ad ad

खेल


नेपाली फुटबलका सर्वाधिक सफल खेलाडीको सन्न्यास

नेपाली फुटबलका सर्वाधिक सफल खेलाडीको सन्न्यास

यज्ञराज जोशी
चैत १६, २०७७ सोमबार १०:३४,

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएका छन्।

३१ वर्षे विराजले दशरथ रंगशालामा सोमबार बंगलादेशसँग भएको खेलबाट औपचारिक रुपमा विदा लिएका हुन्।

आजको खेलमा ८९ मिनेटमा त्रिदेव गुरुङको स्थानमा विराज मैदान प्रवेश गरेका थिए। खेल सकिएपछि विराजलाई काँधमा बोकेर खेलाडीले मैदान परिक्रमा गराएका थिए।

May be an image of 7 people, including Biraj Maharjan and people standing

फाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले खेल समापन समारोहमा विराजलाई ब्लेजर लगाइदिँदै उनको बिदाइ गरेका थिए।

राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान उनको नाममा छ। यससहित विराजले नेपालका लागि ७३ खेल खेलेका छन्।

दुई वर्षअघि बंगलादेशमा भएको साफ च्याम्पियन्ससिपमा विराजले पूर्वकप्तान राजुकाजी शाक्यको नाममा रहेको ६८ खेलको कीर्तिमान भंग गर्दै आफ्नो नाममा सर्वाधिक खेलको कीर्तिमान लेखाएका थिए।

पछिल्लोपटक विराज २०१९ जुनमा मलेसियासँग मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा थिए। त्यसयता फिटनेसका कारण उनी अन्तिम टोलीमा पर्न सकेका थिएनन्।

May be an image of one or more people, people standing and crowd

सन् २०१५ मा तत्कालीन कप्तान सागर थापासहितका खेलाडी म्याच फिक्सिङमा मुछिएपछि विराजलाई नेपाली टोलीको नेतृत्व दिइएको थियो। २०१५ डिसेम्बरमा साफ च्याम्पियनसिपमा उनले पहिलोपल्ट नेपाली टोलीको नेतृत्व गरेका थिए। त्यसयता विराजले १८ खेलमा राष्ट्रिय टोलीको कप्तानी गरिसकेका छन्।

विराज कप्तान चुनिएको अर्को वर्ष नेपालले तीन ठूला उपलब्धि हात पारेको थियो। नेपालले बंगलादेशमा बंगबन्धु, भारतमा १२औं साग र मलेसियामा सोलिडारिटी कप जित्दा कप्तान विराज नै थिए।

त्यही तीन उपाधि जित्नुलाई विराज आफ्नो खेल जीवनको उत्कृष्ट क्षण मान्छन्।

‘देशका लागि उपाधि जित्नु ठूलो कुरा हो। ती सबै जित जीवनभर सम्झनामा रहनेछन्,’ उनी भन्छन्।

२०५४ सालमा स्थापित एन्फा एकेडेमीबाट फुटबल सुरु गरेका विराजले उमेर समूहमा खेल्दै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। सुरुमा विराजले अन्डर-१० बाट खेलेका थिए। त्यसपछि क्रमशः  अन्डर–१५, १६, १७, १९, २३ सबै उमेर समूहबाट खेल्दै उनी राष्ट्रिय टोलीमा परेका हुन्।

May be an image of 23 people, including Sachin Timalsena, Biraj Maharjan and Kiran Sjb Rana, people standing and text

सन् २००८ मा पोखरामा भएको नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलबाट विराजले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्। रक्षकको भूमिकामा रहने उनले एक गोलसमेत गरेका छन्। २००९ मार्चमा भएको एएफसी च्यालेन्जकपमा किर्गिस्तानविरुद्ध उनले गोल गरेका हुन्।

घरेलु फुटबलमा पनि विराज सफल खेलाडी हुन्। उनले तीन क्लबबाट ए डिभिजन लिगको उपाधि जितेका छन्। ‘लेफ्ट ब्याक’ र ‘राइट ब्याक’ दुवै पोजिसनबाट खेल्न सक्ने विराजले थ्रीस्टार, मनाङ–मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबाट ए डिभिजनको उपाधि उचालेका थिए।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए पनि घरेलु प्रतियोगितामा भने उनलाई अझै केही वर्ष देख्न पाइनेछ। त्यसपछिको भविष्यबारे उनले अहिल्यै केही सोचिसकेका छैनन्।

‘बुट थन्क्याउन लाग्दा दुःख पक्कै लागेको छ। म फुटबलबाट कहिल्यै टाढा रहन सक्दिनँ,’ विराज भन्छन्, ‘केही समय घरेलु फुटबलमा हुनेछु। त्यसपछि के हुन्छ, निर्णय गरिसकेको छैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .