खेल


अनिर्णयको बन्दी बन्यो एनपीएल, क्यान पदाधिकारीको क्षमतामै उठ्यो प्रश्न

अनिर्णयको बन्दी बन्यो एनपीएल, क्यान पदाधिकारीको क्षमतामै उठ्यो प्रश्न

यज्ञराज जोशी
चैत ५, २०७७ बिहिबार १३:२४,

डेढ वर्षअघि नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभाबाट निर्वाचित भएको चतुरबहादुर चन्द नेतृत्वको प्यानलको मुख्य एजेन्डा थियो– नेपाल प्रिमियर लिग (एनपीएल)।

अन्यत्र हरेक देशका आधिकारिक निकायले फ्रेन्चाइज फुटबल आयोजना गर्छन्। पछिल्लो समय लोकप्रिय बनेको फ्रेन्चाइज क्रिकेटको स्वाद नेपाली क्रिकेटरले पनि चाखेका छन्। सन्दीप लामिछानेले विश्वका चर्चित फ्रेन्चाइज प्रतियोगिता खेल्दै नाम र दाम दुवै कमाएका छन्।

त्यसबाहेक सोमपाल कामी, पारस खड्का, करण केसी लगायतले पनि विदेशी फ्रेन्चाइज क्रिकेटमा आफ्नो बल–ब्याट घुमाइसकेका छन्।

नेपालमा निजीस्तरमा पनि फ्रेन्चाइज क्रिकेटको अभ्यास भइसकेको छ। धनगढी प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिग त्यसैका उदाहरण हुन्।

तर, लामो समयदेखि प्रतीक्षाको विषय बनेको एनपीएल भने क्यानको अनिर्णयको बन्दी बनेको छ। निर्वाचित भएको डेढ वर्ष बित्दा पनि क्यानले आफ्नो प्रमुख एजेन्डाबारे ठोस निर्णय गर्न सकेको छैन।

नेपालमा कोरोना संक्रमणको दर घट्दै गएर जनजीवन सामान्योन्मुख हुन लागेको ६ महिना बित्यो। तैपनि क्यानका सचिव अशोकनाथ प्याकुर्‍याल कोरोनाकै कारण निर्णय हुन नसकेको बताउँछन्।

‘छैन, छैन, केहीपनि अघि बढेको छैन। अब केही कुरा आउला पख्नुस् न,’ प्याकुर्‍यालले भने, ‘कोरोनाले गर्दा संसारभरि रोकिएको छ। ठिकै हो, ढिलो भएको छ। काम भनेजस्तो फटाफट भएको छैन।’

उदेश्यअनुरुप एनपीएल हुने हो भने यो नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता हुनेछ। यसमा अन्तर्राष्ट्रिय प्रायोजकको पनि आकर्षण छ। जसबाट क्यानले ठूलो आम्दानी गर्नसक्छ। देशी–विदेशी खेलाडीहरुले दर्शकलाई रंगशालासम्म तान्नेछन्। ठूलो संख्यामा दर्शक उपस्थित हुने भएकाले पनि टिकट शुल्कबाटै क्यानले राम्रो आम्दानी गर्नसक्छ।

गत मंसिरमा भएको वार्षिक साधारणसभामा क्यानले एनपीएलको प्रारम्भिक ड्राफ्ट प्रस्ताव अघि सारेको थियो। जसअनुरूप क्यानले एनपीएल आयोजनाको लाइसेन्स भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स (एसथ्रीएस) लाई दिने र स्वामित्व आफूले राख्ने योजना बनाएको थियो।

क्यानले एसथ्रीएसलाई १० वर्षका लागि एनपीएलको अधिकार बेच्ने योजना बनाएको थियो। जसबापत सो भारतीय कम्पनीले जम्मा ४२ करोड दिए पुग्थ्यो।

क्यानका सदस्यहरुले नै साधारणसभामा प्रस्तुत यो प्रस्तावको ठाडै विरोध गरे। उनीहरुले विदेशी कम्पनीलाई यत्रो ठूलो प्रतियोगिता घाटामा बेच्न लागेको तर्क गरे। क्यानले आफैँ प्रतियोगिता आयोजना गर्नुपर्ने उनीहरुको माग थियो।

क्यानका सदस्य समेत रहेका छुम्बी लामा अहिलेपनि क्यानले नै एनपीएल आयोजना गर्नुपर्नेमा जोड दिन्छन्।

‘एनपीएल पनि गर्न सक्दैन भने क्यानको औचित्य के भयो त?,’ लामाले प्रश्न गरे, ‘एनपीएल क्यानले नै आयोजना गर्नुपर्छ। यसको आम्दानी, खर्च क्यानको हुनुपर्छ। कुनैपनि कम्पनीलाई ठेक्कामा दिन पाइँदैन।’

उनले आवश्यक परेको विज्ञ, पार्टनरहरुलाई क्यानले हायर गर्नसक्ने बताए।

साधारणसभामा भारतीय कम्पनीलाई ठेक्कामा दिने प्रस्ताव विवादमा आएपछि क्यानले एनपीएलको फाइल थन्क्याएको थियो। त्यसपछि सो फाइल उघार्ने साइत क्यानमा अहिलेसम्म जुरेको छैन।

‘कहिले हुने, के हुने, कसरी गर्ने, कसले गर्ने, केही कुरा फाइनल भएको छैन,’ क्यान सचिव प्याकुर्‍यालले भने, ‘स्थानीयस्तरमा जे गरिरहेका छौँ, त्यसभन्दा एनपीएलको स्टान्डर्ड ठूलो हुन्छ। त्यसमा आईसीसीदेखि इन्टरनेसनल कन्सर्न हुन्छ। अहिले केही पनि कुराहरु फाइनल छैन। फाइनल भएपछि भन्छौँ।’

क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे अहिलेका पदाधिकारीसँग एनपीएल आयोजना गर्ने क्षमता नै नभएको बताउँछन्।

‘संघको उदेश्य क्रिकेटको विकास गर्नु हो। त्यसको मुख्य पाटो क्रिकेट प्रतियोगिता हो,’ पाण्डेले भने, ‘निजी क्षेत्रले प्रिमियर लिग आयोजना गरिसक्दा संघले गर्नै नसकेर विदेशीलाई बेच्छ। यसको अर्थ उहाँहरुसँग क्षमता नै छैन भन्ने हो।’

कोरोनाका कारण रोकिएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) आगामी सेप्टेम्बरमा हुने घोषणा भइसकेको उदारण दिँदै पाण्डेले थपे, ‘आमिर अख्तर (ईपीएलका संस्थापक) ले प्रिमियर लिग गर्नसक्छन् भने संघले किन गर्न सक्दैन? त्यो क्षमता उहाँहरुसँग भएन।’

पाण्डेले वर्तमान क्यान पदाधिकारीहरुको काम अतिथि भएर उभिने, माला लगाइदिने, लन्च, डिनर खानेमै सिमित भएको आरोप पनि लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .