खेल


फागुन २१ देखि नेपालगन्जमा भलिबल प्रतियोगिता हुने, विजेताले ५ लाख पाउने

फागुन २१ देखि नेपालगन्जमा भलिबल प्रतियोगिता हुने, विजेताले ५ लाख पाउने

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ११:९,

सगरमाथा सिमेन्टको मुख्य प्रायोजन तथा बाँके जिल्ला संघको आयोजनामा सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिता फागुन २१ देखि २५ गतेसम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा सञ्चालन हुने भएको छ।

प्रतियोगिताका लागि सबै तयारी पूरा भइसकेको संघले जनाएको छ। सहभागी टोली नेपालगन्ज आइसकेका छन्।

विगतमा जस्तै यसपटक पनि तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र होगांजी न्यू डायमण्डले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

संघका अनुसार स्थानीय टोली लुम्बिनी युनाइटेडले पनि यसपटक चर्चित क्लबहरुसँग प्रतिस्पर्धा गर्नेछ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खेलकुदको सहरका रुपमा पुनः परिचित गराउने उद्देश्यका साथ प्रधानमन्त्री कपको छैटौं संस्करण सम्म हामीले सफल रुपमा आयोजना गरिसकेको यहाँहरुमा जानकारी नै छ। महिला भलिबलमा अलग पहिचान बनाएको प्रधानमन्त्री कपको सातौं संस्करणलाई अझै व्यवस्थित र भव्य बनाउनका लागि हामी प्रयासरत रहेका छौं।’

महिला राष्ट्रिय भलिबल टोलीले गत वर्ष एभिसी सेन्ट्रल जोनमा स्वर्ण र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्दै भविष्यमा अझै राम्रो गर्न सक्ने संकेत गरेको छ।

महिला टोलीले साग इतिहासमा पहिलो पटक रजत पदक जितेको थियो।

विगतमा जस्तै नेपालका चर्चित क्लबसँगै भारत र बंगलादेशका क्लबलाई यसपटक पनि प्रधानमन्त्री कपमा सहभागी गराउनका लागि नेपाल भलिबल संघमार्फत पहल भएको थियो। तर, कोरोना महामारी पूर्ण रुपमा नियन्त्रण भइनसकेका कारण विदेशी टोली आउन नसक्ने जानकारी प्राप्त भएको संघले जनाएको छ।

‘गत वर्ष कोरोना कहरका कारण विदेशी क्लबको सहभागिता रहन सकेन। कोभिड १९ को महामारी अझै पनि नियन्त्रण भइनसके पनि विस्तारै खेलकुद गतिविधि भने सुरु भएका छन्’, बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले भने, ‘हामीले पनि स्वास्थ्य मापदण्डलाई ख्याल राख्दै प्रधानमन्त्री कप आयोजनाको तयारी गरिरहेका छौं। दक्षिण एसियामा नम्बर एक क्लब च्याम्पियनसिपका रुपमा प्रधानमन्त्री कपलाई स्थापना गर्ने उद्देश्यका साथ हामीले व्यवस्थापनलाई विशेष ध्यान दिने तयारी गरिरहेका छौँ।’

महिला सशक्तीकरणमा मद्दत पुर्याउने उद्देश्यका साथ माननिय कृष्णा केसी नमुनाको संयोजकत्वमा आयोजक सहर नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा सहसंयोजक रहने गरी बाँके जिल्लाका सबै पालिका उपप्रमुखहरु रहने टोली यसमा आबद्ध रहेकोले पनि प्रधानमन्त्री कप अन्य प्रतियोगिताभन्दा फरक रहेको उनले बताए।

यसपटक विगतमा भन्दा पुरस्कार राशीमा पनि वृद्धि गरिएको छ। यसपटकको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ।

गत वर्ष विजेताले २ लाख रुपैयाँ प्राप्त गरेको थियो।

यसपटक प्रधानमन्त्री कपलाई राष्ट्रिय वाणिज्य बैंकले सहयोग गरेको छ। २०७० सालमा सुरु गरेको प्रधानमन्त्री कपको पहिलो संस्करण नेपाल पुलिस क्लब, दोस्रो नेपाल एपीएफ, तेस्रो र चौथोमा रेलवे इन्डिया, पाँचौमा एपीएफ, छैटौंमा पुलिसले जितेको थियो। पाँचौं संस्करणमा बंगलादेशी क्लबको सहभागिता रहेको थियो।

विगतमा जस्तै सातौं संस्करणको प्रधानमन्त्री कपको सफल आयोजनाका लागि सञ्चारकर्मीहरुको साथ सहयोग रहनेमा विश्वस्त रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad