खेल


विश्वकप छनौट: मलेसियामा नेपालको अन्तिम तयारी सुरु

विश्वकप छनौट: मलेसियामा नेपालको अन्तिम तयारी सुरु

नेपालखबर
असार २५, २०७६ बुधबार ७:४७,

सन् २०२० मा हुने टि–२० विश्वकप अन्तर्गत एसिया छनौटको अन्तिम तयारी नेपालले बुधबार देखि मलेसियामा सुरु गरेको छ।

मंगलबार रातिमात्रै मलेसिया पुगेको नेपाली टोलीले बुधबार बिहानदेखि तयारी थालेको हो। नेपाली टोलीले किनरारा ओभल मैदानमा बुधबार बिहान झण्डै चार घण्टा अभ्यास गरेको हो। नेपाली टोलीले नेटमा ब्याटिङ र फिल्डिङ गरेको थियो।

यो पनि: यसपटक अझै राम्रो प्रदर्शनका साथ आउनेछौंः पारस खड्का(अन्तर्वार्ता)

मलेसियामा दश दिन अभ्यास गर्ने नेपाली टोलीको कार्यक्रम छ। सो क्रममा असार २८ र २९ गते नेपालले मलेसियाको राष्ट्रिय टोलीसँग दुईवटा मैत्रीपूर्ण टि–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ।

कप्तान पारस खड्का मलेसियासँग सिंगापुरको कन्डिसन मिल्ने भएकाले त्यहाँको अभ्यासले सहयोग पुर्याउँने बताउँछन्।

‘हामीले विभिन्न देशहरुसँग पहल गरेका थियौं। तर, उनीहरुको कार्यतालिका नमिल्दा मलेसियासँग खेल्न लागेका हौं,’ पारसले मलेसिया प्रस्थान गर्नुअघि भने, ‘सिंगापुर र मलेसियाको कन्डिशन मिल्ने भएकाले मलेसियाको बोर्डसँग प्रस्ताव राख्दा उहाँहरुले स्वीकार गर्नुभयो। मलेसिया त्यति कमजोर टिम पनि हैन्। विभिन्न मुमेन्ट्समा हामीलाई कडा प्रतिस्पर्धा दिएको छ।’

नेपाल साउन ३ गते विश्वकपको एसिया छनौट खेल्न आयोजना स्थल सिंगापुर प्रस्थान गर्नेछ।

एसिया छनौटमा नेपालसहित आयोजक सिंगापुर, कुवेत, कतार र मलेसिया गरी ६ टोलीले सहभागिता जनाउँदैछन्।

यो पनि: नेपाल फेरि विश्वकप खेल्न कस्सियो

पारसले यस प्रतियोगितामा आफ्नो उत्कृष्ट–११ ले मौका पाउँने बताए। ‘एउटामात्रै टिम छनौट हुने भएकाले हामीलाई गल्ती गर्ने एक प्रतिशत पनि ठाउँ छैन्। टिमका रुपमा हामी सबैभन्दा माथिल्लो वरियतामा छौं। तर, हामी सजिलो रुपमा लिने छैनौं,’ पारसले भने, ‘प्रतियोगितामा हामी आफ्नो वेस्ट इल्यावेन नै उतार्छौ। टि–२० फम्र्याट भएकाले जे पनि हुनसक्छ। हामी कुनैपनि टिम र खेलाडीलाई सजिलो गरी लिएका छैनौं।’

एसिया छनौटमा नेपालको खेल तालिका
साउन ७– नेपाल भर्सेस कतार
साउन ८– नेपाल भर्सेस मलेसिया
साउन ११– नेपाल भर्सेस कुवेत
साउन १२– नेपाल भर्सेस सिंगापुर

टि–२० प्रतियोगितामा राउण्ड रोबिन आधारमा सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्षमा रहने एउटा टोली ग्लोबल छनौटमा पुग्ने छ।

असोजमा यूएईमा हुने ग्लोबलमा नेपालसहित १४ राष्ट्रले सहभागिता जनाउँनेछन्। त्यसमध्ये ६ राष्ट्रले विश्वकप खेल्न पाउँनेछन्।

ग्लोबल छनौट खेल्ने स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड्स, हङकङ, ओमान, आयरल्याण्ड्स, यूएई, पपुवा न्यूगिनी, केन्या, नामिबिया र जर्सी गरी ११ टोलीको टुंगो लागिसकेको छ। त्यसमा नेपाल खेल्ने एसिया छनौटबाट एक टोली र अमेरिका छनौटबाट दुई टोली थपिनेछन्।

नेपाली टोली
कप्तान पारस खड्का, अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदीप ऐरी, पवन सर्राफ, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .