खेल


नेपालका हिमचितुवाले जापानका खोतेजुलाई पहिलो राउन्डमै गरे नकआउट, जिते के वान उपाधि

नेपालका हिमचितुवाले जापानका खोतेजुलाई पहिलो राउन्डमै गरे नकआउट, जिते के वान उपाधि

नेपालखबर
चैत १५, २०७७ आइतबार ९:५७,

युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुम्न सफल भएका छन्।

जापानको टोकियो शहरमा आइतबार सम्पन्न सो महोत्सवमा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउन्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जित दिलाएका हुन्। विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाइने गरिन्छ। हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरल कम उमेरका सो प्रतियोगिता हात पार्ने पहिलो नेपाली युवा खेलाडी बन्ने सौभाग्यसमेत प्राप्त गरेका छन्।

दश हजारभन्दा बढी जापानीले विश्वचर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युव च्यानलमार्फत विश्वभर प्रत्यक्ष हेरिएको थियो।

अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका थिए। महोत्सवको उपाधि हात पारेपछि अविरलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो नेपालीका लागि ऐतिहासिक विजय हो। के वान फेस्टिबल २०२१’ को उपाधि हात पार्नु मेरा लागि आफैँमा प्रतिष्ठाका विषय हो। म मेरा पिता देवकुमारलाई विशेष धन्यवाद दिन चाहन्छु।’

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका उनले हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए।

उनी नेपालकातर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’समेत हुन। २१ वर्षीय बक्सर अविरलले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो। चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आएका छन्।

खेलाडी अबिरलले कम उमेरमा अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाएका छन्। महोत्सवलाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने जनाइएको छ।

वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिएको जानकारी अनुसार अबिरलले हालसम्म १६ भन्दाबढी व्यावसायिक किक बक्सिङमा भिडन्त गरिसकेका छन्। तीमध्ये अधिकांश खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल भएका छन्। युवा बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुमेका थिए।

रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन्। तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनःदुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि हात पारेका थिए।

यसैगरी उनले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए। रोमाञ्जकारी सो भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए।

अविरलले हालसम्म हिट–२४ किक बक्सिङ खेलको मिडिल वेटको दुईपटक च्याम्पियन तथा हालसम्म १४ खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल भएको गुर्जुराधास्थित अन्तरराष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा सञ्चालकसमेत रहेका रामनारायणले जानकारी दिए।

अविरलले नियमितरुपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएको उनले बताए। ‘अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ। नेपालको लागि ‘के वान फेस्टिबल २०२१’ को उपाधि हात पार्नु ठूलो उपलब्धि हो’, उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad