खेल


मधेशीबारे विवादास्पद अभिव्यक्ति दिएका एन्फा अध्यक्षविरुद्ध फिफामा पर्‍यो दुई उजुरी

मधेशीबारे विवादास्पद अभिव्यक्ति दिएका एन्फा अध्यक्षविरुद्ध फिफामा पर्‍यो दुई उजुरी

नेपालखबर
जेठ २२, २०७७ बिहिबार १२:१४,

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाको विवादास्पद अभिव्यक्तिको छानबिनका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठले विश्व फुटबल महासंघ (फिफा)लाई छुट्टाछुट्टै उजुरी दिएका छन्।

गत जेठ ४ गते एन्फा अध्यक्ष शेर्पाले एक अनलाइनमा अन्तर्वार्ता दिने क्रममा तराईमा राष्ट्रियताको भावना कमी रहेको बताएपछि त्यसैलाई आधार बनाएर नेम्वाङ र श्रेष्ठले उजुरी दिएका हुन्। श्रेष्ठले सोमबार र नेम्वाङले मंगलबार उजुरी दर्ता गराएका छन्।

संसदमा समेत शेर्पाको अभिव्यक्तिलाई लिएर छानबिनको माग भइरहेकोले यो कठिन परिस्थितिको बारेमा जानकारी दिँदै फिफालाई पत्र पठाएको श्रेष्ठले बताए। घटनाको छानबिन गरेर समस्याको अन्त्यका लागि फिफालाई आग्रह गरेको श्रेष्ठले जानकारी दिए। उनले पठाएको पत्रमा एएफसीलाई पनि बोधार्थ दिइएको छ।

शेर्पाले विधानविपरीत विवादास्पद अभिव्यक्ति दिएको भन्दै एन्फा उपाध्यक्ष नेम्वाङले फिफा र एएफसीमा छानबिनका लागि मंगलबार उजुरी दर्ता गराएका छन्। एन्फा कार्यसमितिको बैठकमा पनि छानबिन समिति बनाउन र त्यति बेलासम्मका लागि अध्यक्षलाई राजीनामा गर्न कार्यसमिति बैठक बसेको थियो।

‘तर त्यसको सुनवाइ भएन, मैले अध्यक्षलाई जानकारी दिएरै फिफामा उजुरी गरेको हुँ। मैले उहाँलाई भन्दा हुन्छ दिनुस् भनेपछि उजुरी दिएको हुँ’, नेम्वाङले भने। विधान सबैको लागि एकै हुने भन्दै नेम्वाङले ललितपुर जिल्ला संघको अध्यक्षलाई कारबाही हुने, कास्कीको अध्यक्षसँग स्पष्टीकरण समेत नलिनु ठीक नभएको उनको भनाइ छ।

स्वयं अध्यक्षको अभिव्यक्तिले संस्थाको नामसँगै जोडिने हुनाले आधिकारिक धारणा बैठकमा माग गरेको तर त्यसबारेमा छलफल नभएको नेम्वाङले बताए।

अन्तर्वार्तामा शेर्पाले ग्रासरुट कार्यक्रमका लागि नेपाली सेनासँगको सहकार्यमा तराईका सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउने क्रममा मधेशी समुदायको राष्ट्रियताको प्रसंग उठाएका थिए।

एन्फा अध्यक्ष शेर्पाले भने आफ्नो अभिव्यक्तिका लागि बुधबार एक विज्ञप्ति जारी गर्दै माफी मागेका थिए। विज्ञप्तिमा शेर्पाले भनेका छन्, ‘मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, धर्म, वर्ग, लिङ्ग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतामा प्रश्न गर्ने थिएन र कदापि होइन। यद्यपि अन्तर्वार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाइ दिदीबहिनी एवं त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट पुग्न गएमा त्यसप्रति क्षमायाचना गर्दछु।’

शेर्पाले आफूले दिएको अन्तर्वार्तामा भावनालाई भन्दा पनि शाब्दिक अर्थमा मात्र ध्यान दिएको बताएका छन्।

यो पनि :
 : मधेशीबारे विवादास्पद अभिव्यक्ति दिने एन्फा अध्यक्ष शेर्पामाथि कारबाही गर्न माग
 : एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न चार जिल्लाको माग, प्रधानमन्त्रीलाई पत्र पठाइयो
 : मधेशीबारे विवादास्पद अभिव्यक्ति दिएका एन्फा अध्यक्ष शेर्पाले माफी मागे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad