खेल


युरोकप म्याच प्रिभ्यु : आज हुने ३ खेलका कुन टोली कस्तो?

युरोकप म्याच प्रिभ्यु : आज हुने ३ खेलका कुन टोली कस्तो?

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ११:५८,

युरोकपमा ​आज आइतबार तीन खेल हुँदै छ।

आज समूह ‘डी’को एक र समूह ‘सी’का दुई खेल हुँदै छन्।

समूह ‘सी’को पहिलो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनिया तथा नेदरल्यान्ड्स र युक्रेन खेल्नेछन्।

इंग्ल्यान्डविरुद्ध क्रोएसिया
आइतबारको पहिलो खेलमा आज समूह ‘डी’का इंग्ल्यान्ड र क्रोएसियाले खेल्दै छन्। खेल, वेम्बली स्टेडियम लन्डनमा पौने ७ बजे हुनेछ।

युरोकपमा पहिलो खेल खेल्न लागेका दुवै टोली पहिलो जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन्।

उपाधि दावेदार इंग्ल्यान्ड घरेलु मैदानमा क्रोएसियालाई हराउँदै जित निकाल्न चाहन्छ। इंग्ल्यान्डको कप्तानी ह्यारी केनले गर्नेछन् भने क्रोएसियाको कमानी लुका मोड्रिचले सम्हाल्नेछन्।

गत नोभेम्बरमा बेल्जियमसँग २–० ले पराजित भएयता लगातार ६ जित निकालेको इंग्ल्यान्ड सोही लयलाई निरन्तरता दिने योजनामा छ।

क्रोएसियाले सन् २०१८ को विश्वकपमा फाइनलमा स्थान बनाएयताको खेलमा राम्रो प्रदर्शन गर्नसकेको छैन।

युरोकपको तयारीका लागि भएको खेलमा क्रोएसिया आर्मेनियासँग बराबरी खेल्दा जर्मनीसँग १–० ले पराजित भएको थियो। तर युरोकपमा आफ्नो पहिलो खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै जितको लय समाउन क्रोएसिया लालायित छ।

इग्ल्याण्ड र क्रोएसियाको पछिल्लो ३ भेटमा एक खेलमा जित, एकमा बराबरी र एक खेलमा हारको नतिजा छ।

अष्ट्रियाविरुद्ध नर्थ मेसेडोनिया
आजै राति हुने अर्को खेलमा अष्ट्रिया र नर्थ मेसेडोनिया भिड्दै छन्। खेल बुकारेस्टस्थित एरिना नासिनोलामा नेपाली समयअनुसार राति पौने १० बजे हुनेछ।

घरेलु मैदानमा हुने खेलमा अष्ट्रिया सुखद सुरुवात गर्न चाहन्छ। अष्ट्रियाले सन् २००८ र २०१६ मा दुई पटक युरो कप खेलिसकेको छ।

छनोट चरणका दुई खेलमा अस्ट्रियाले मेसेडोनियालाई पराजित गरेको थियो। सोही कारण पनि अष्ट्रिया आजको खेलमा उच्च मनोबलमा मैदान उत्रिनेछ।

यता पहिलो पटक युरो कप खेल्न लागेको मेसेडोनिया पनि सम्झिनलायक प्रदर्शन गर्न चाहन्छ।

सन् १९९१ मा युगोस्लाभियाबाट स्वतन्त्र भएको म्यासेडोनियाले पहिलोपटक ठूलो प्रतियोगिता खेल्न लागेको हो।

नेदरल्यानडविरुद्ध युक्रेन
आज मध्यराति हुने खेलमा नेदरल्यान्ड्स र युक्रेन आमनेसामने हुँदै छन्। घरेलु मैदानमा हुने खेलमा युक्रेनलाई हराउँदै नेदरल्याण्ड्स युरोकपको यात्रा सुखद बनाउन चाहन्छ।

कुनै पनि ठूलो प्रतियोगितामा यी दुई टोलीको भेट पहिलो पटक हुनलागेको हो। त्यसअघिको सन् २००८ मा भएको मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३–० ले पराजित गरेको थियो भने सन् २०१० मा भएको भेटमा १–१ को बराबरी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .