नेपालको फुटबल बरियता यथावत रहेको छ। विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको वरियताअनुसार नेपाल १७१ औँ स्थानमा यथावत छ।
नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन। बंगलादेशबाहेक दक्षिण एसियाका सबै देशको बरियता यथावत रहेको फिफाले जनाएको छ।
बंगलादेश फिफा बरियतामा दुई स्थान तल झरेको छ । गत साता बंगलादेश विश्वकप छनोटअन्तर्गत कतारसित पराजित भएको थियो। दक्षिण एसियाली देशमध्ये भारत १०४ औं स्थानमा छ भने माल्दिभ्स १५५, बङ्गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलङ्का २०६औँ स्थानमा रहेका छन्।
फुटबलको विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फिफा बरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौँ, उरुग्वे आठौँ, मेक्सिको नवौँ तथा इटाली १०औँ स्थानमा रहेका छन्।
Shares
प्रतिक्रिया