ad ad

खेल


उमेरसँगै ओरालो लाग्दै मेस्सी र रोनाल्डो!

उमेरसँगै ओरालो लाग्दै मेस्सी र रोनाल्डो!

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ६:२१,

लियोनल मेस्सीको बार्सिलोना पीएसजीसँग पराजित भएकै भोलिपल्ट रोनाल्डोको टोली पोर्टोसँग बुधबार राति पराजित भएको हो।

यी दुई स्टार समावेश टोली पहिलो लेगमै पराजित भएपछि र उनीहरुको प्रदर्शन खस्केको देखिएपछि अब रोनाल्डो र मेस्सी फुटबलमा ओरालो लाग्दै गएको विश्लेषण भइरहेका छन्।

तथ्यांकले पनि दुईको प्रदर्शन कमजोर बनेको देखाउँछ। मेस्सी कीर्तिमानी ६ पटकका बालुन डि’ओर विजेता हुन भने रोनाल्डो ५ पटकका बालुन डि’ओर विजेता हुन्।

बुधबार राति च्याम्पियन्स लिगमा पोर्टोले घरेलु मैदानमा सुरुवाती दुई गोलको अग्रता लिएको थियो। दोस्रो हाफको ८२ औं मिनेटमा युभेन्टसका फेड्रिको चिसाले एक गोल फर्काएका थिए। रोनाल्डोले भने यस खेलमा गोल गर्न सकेनन्। घरेलु मैदानमा पोर्टोले खेल २–१ ले जित्यो।

यसअघि बार्सा पीएसजीसँग घरेलु मैदानमै ४–१ ले स्तब्ध बनेको थियो। युवा खेलाडी एमबाप्पेको पेसलाई रोक्न नसक्दा बार्सा हार्‍यो। उनले बार्साविरुद्ध ह्याट्रिक पुरा गरे।

मेस्सीको गोलले बार्साले अग्रता लिएको थियो। तर उक्त पेनाल्टीको गोल सान्त्वना मात्र सावित बन्न पुग्यो।

मेस्सी अब चार महिनामा ३४ वर्षका हुँदैछन्। रोनाल्डो यसै महिनाको फेब्रुअरी ५ मा ३६ वर्षमा प्रवेश गरेका छन्।

एक दशकसम्म फुटबलमा राज गरेका यी दुई खेलाडीको उमेर बढ्दै गएको छ। उमेरसँगै उनीहरुको प्रदर्शन पनि खस्कँदै गएको देखिएको हो।

रोनाल्डो च्याम्पियन्स लिगका हालसम्मकै सर्वाधिक गोलकर्ता हुन्। उनले १७५ खेलमा १३४ गोल गरिसकेका छन्।

च्याम्पियन्स लिगमा मेस्सी भने सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा छन्। मेस्सीले १४८ खेलमा ११९ गोल गरेका छन्।

तर च्याम्पियन्स लिगको यस सिजनमा रोनाल्डो र मेस्सी सर्वाधिक गोलकर्ता होइनन्। साथै यस प्रतियोगितामा उनीहरुको टोली हारको संघारमा पुगिसकेको छ।

यसपटक मेस्सी र रोनाल्डोले च्याम्पियन्स लिगमा समान ४–४ गोल गरेका छन्। उनीहरु सर्वाधिक गोलकर्ताको ९ औं स्थानमा छन्। जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा बोरुसिया डर्टमुन्डका इर्लिङ हालाल्ड छन्। उनले ८ गोल गरेका छन्।

घरेलु लिगमा समेत मेस्सी र रोनाल्डोको प्रदर्शन स्तरीय छैन। ला लिगामा बार्सिलोना हाल लिगको तेस्रो स्थानमा छ। बार्साको २२ खेलमा ४६ अंक छ। शीर्ष स्थानको एथ्लेटिको मड्रिडले त्यति नै खेल खेल्दा उ बार्साभन्दा ९ अंकले अघि छ।

लिग जारी रहँदा मेस्सी ला लिगामा यस सिजनका सर्वाधिक दोस्रो गोलकर्ता हुन्। उनको १५ गोल छ।

यस्तै रोनाल्डोको युभेन्टस यसपटक लिग जारी रहँदा सिरि एमा चौथौं स्थानमा रहेको क्लब हो। युभेन्ट्सको २१ खेलमा ४२ अंक भएको छ। शीर्ष स्थानको इन्टर मिलान ८ अंकले अघि छ।

सिरि एमा रोनाल्डो पनि दोस्रो सर्वाधिक गोलकर्ता हुन्। उनको १६ गोल छ। तथ्यांकलाई हेर्दा समग्रमा मेस्सी र रोनाल्डोको गोल दर घट्दै गएको छ।

उनीहरुले यस सिजन घरेलु गोल्डेन बुट जित्ने सम्भावना भएता पनि युरोपियन गोल्डेन बुट जित्ने सम्भावना छैन।

किनभने जारी सिजन जर्मन बुन्डेस लिगाका रोवर्ट लिवानडोस्कीले २५ गोल गरिसकेका छन्। लिवानडोस्की गत सिजनका पनि युरोपियन गोल्डेन बुट विजेता हुन्।

च्याम्पियन्स लिगको अवस्था

च्याम्पियन्स लिगको दोस्रो लेगमा बार्साले पीएसजीलाई ४–० को गोल अन्तरले जित निकाल्नै पर्ने बाध्यता छ। नभए बार्सा खेलबाट बाहिरिनेछ।

अथवा बार्साले ३–० को जित निकाले बार्सा र पीएसजीबीचको पेनाल्टी सुटआउटले खेलमा हारजितको निर्णय गर्नेछ।

जे भएपनि बार्सिलोना हारको संघारमा पुगिसकेको छ। मंगलबारको खेलमा नेमार पीएसजीको तर्फबाट उपस्थित थिएनन्। उनी घाइते भएका थिए। नेमार नहुँदै एमबाप्पे एक्लैले ह्याट्रिक गरेका थिए।

नेमार अर्को खेलमा मैदान फर्किनेछन्। नेमार आए बार्सामाथि पीएसजीले थप सहज जित निकाल्ने अनुमान गरिएको छ।

मानिसहरु सन् २०१६ को च्याम्पियन्स लिग खेलमा बार्साले गरेको उत्कृष्ट कमब्याकको पनि चर्चा गरिरहेका छन्। खेलमा जे पनि सम्भव छ भन्ने तर्क भइरहेको छ।

त्यसबेला नकआट चरणको पहिलो लेगमा पीएसजीले ४–० को जित निकाल्दा समेत बार्साले पीएसजीलाई दोस्रो लेगमा हराएको थियो। बार्साले ६–१ को जित निकालेको थियो। यो खेललाई इतिहासकै उत्कृष्ट कमब्याकको रुपमा लिइन्छ।

बार्सालाई यस खेल जिताउनमा नेमारले महत्वपूर्ण भूमिका खेलेका थिए। उनी ३ गोलमा समावेश भएका थिए। उनले दुई गोल गर्दा एक गोलका लागि पास दिएका थिए।

तर यसपटक बार्सासँग नेमार छैन। त्यसकारण बार्सालाई यसपटक निकै गाह्रो छ। नेमार पीएसजीमा छन् र पीएसजीको ३ गोलको अग्रता छ।

रोनाल्डोको युभेन्टसले भने पोर्टोलाई दोस्रो लेगमा हराएर क्वाटरफाइनलमा प्रवेश गर्ने सम्भावना छ। किनभने पोर्टोले एक गोलको मात्र अग्रता लिएको छ।

यद्यपी रोनाल्डो र मेस्सीको क्बलको प्रदर्शन घरेलु लिगसँगै च्याम्पियन्स लिगमा गतिलो देखिँदैन।

उल्लेखित तथ्यांक र कारणहरुले मेस्सी र रोनाल्डोको खेल पनि ओरालो लाग्दै गएको देखाउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .