फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेल खेलिरहेको राष्ट्रिय फुटबल टोलीका सदस्यको कोरोना पीसीआर परीक्षण सोमबारदेखि सुरु गरिने भएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडी, प्रशिक्षक, टिम अफिसियल र होस्टल स्टाफहरुको भोलि कोरोना परीक्षण गर्ने जनाएको हो।
सोमबार र मंगलबार गरेर २ चरणमा कोरोना परीक्षण गरिने एन्फाले जानकारी दिएको हो। भदौ १ गतेबाट प्रशिक्षण सुरु गराउने तयारीमा रहेको राष्ट्रिय टोलीका खेलाडीहरु अहिले क्वारेन्टिनमा छन्।
काठमाडौंबाहिरका खेलाडीहरु होटलमा बसिरहेका छन् भने उपत्यकाका खेलाडीहरु घरमा नै बसिरहेका छन्।
खेलाडीको कोरोनाको पीसीआर परीक्षण पाटन अस्पतालमा गरिनेछ। अहिले ११ खेलाडी होटलमा बसेका छन्। २२ जना खेलाडी घरमा नै होम क्वारेन्टिनमा छन्।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले ए डिभिजन लिग खेलेका खेलाडीबाट ३३ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए।
विश्वकप छनोटअन्तर्गत नेपालले ३ वटा होम म्याच खेल्न बाँकी छ। नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दै छ। त्यसको ५ दिनपछि अर्थात असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका छ।
कात्तिक २७ गते जोर्डनसँगको खेलेपछि नेपालको विश्व कप छनोट खेल समाप्त हुनेछ।
विश्व कप छनोटका यसअघिका ५ खेलमा नेपालले ४ मा हार र १ मा जित निकालेको थियो। नेपालले एक मात्र खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो। त्यसमा दुवै गोल अन्जन विष्टले गरेका थिए। ५ राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ।

प्रतिक्रिया