टोटेनहम हट्सपरले इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा बर्नलीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ। टोटेनहमको जितमा ग्यारेथ बेलले २ गोल तथा ह्यारी केन र लुकास मोउराले एक एक गोल गरे।
खेलको दोस्रो मिनेटमै बेलले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए। ह्युङ मिन सनको क्रसमा बेलले गोल गरे। १५औं मिनेटमा बेलको पासमा ह्यारी केनले गोल गर्दै अग्रता दोब्बर पारे। ३१औं मिनेटमा लुकास मोउराले गोल गर्दै अग्रता फराकिलो पारे।
पहिलो हाफमा ३–० को अग्रता बनाएको टोटेनहमले दोस्रो हाफमा १ गोल थप्यो। खेलको ५५ औं मिनेटमा सनको पासमा बेलले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे।
जितसँगै टोटेनहम २५ खेलमा ३९ अंक जोड्दै आठौं स्थानमा उक्लेको छ। बर्नली भने २६ खेलमा २८ अंकसहित १५ औं स्थानमा यथावत् छ।
गएराति नै भएको अर्को खेलमा क्रिस्टल प्यालेस र फुल्हाम तथा चेल्सी र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेले।
Shares

प्रतिक्रिया