इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ।
आईपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियनस र रोयल च्यालेन्जर्स बैंगलोर भिड्नेछन्। खेल चेन्नईस्थित एम ए चिदंबरम स्टेडियमा साँझ पौने ८ बजे सुरु हुनेछ।
मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रँदा विराट कोहलीले रोयल च्यालेन्जर्स बैंगलोरको कमान सम्हाल्नेछन्।
मुम्बई र बैंगलोरबीच भएको २७ खेलमा मुम्बईले १७ र बैंगलोरले १० पटक जित हात पारेका छन्। यी दुईबीचको खेलमा मुम्बईले सर्वाधिक २ सय १३ रन बनाउँदा १ सय १५ रनको कम स्कोर बनाएको छ। यता बैंगलोरले भने २ सय ३५ रनको हाइ स्कोर बनाउँदा १ सय २२ रनको कम स्कोर बनाएको छ।
कोरोना भाइरसको महामारीको कारण गतवर्ष सिधै खेल सुरु गरि पनि यो पटक उद्घाटन समारोहको आयोजना गरिएको छ। सो समारोह साँझ पौने ७ बजे सुरु हुनेछ।
भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्माले सन् २०१३ मा मुम्बईलाई पहिलो उपाधि जिताएका थिए। रोहितको कप्तानीमा मुम्बईले २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जितेको थियो। मुम्बई आईपीएलको उपाधिमाथि ह्याट्रिक गर्ने दाउमा छ।

प्रतिक्रिया