नेपाल सुपर लिग (एनएसएल) मा बिहीबार ललितपुर सिटी एफसी र धनगढी सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ। खेल, काठमाडौको दशरथ रगंशालामा साँझ साढे ५ बजे सुरु हुनेछ।
अंक तालिकाको तेस्रो स्थानमा रहेको धनगढी, ललितपुरलाई हराउँदै शीर्ष स्थानमा उक्लने योजनामा छ।
लिगका २ खेलमा एकमा हार र एकमा जित हासिल गरेको धनगढीको ३ अंक छ। पहिलो खेलमा विराटनगर सिटी एफसीसँग ३–० ले हारेको धनगढीले दोस्रो खेलमा काठमाडौं रेजर्सलाई ३–० ले नै पराजित गरेको थियो।
उता अंक तालिकाको पुछारमा रहेको ललितपुर दोस्रो स्थानमा उक्लन चाहन्छ। एक खेलमा हार र एकमा बराबरी गरेको ललितपुरको १ अंक छ। पहिलो खेलमा काठमाडौ रेजर्ससँग १–० ले पराजित भएको ललितपुरले दोस्रो खेलमा चितवनसँग एक–एकको बराबरी गर्दै अंक बाँडेको थियो।
नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा जारी लिगमा ७ सहरका ७ टोलीको सहभागिता छ।
एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी छन्।
प्रतियोगिताको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन्। व्यक्तिगत विधातर्फ उत्कृष्टले जनही १ लाख तथा उदीयमान खेलाडीले १ लाख रुपैयाँ पाउनेछन्।
हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार तथा उदीयमान खेलाडीले १० हजार रुपैयाँ पाउनेछन्।
Shares
प्रतिक्रिया