)को खेल खेल्नेछन्। त्यसको विजेता टोली इन्टर कन्फिडेरेशन प्लेअफ खेल्नेछ। जहाँ एएफसी, कोन्काकेफ, कोनमेबोल र ओएफसीबाट आएका चार टोलीहरुबीच प्रतिस्पर्धा हुनेछ।

उनीहरुले पनि होम एण्ड अबेका आधारमा २ लेगको खेल खेल्नेछन्। अन्तिममा शीर्ष २ स्थानमा रहने टोली विश्वकपमा छानिनेछन्।

यो पनि: कमलसिंह ऐरीः पश्चिमबाट उदाएका अर्का स्टार 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .