क्रिकेट खेलाडी संघ (सिप्यान) ले खेलाडी वर्गीकरणलाई थप प्रष्ट पार्न नेपाल क्रिकेट संघ (क्यान) सँग आग्रह गरेको छ।
सिप्यानले आज सोमबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवाललाई क्यानको गत असोज ६ गते बसेको बैठकले गरेका केही निर्णयमा आफूहरुको ध्यानाकर्षण भएको भन्दै आवश्यक पहल गरिदिन आग्रह गरेको हो।
क्यानले २०२० का लागि पुरुष र महिला क्रिकेट खेलाडीलाई गरिएको वर्गीकरणमा थप प्रष्टता पार्न पनि सिप्यानले आग्रह गरेको छ। ध्यानाकर्षण पत्रमा भनिएको छ, वर्गीकरण जस्तो महत्वपुर्ण विषयलाई पारदर्शी रुपमा निश्चित मापदण्ड तोकेर अबलम्बन गरिनु क्रिकेट विकासका लागि जरुरी छ।
यसलाइ तर्कसम्मत र त्रुटी रहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यक्त देखिएको छ।
यस्तै नेपाली क्रिकेटलाई व्यवसायिक उन्मुख र प्रतिफलमुखी बनाइराख्न क्रिकेट खेलाडीको आयश्रोतलाइ व्यवस्थित बनाइनु पर्ने र खेलाडीको मनोबल उच्च राख्न आवश्यक भएको सिप्यानका अध्यक्ष डा. मनिष राज पाण्डेले बताएका छन्।
यसको लागि न्यायसंगत ढंगले समयसापेक्ष कुनैपनि किसिमको विभेदको अनुभुती हुने वातावरणलाई निरुत्साहित गर्दै जानुपर्ने बताइएको छ। खेलाडीको जिवन बीमा र दुर्घटना बीमा गर्न समावेश गरिने खेलाडीको दायरा पनि फराकिलो बनाइदिनुपर्ने सीप्यानले जनाएको छ।
Shares

प्रतिक्रिया