विश्वकप फुटबलको पूर्वसन्ध्यामा विश्व फुटबल महासंघ (फिफा)सँग संयुक्त राज्य अमेरिकामा टिकटको मूल्यलाई लिएर स्पष्टीकरण मागिएको छ।
न्युयोर्क र न्युजर्सीका महान्यायाधिवक्ताहरुले आधिकारिक रुपमै फिफाको मूल्य बढाउने निर्णयविरुद्ध अनुसन्धान सुरु गरेका हुन्।
२०२६ को विश्वकपमा मूल्य असाधारण रुपमा बढाइएका आरोपहरुपछि ती राज्यबाट अनुसन्धान अघि बढेको हो। मूल्य बढाउने फिफाको प्रक्रियालाई न्युजर्सीकी महान्यायाधिवक्ता जेनिफर डेभनपोर्टले दुविधाग्रस्त, अस्पष्ट र असाधारण रहेको बताइन्। यसबारे आद्योपान्त अनुसन्धान हुने उनको भनाइ छ।
उनीहरुले फिफासँग यो निर्णयपछाडिका महत्त्वपूर्ण आन्तरिक कागजातहरु मागेका छन्।
टिकटको मूल्य मात्र नभई टिकट काटिसकेका फ्यानहरुलाई दिने सिटबारे पनि फिफाले ढाँटेको आरोप लागेको छ। अगाडिका सिटहरुको मूल्य असाधारण रुपमा बढाएको फिफामाथि आरोप छ।
फिफाले १०४ मध्ये ९० खेलको टिकट मूल्य औसत ३४ प्रतिशतले बढाएको आरोप छ। फिफाले भने यसबारे टिप्पणी नगरेको बीबीसीले जनाएको छ। फिफाले आउनलागेको विश्वकमा ६० अमेरिकी डलरदेखि १० हजार अमेरिकी डलरसम्म टिकटको मूल्य राखेको छ।
Shares

प्रतिक्रिया