नेरोका एफसीलाई पराजित गर्दै नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित राउण्ड ग्लास पञ्जाव एफसी भारतमा जारी आई लिगको दोस्रो स्थानमा उक्लिएको छ।
सोमबार साँझ बंंगालको कल्याणी स्टेडियममा भएको खेलमा पञ्जावले नेरोका एफसीलाई १–० ले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।
पञ्जावको जितमा पापा बाबाकार डायबाराले खेलको ६५ औं मिनेटमा निर्णायक गोल गरे। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो।
आजको खेलमा नेरोका बाट खेलिरहेका अर्का नेपाली खेलाडी प्रकाश बुढाथोकीले पनि खेल्ने मौका पाए। उनी खेलको ६० औं मिनेटमा खैमिथांह्याङ ल्हुगंडिमको स्थानमा मैदान प्रवेश गरे। ६८ औं मिनेटमा नेरोकाले खेललाई बराबरीमा ल्याउने मौका पाएपनि सदुपयोग गर्न सकेन। प्रकाश बुढाथोकीले दिएको पासलाई सिगंम सुवासले सदुपयोग गर्न नसक्दा बराबरी गर्नबाट नेरोका चुक्न पुग्यो।
लिगमा १० खेलमा ५ मा जित, २ मा हार र ३ मा बराबरी गरेको पञ्जाव १८ अंक जोडेको छ।समान खेल खेलेको नेरोका एफसी भने ८ अंकमा पुछारबाट दोस्रो स्थानमा यथावत छ। १० खेल खेलेको नेरोका २ मा जित, २ मा बराबरी र ६ खेलमा हार व्यहोरेको छ।
आजै भएको पहिलो खेलमा गोकुलम केरला एफसीलाई ३–२ गोलले पराजित गर्दै चर्चिल ब्रदर्श एफसी गोवा शीर्ष स्थानमा उक्लिएको छ।
१० खेल खेलेबाट अपराजित चर्चिल ६ मा जित, ४ मा बराबरी गर्दै २२ अंक जोडेको छ। पराजित गोकुलम एफसी भने १६ अंकमा चौथो स्थानमा छ।
Shares

प्रतिक्रिया