महाशिवरात्रि तथा सेना दिवस २०७७ को अवसरमा सिन्धुपाल्चोक जिल्लामा तैनाथ गोरख बक्स गण र विभिन्न सरकारी निकाय तथा संघ संस्थाहरुको सहकार्यमा आयोजना भएको ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता सम्पन्न भएको छ।
ऐतिहासिक लिस्तीकोट र दुगुनागढीको पहिचान, पर्यटन प्रवर्द्धन र खेलकुद क्षेत्रको बिकासमा टेवा पुर्याउने उद्देश्यले २४ गते आयोजित प्रतियोगिता मध्य पूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी सुरेश कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
प्रतियोगितामा २१६ जना पुरुष, २५ जना महिला तथा २ जना विदेशी नागरिक गरी जम्मा २४३ जना खेलाडीहरु सहभागी भएका थिए।

प्रतियोगिताको खुल्लातर्फ सोलुखुम्बु महाकुलुङका सुमन कुलुङले २ घण्टा १ मिनेटमा दूरी पार गर्दै पहिलो बने। उनले १ लाख रुपैयाँ हात पारे। त्यस्तै दोस्रो भएका पर्वतका अनिश थापा मगरले २ घण्टा ४ मिनेटमा दूरी पार गरी ६० हजार जिते।
तेस्रो स्थान भने रामेछापका वेद बहादुर सुनुवारले जिते। उनले ४० हजार पाए। चौथो गोरखाका भीमबहादुर गुरुङ, पाँचौँ भोजपुरका उमेश राई र छैठौँ पाँचथरका दिपक सुहाङ भए। उनीहरुले क्रमशः २०, १५ र १० हजार रुपैयाँ हात पारे।

त्यस्तै महिलातर्फ भोजपुरकी अनिता राई प्रथम बन्दै ५० हजार जितिन् भने दोस्रो प्युठानकी हुमी बुढा मगर र तेस्रो गुल्मीकी गिता बिक भइन्। दुवै जनाले क्रमशः ३० र २० हजार नगद हात पारे।
सिन्धुपाल्चोकबासीको तर्फबाट भने भोटेकोशी २ का कृष्ण बहादुर पहिलो, मेलम्ची ४ का श्याम तामाङ दोस्रो र सुनकोशी ५ का सहदेव खत्री तेस्रो बने। उनीहरुले क्रमशः २०, १५ र १० हजार नगद जिते।

उक्त दौड प्रतियोगिताको दौरान नेपाली सेनाका रथीबृन्द तथा अधिकृत वर्ग, चौतारा सांगाचोकगढी र बाह्रबिसे नपाका मेयर, प्रमुख जिल्ला अधिकारी, भोटेकोशी गाउँपालिका र इन्द्रावती गाउँपालिकाका अध्यक्ष, जनप्रतिनिधिहरु, विशेष अतिथि वैकुण्ठ मानन्धर र मीरा राई, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न व्यावसायी तथा संघ संस्थाहरुका प्रमुख, संचारकर्मीहरु, खेलाडीहरु र ठुलो संख्यामा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया