क्रिकेटर ललितसिंह भण्डारी मैदान फर्किने तयारीमा छन्। गत भदौमा सवारी दुर्घटनामा परेका ललित करिब ६ महिनापछि मैदान फर्किने तरखरमा जुटेका हुन्।
उपचारपछि नियमित फिजियो र डाक्टरको सम्पर्कमा रहेका ललित छिट्टै मैदान फर्किने कुराले निकै उत्साहित रहेको बुधबार सामाजिक सञ्जालमार्फत लेखेका छन्।
ललितले भने अहिले आफू पूर्णरुपमा ठीक भएको बताएका छन्। डाक्टरले अब खेल्न सक्छौ भनेकाले आफू निकै आतुर रहेको उनले उल्लेख गरेका छन्।
ललित अप्रेसनपछि डा.चक्रराज पाण्डेको नियमित सम्पर्कमा रहेका थिए। नेपालखबरसँगको कुराकानीमा उनले भने, ‘बुधबार बोलाउनुभएको थियो, मेरो एक्स–रे रिपोर्टहरु हेर्नुभयो अनि अब खेल्न सक्छौ, कुनै समस्या छैन भन्नुभयो, त्यो सुनेपछि निकै खुसी लागेको छ।’
नेपाल पुलिस क्लबमा आबद्ध उनी मेयर कप सकिएपछि टोलीको प्रशिक्षणमा सहभागी हुने योजनामा छन्।
‘अहिले कुनै दुःखाइ छैन, ठीक भएको छु अब प्रशिक्षणमा कस्तो गर्छु भन्ने हो’, उनले भने।
क्रिकेटर भण्डारी गत भदौ २८ गते साँझ महेन्द्रनगरबाट धनगढी जाँदा उनी सवार मोटरसाइकललाई ट्रकले ठक्कर दियो। दुर्घटनापछि अचेत भएका ललितलाई उपचारका लागि कोहलपुरबाट नेपालगन्ज मेडिकल कलेज पु¥याइएको थियो।
अर्को दिन उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याइयो। दुर्घटनामा ललितको दायाँ हात, खुट्टा, टाउको, छाती, कुम र एंकलमा चोट लागेको थियो। उनको हात र खुट्टाको शल्यक्रिया नै गर्नुपर्यो। झन्डै ३ साताको अस्पताल बसाइपछि उनी असोज २० गते डिस्चार्ज भएका थिए।
यो पनि–
नयाँ जीवन पाएका क्रिकेटर ललितको मैदान फर्किने हुटहुटी

प्रतिक्रिया