ad ad

खेल


फिफा विश्वकप छनोटः कुवेतसँग नेपाल ७-० ले पराजित

फिफा विश्वकप छनोटः कुवेतसँग नेपाल ७-० ले पराजित

नेपालखबर
भदौ १९, २०७६ बिहिबार १७:५९,

रक्षात्मक खेल खेलेपनि पहिलो हाफको सुरुमै २ गोलले पछि परेको नेपालले दोस्रो गोलमा थप ५ गोल ब्यहो‍र्‍यो। १९८२ मा विश्वकप खेलिसकेको कुवेतसँग नेपालको यो सातौं भिडन्तमा दोस्रो ठूलो हार हो। 

खेलको ५औं मिनेटमा युसुफ नासिरले कुवेतलाई सुरुवाति अग्रता दिलाएका थिए। उनले गोलपोस्टको बायाँ किनारबाट नेपाली गोलकिपर किरण चेञ्जोङ नजिकै पाएको अब्दुला अलमुत्रीको पासमा गोल गरे।

यस्तै १२ औं मिनेटमा कर्नरबाट आएको बलमा फहद अलहज्ररीले हेडिङ गर्दै कुवेतको अग्रता २–० मा पुर्याए। ४२औं मिनेटमा सुजल श्रेष्ठको पासमा रवि पासवानले हेडिङ गर्दै विशाल राईलाई दिएका थिए। उनले गरेको प्रहार आकासियो।

पहिलो हाफको इञ्जुरी समयमा किरणको उत्कृष्ट बचाउमा नेपाल थप गोल खानबाट जोगियो। किरणले यूसुफको र बदर अल अलमोत्वाको प्रहार दायाँ किनारमा एकपछि अर्को डाइभ हान्दै बचाएका थिए।

दोस्रो हाफको सुरुवातमै नेपालले गोल खायो। ५०औं मिनेटमा युसुफ नासिरले अब्दुल्ला अलमुत्रीको पासमा डी बक्सभित्रबाट हेडिङ गोल गरे। युसुफको यो व्यक्तिगत दोस्रो गोल पनि थियो। उनले पहिलो हाफमा पनि पहिलो गोल गरेका थिए।

५९औं मिनटमा अब्दुला अलमुत्रीले नेपाली गोलरक्षक किरण चेञ्जोङ केही अघि बढेको फाइदा उठाए। बल लिएर पोस्टको बायाँ किनारतर्फ अब्दुला बढेपछि किरण अघि बढेका थिए। डी बक्स छेउबाट अब्दुलाले उठाएको बलले किरणको टाउकोमाथिबाट पोस्टको दिशा लियो। किरणले जम्प गर्दै गरेको बचाउ प्रयास निरर्थक रह्यो। उक्त गोलसँगै कुवेत ४–० ले अघि बढ्यो।

६७औं मिनेटमा बदुर अल अलमोत्वाले कुवेतका लागि पाँचौ गोल गरे। उनले डी बक्समा पाएको सजिलो पासलाई गोलमा परिणत गरेका थिए। त्यसअघि नेपालका परिवर्तित खेलाडी दिनेश राजवंशीले युसुफलाई फउल गरेपछि डी बक्सबाहिर कुवेतले फ्रिकिक पाएको थियो। उक्त फ्रिकिक नेपाली खेलाडीको पोलमा लाग्दै बदुरकोमा गयो। बदुरले डी बक्सभित्रबाट गोल गर्दै कुवेतको जित सुनिश्चित गरे।

इञ्जुरी समयको चौथो मिनेटमा रेधा अबुजाबाराहले डी बक्सको बायाँ किनारबाट एक्लै बल अघि बढाउँदै सुन्दर गोल गरे। यस्तै लगत्तै हुसेन अलमैसीले रेधाकै पासमा फिनिसिङ गर्दै नेपाललाई ७–० को हार चखाए।

तथ्यहरु: कुवेतसँग दोस्रो ठूलो हार

  • कुवेतविरुद्ध यो(७-०) नेपालको दोस्रो ठूलो हार हो। यसअघि नेपाल १९९४ को एसियन गेम्समा कुवेतसँग ८–० ले पराजित भएको थियो। गत मार्चमा भएको मैत्रीपूर्ण खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोक्नु नेपालको उसविरुद्ध सबैभन्दा राम्रो नतिजा हो।
  • योसँगै नेपालले कुवेतसँग ७ पटक अन्तर्राष्ट्रिय फुटबलमा भिडेको छ। ६ पटक कुवेतले जितेको छ भने १ खेल बराबरीमा टुंग्गिएको छ।
  • नेपालले कुवेतविरुद्धका ७ खेलमा २९ गोल खाएको छ भने १ गोलमात्रै गर्न सकेको छ। सन् १९८२ मा पहिलो पटक खेल्दा नेपाल ३-१ ले पराजित भएको थियो। त्यसै खेलमा वाईवी घलेले गरेको एकमात्रै गोल हालसम्म कुवेतविरुद्ध नेपालले गरेको गोल हो।
  • अन्तर्राष्ट्रिय फुटबलमा नेपालको पहिलो प्रतिद्वन्द्वी हो, कुवेत। नेपालले सन् १९८२ नोभेम्बर २१ मा एसियाली खेलकुदमा पहिलो पटक कुवेतको सामना गरेको थियो। नयाँ दिल्लीमा भएको खेलमा नेपाल कुवेतसँग ३–१ ले पराजित रह्यो।
  • वाईवी घलेले कुवेतविरुद्धको पहिलो खेलमा ऐतिहासिक गोल गरेका थिए। त्यो नै नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल हो। यो गोल ८५ औं मिनेटमा सम्भव भएको थियो। कुवेतविरुद्ध नेपालले हालसम्म गरेको एकमात्रै गोल पनि त्यही हो। उनको पूरा नाम हो, यामबहादुर घले। उनी भिक्टोरियाक्रम विजेता गजे घलेका छोरा हुन्।
  • नेपालले अहिलेसम्म सात संस्करणका विश्वकप छनोट खेलेको छ, सन् १९८६ यता। यसबीचम नेपालले विश्वकप छनोटमा कुल ३० खेल खेलेको छ।
  • पहिलो विश्वकप छनोट खेलेको नेपाली टिमका प्रशिक्षक थिए, प्रसिद्ध जोए किनर। नेपाली फुटबलले पाएका उनी सम्भवतः सबैभन्दा चर्चित प्रशिक्षक हुन्। उनी सन् २००८ देखि २००९ सम्म इंग्लिस प्रिमियर लिग क्लब न्युकासल युनाइटेडको व्यवस्थापक थिए।
  • विश्वकप छनोटको इतिहासमा नेपालको पहिलो खेल थियो, दक्षिण कोरियाविरुद्ध सन् १९८५ को मार्च २ मा। काठमाडौंको दशरथ रंगशालामा भएको त्यस खेलमा नेपाल २–० ले पराजित रह्यो। नेपाली टिमका कप्तान थिए, रूपकराज शर्मा।
  • विश्वकप फुटबल छनोटमा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्, निराजन रायमाझी। उनले ७ गोल गरेका छन्। त्यसमा एक ह्याट्रिक पनि पर्छ। उनी विश्वकप छनोटमा ह्याट्रिक गर्ने एक मात्र नेपाली खेलाडी हुन्।
  • विश्वकप छनोटमा नेपालका लागि पहिलो गोल गर्ने खेलाडी हुन्, हरि खड्का। उनले सन् १९९७ मार्च २३ मा मकाओविरुद्ध गोल गरेका थिए। त्यो खेल १–१ को बराबरीमा समाप्त भएको थियो। 

विश्वकप छनोटमा नेपालको तालिका

फिफा वरियताका आधारमा नेपाल सोझै फिफा विश्वकप २०२२ अन्तर्गतको एसिया छनोट दोस्रो चरणमा प्रवेश गरेको हो। दोस्रो चरणमा विभिन्न ८ समूहमा बाडिएका ४० राष्ट्रले प्रतिस्पर्धा गर्देछन्। समूहका शीर्ष टोली र उत्कृष्ट चार उपविजेता टोली अन्तिम चरणमा पुग्नेछन्।

नेपाल समूह बीमा छ। नेपालको समूहमा कुवेत, अष्ट्रेलिया र जोर्डन छन्। सबै टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्नेछ। नेपालले बिहीबार कुवेतविरुद्ध खेल्दै अवे खेलको सुरुवात गरेको हो।

अब नेपालले अवे खेलहरुमा भदौ २४ गते चाइनिज चाइपेइ, असोज २३ मा अष्ट्रेलिया र असोज २८ गते जोर्डनविरुद्ध उनीहरुकै मैदानमा खेल्नेछ।

नेपालले होम खेलहरुमा मंसिर ३ गते कुवेत, चैत्र १३ गते चाइनिज ताइपेइ, चैत्र २८ गते अष्ट्रेलिया र २०७७ जेठ २२ गते जोर्डनविरुद्ध दशरथ रंगशालामा खेल्दैछ।

कसरी पुगिन्छ विश्वकप?

आगामी विश्वकप २०२२ मा एसियाली राष्ट्र कतारमा हुने यसअघि नै टुंग्गो लागिसकेको छ। सोही विश्वकपका लागि अहिले छनोट प्रतियोगिता भइरहेका छन्। 

नेपालले बिहीबार देखि सोही विश्वकप अन्तर्गतको एसिया छनोटका दोस्रो चरणका खेलहरु खेल्न लागेको हो। जसअन्तर्गत पहिलो खेल नेपालले बिहीबार कुवेतसँग खेल्दैछ। चार महिनाअघि एसियाको शीर्ष ३४ भित्र रहेपछि नेपालले पहिलो चरण नखेली दोस्रो चरणमा प्रवेश पाएको हो।

दोस्रो चरणमा एसियाका ४० राष्ट्रले सहभागिता जनाउँदैछन्। उनीहरुलाई विभिन्न ८ समूहमा बाडिएको छ। नेपाल समूह बीमा छ। नेपाली समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे छन्। सबै राष्ट्रले होम र अवेका आधारमा एकअर्कासँग खेलेपछि समूहको शीर्षमा रहने टोली तेस्रो चरणमा पुग्नेछ। साथै सबै समूहका खेल सकिएपछि उत्कृष्ट ४ समूह उपविजेता टोलीलाई पनि तेस्रो चरणमा प्रवेश दिइन्छ।

तेस्रो चरणमा दोस्रो चरणबाट आएका १२ टोलीलाई दुई समूहमा बाँडिनेछ। एउटा समूहमा हुने ६ टिमले पुन: होम एण्ड अवेका आधारमा खेल्नेछन्। दुवै समूहका शीर्ष २ टोली विश्वकपमा छानिनेछन्। यस्तै तेस्रो हुने २ टोलीले चौथो चरणको छनोट खेल्नेछन्।

चौथो चरणमा तेस्रो चरणबाट आएका २ टोलीहरुले होम एण्ड अवेका आधारमा २ लेग(होममा २, अवेमा २)को खेल खेल्नेछन्। त्यसको विजेता टोली इन्टर कन्फिडेरेशन प्लेअफ खेल्नेछ। जहाँ एएफसी, कोन्काकेफ, कोनमेबोल र ओएफसीबाट आएका चार टोलीहरुबीच प्रतिस्पर्धा हुनेछ।

उनीहरुले पनि होम एण्ड अबेका आधारमा २ लेगको खेल खेल्नेछन्। अन्तिममा शीर्ष २ स्थानमा रहने टोली विश्वकपमा छानिनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .