ad ad

खेल


छाेरीले पाउने सम्मान नपाएपछि नरमाइलो मान्दै फर्किएका थिए स्वर्णधारी सञ्जुका बुबा

छाेरीले पाउने सम्मान नपाएपछि नरमाइलो मान्दै फर्किएका थिए स्वर्णधारी सञ्जुका बुबा

लक्ष्मी जि.सी
असार ३१, २०७७ बुधबार ९:५४,

आफ्नी छोरी सञ्जुलाई गृहनिवासकै स्थानीय निकायले गाउँठाउँकै मानिसहरुअघि सम्मान गर्न लागेको खबर सुन्दा चामु थारु खुसीले दंग थिए।

नेपालगञ्ज उपमहानगरपालिकाले सातौँ नगरसभा कार्यक्रममा मंगलबार भारोत्तोलनमा स्वर्ण जितेकी सञ्जुसहित कांस्य विजेता प्रकाश केसीलाई नगदसहित सम्मान गर्ने कार्यक्रम राखेको थियो।

तर, काठमाडौंमै रहेकी सञ्जुले भने आफू सम्मानित हुँदै छु भन्ने कुराको खबर कार्यक्रम सुरु हुनु एक घण्टाअघि मात्रै पाएकी थिइन्।

‘डेढ बजे सुरु हुने कार्यक्रमका लागि १२ बजेर ५२ मिनेट जाँदा फोन आएको थियो। मैले म काठमाडौं छु भनेपछि उताबाटै अभिभावकलाई भए पनि पठाइदिनु भन्ने सुझाव आयो’, सञ्जुले भनिन्, ‘उहाँहरुकै सुझाव मान्दै मैले बुबालाई कार्यक्रममा जान भनेकी थिए।’

sanju baba xori2

छोरीले फोन गर्दै बुबालाई सम्मान थाप्न जान भनिन्। गाउँ समाजकै मान्छेको तालीको गडगडाहटबीच छोरीको सम्मान ग्रहण गर्न पाउनै लाग्दा बुबा चामु पनि खुसीले दंग थिए।

कार्यक्रम सुरु हुने समय भइसकेकाले उनी पनि सरासर कार्यक्रमस्थल पुगे। तर उनको खुसी छोटो समयका लागि थियो।

छोरीको प्रशंसा सुन्न कार्यक्रमस्थल पुगेका सन्जुका बुबा निराश हुँदै फर्किए।

‘आवश्यक कागजात नपुगेको भन्दै सम्मान कार्यक्रमसम्म बोलाएर रित्तो हात फर्काइयो’, सञ्जुले भनिन्, ‘बुबालाई नरमाइलो लागेको छ।’

सबै प्रक्रिया मिलाएर सम्मानका लागि बोलाउनुपर्नेमा उपमहानगरले लापरबाही गरेको हो।

sanju baba xori3

‘प्रक्रिया नमिलेको भए पछि मिलाउन पनि सकिन्थ्यो होला नि!’, नेपालखबरसँग सञ्जुका बुबाले भने, ‘तर, सम्मान भनेर बोलाएर पनि त्यतिकै फर्काउनु राम्रो भएन। मनमा नरमाइलो मानेर फर्किएँ।’

के कागजात मिलेन भन्ने कुरा सञ्जु र उनका बुबालाई अझै थाहा छैन। तर, कागजात मिलेपछि पुनः सम्मान गरिने बताएको बुबा चामुले बताए।

यता, बुबालाई बोलाएर त्यसै फर्काइँदा अपमानित महशुस गरेको सञ्जु बताउँछिन्।

उनले सामाजिक सञ्जालमा नै अपमान गरेको भन्दै गुनासो पोखेकी छिन्।

‘हामी खेलाडीको स्वाभिमान हुँदैन र? सम्मान छ भन्दै बोलाउने अनि रित्तो हात फर्काउने?’, सन्जुले भनेकी छिन्, ‘हामीलाई पैसा चाहिएको होइन, सम्मान चाहिएको हो। तर यहाँ त अपमानित गरेर पठाइयो।’

नेपाल प्रहरीमा आबद्ध सञ्जुले नेपालगञ्जलाई भारोत्तोलनको महिला ५९ किलोमुनि स्वर्ण दिलाएकी थिइन्।

नगरसभाको अवसर पारेर खेल क्षेत्रबाट सफलता हासिल गर्ने खेलाडीलाई सम्मान गर्ने भनेर बोलाए पनि सम्मान नगरी खाली हात फिर्ता पठाएर उपमहानगरपालिकाले अपमान गरेको सञ्जुको दुःखेसो छ।

नेपालखबरले यसबारेमा थप बुझ्नको लागि नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख डा. धवल शम्शेर राणालाई बुधबार टेलिफोन गर्दा यसबारेमा आफूले बुझिरहेको प्रतिक्रिया दिए।

उनले भने, ‘यसबारेमा मैले बुझ्दै छु बुझेर म १ घण्टापछि सम्पर्क गर्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .