खेल


कतारविरुद्ध नेपालको कमजोर ब्याटिङ, दियो सामान्य लक्ष्य

कतारविरुद्ध नेपालको कमजोर ब्याटिङ, दियो सामान्य लक्ष्य

नेपालखबर
साउन ७, २०७६ मंगलबार ३:२६,

टि २० विश्वकपको एसिया छनौटके पहिलो खेलमा नेपालले कतारविरुद्ध कमजोर ब्याटिङ गरेको छ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २२ रनमात्रै जोड्न सक्यो। १ सय २३ रनको लक्ष्यसहित कतारले ब्याटिङ गरिरहेको छ।

१०औं ओभरमा ३ विकेट गुमाएर ६७ रन जोडेको नेपालले त्यसपछि ५५ रन जोड्दा ७ विकेट गुमायो।

लगातार राम्रो ओपनिङ जोडीका लागि संघर्ष गरिरहेको नेपालले कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ललाई यस खेलमा ओपनिङ जोडीको रुपमा उतारेको थियो।

मलेसियाविरुद्धको पछिल्लो दुई वटा टि २० अन्तर्राष्ट्रियमा कप्तान पारस खड्काको ओपनिङ साझेदारीका रुपमा प्रदीप ऐरी र पवन सर्राफलाई उतारेपनि त्यो प्रयोग सफल भएको थिएन्।

अनुभवी खेलाडीद्वय पारस र ज्ञानेन्द्रले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे। पारसले आक्रामक खेल्दा ज्ञानेन्द्रले उनलाई साथ दिएर खेलेका थिए।

छैटौं ओभरको अन्तिम बलमा इमाम उलहकले पारसलाई नुवन सार्वारको हातबाट क्याच गराउँदै नेपालको पहिलो विकेट झारे। पारसले १७ बलको सामना गर्दै ४ चौका र १ छक्कासहित २८ रन जोडे।

पारस र ज्ञानेन्द्र खेलिरहँदा नेपाल ठूलो स्कोरतर्फ अघि बढिरहेको थियो तर त्यसपछि भने लगातार विकेट गुमाएपछि नेपालको रन गतिमा अंकुश लाग्यो। दुई ओभरपछि नेपालले ज्ञानेन्द्रलाई तमोर सायजादले इकबाल हुसैनको हातबाट क्याच गराए।

२४ बल खेलेका ज्ञानेन्द्रले २ चौका र १ छक्कासहित २३ रन जोडे। ११औं ओभरको पहिलो बलमा नेपालले शरद भेषावकरलाई पनि सस्तैमा गुमायो। शरदले ७ रनमात्रै बनाउँन सके।  

औलामा लागेको चोटका कारण मलेसियाविरुद्धको शृंखला गुमाएका दीपेन्द्रसिंह ऐरीले टिकेर खेल्दै ३५ बलमा ३४ रन बनाए। उनी नेपालबाट सर्वाधिक स्कोरर रहे।

उनलाई क्रिजमा अर्कातिर भने कसैले पनि लामो समय साथ दिन सकेनन्। सोमपाल ११, विनोद भण्डारी ३ र करण केसी ४, सन्दीप लामिछाने ९, बसन्त रेग्मी १ र अभिनाश बोहरा खाता नै खोल्न नपाई पवेलिइन फर्किए।

इक्वाल हुसैनले अन्तिम ३ बलमा नेपालका ३ विकेट लिएका थिए। अन्तिम ओभरको चौथो, पाँचौं, र छैटौं बलमा उनले क्रमश सन्दीप, अभिनाश र बसन्तको विकेट लिएका थिए।

हुसैनसँगै तामोर सयजाद र नुवन सर्वारले समान २–२ विकेट लिए।

टि–२० विश्वकपको जारी एसिया छनौटमा नेपालसँगै ५ देशको सहभागिता छ। यस प्रतियोगिताको विजेता टोलीले असोजमा यूएईमा हुने ग्लोबल छनौट खेल्नेछ। ग्लोबल छनौटमा १४ टोलीको सहभागिता रहनेछ। उक्त प्रतियोगिताको शीर्ष ६ भित्र रहने टोली अष्ट्रेलियामा २०२० मा हुने विश्वकपमा छनोट हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad