नेपाल एपीएफ क्लबले राष्ट्रिय महिला लिगमा अपराजित यात्रा कायमै राखेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा शनिबार भएको खेलमा एपीएफले वालिङ नगरपालिका स्याङ्जालाई ३–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा कायमै छ। एपीएफले ५ खेलबाट १५ अंक जोडेको छ। पराजित वालिङको ५ अंक छ।
लिगको आजको खेलमा सावित्रा भण्डारीले २ तथा प्रीति राईले एक गोल गरिन्। पहिलो हाफको १२ औं मिनेटमा फरवर्ड सावित्रा भण्डारीले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। ७१ औं मिनेटमा प्रीति राईले गोल गर्दै अग्रता दोब्बर पारिन्। ७५ औं मिनेटमा सावित्राले टोलीको लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफको जित निश्चित बनेको हो। खेलको प्लेयर अफ दि म्याच रेनुका नगरकोटे भइन्।
आजै भएको पहिलो खेलमा विराटनगर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ। सोही मैदानमा शनिबार भएको खेलमा विराटनगरले चौदण्डीगढी नगरपालिकालाई ६–० को फराकिलो अन्तरले पाखा लगाएको हो।
खेलको २१ औं मिनेटमा अनु राईले गोल गर्दै विराटनगरलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। खेलको ३६ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरिन्। ४३ औं मिनेटमा मनिषा थापा मगरले गोल गरिन्। इमा राई, कुसुम खतिवडा र पार्वती घलेले एक एक गोल थपे।
अहिलेसम्म जितविहीन चौदण्डीगढी अंकतालिकाको पुछारमा छ।

प्रतिक्रिया