खेल


भैरहवामा शनिबारदेखि प्रदेशस्तरीय यु–१६ क्रिकेट हुँदै

भैरहवामा शनिबारदेखि प्रदेशस्तरीय यु–१६ क्रिकेट हुँदै

प्रकाश न्यौपाने
चैत २०, २०७७ शुक्रबार ११:५३,

रुपन्देहीको भैरहवामा प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता हुने भएको छ। बलियो नेपालको आयोजनामा सिद्धार्थ रंगशालामा शनिबारबाट प्रतियोगिता हुने आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन्।

पोषण र खेलकुदलाई सँगसँगै लैजाने उद्देश्यले पहिलोपल्ट लुम्बिनी प्रदेशस्तरीय यु–१६ टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको बलियो नेपालका कार्यकारी प्रमुख अतुल उपाध्यायले जानकारी दिए।

‘हामीले क्रिकेटलाई बलियो बनाउन चाहन्छौं, यसैको सिलसिलामा तल्लो तहबाटै राम्रा खेलाडीहरु उत्पादन होउन् भनेर प्रतियोगिता आयोजना गरेका हौं’, उनले भने।

प्रतियोगिताका लागि लुम्बिनी प्रदेशका विभिन्न विद्यालयबाट खेलाडीहरु छनौट गरिएको थियो। छनौट गरिएका खेलाडीहरुबाट प्रत्येक जिल्लाका १÷१ टिम गरी १२ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताले सन् २०३९ मा हुने अन्डर–१६ विश्वकपका लागि राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्काले बताए।

‘तल्लो तहबाटै खेलाडी छनौट गरी राम्रो राष्ट्रिय टिम बनाउन यस किसिमका प्रतियोगिताले सहयोग पुग्ने हाम्रो विश्वास छ’, उनले भने।

रुपन्देही र समग्र लुम्बिनी प्रदेशले राष्ट्रिय क्रिकेटको विकासमा ठूलो योगदान गरेको भन्दै खड्काले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन यहाँ हुने प्रतियोगिताले भूमिका खेल्ने बताए। रुपन्देहीबाट मात्रै राष्ट्रिय क्रिकेट टिममा रहेर ९० बढी खेलाडीले योगदान गरेका छन्।

राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले जिल्ला–जिल्लामा लुकेका खेलाडीहरुको प्रतिभा बाहिर ल्याउन यस किसिमका प्रतियोगिताले थप सहयोग गर्ने बताए।

‘रुपन्देही राम्रा खेलाडी उत्पादन गर्ने जिल्ला हो, यस क्षेत्रमा हुने तल्लो तहका खेलले राष्ट्रि टीमलाई भविष्यमा थप मजबुत र बलियो बनाउँछ’, उनले भने। सन् २०३९ मा हुने यु–१६ विश्वकप खेल्नका लागि अहिले भइरहेका प्रतियोगिताले टिम तयार गर्न र विश्वकटमा छनोट हुने उनले विश्वास व्यक्त गरे।

पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनले खेलसँगै खेलाडीलाई पोषणको आवश्यक पर्ने भएकाले बलियो नेपालले पोषण र खेलकुदलाई सँगै बढाउने उद्देश्यले क्रिकेट आयोजना गर्नु राम्रो सन्देश भएको बताए।

उनले भैरहवामा हुने प्रतियोगिताले राष्ट्रिय क्रिकेटमा टेवा पुग्ने जनाए। चैत्त २१ देखि २८ गतेसम्म चल्ने प्रतियोगिताले आगामी दिनमा खेलाडीहरु उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ। पहिलोपल्ट लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय क्रिकेट आयोजना गरिए पनि आगामी दिनमा सबै प्रदेशमा आयोजना गरिने बलियो नेपालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .