खेल


पेस बलिङ र पावर हिटिङ: नन्दन र शेर मल्लको आगमनले नेपाललाई कस्तो फाइदा?

पेस बलिङ र पावर हिटिङ: नन्दन र शेर मल्लको आगमनले नेपाललाई कस्तो फाइदा?

लक्ष्मी जि.सी
माघ २१, २०८२ बुधबार ७:३८, काठमाडौँ

भारत र श्रीलंकामा हुने आइसीसी टी–२० विश्वकप आउन अब एक साताभन्दा कम समय बाँकी छ। विश्वकपको मिति नजिकिँदै गर्दा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो तयारी पनि तीव्र पारेको छ। 

श्रीलंकामा अभ्यास गरेर नेपाली राष्ट्रिय क्रिकेट टोली मुम्बई पुगेको छ। त्यहाँ पनि तयारी धमाधम भइरहेको छ। मुम्बईमा अभ्यासपछि अब नेपाली टोली औपचारिक दुई अभ्यास खेल्न चेन्नई पुगेको छ। जसमा युएईसँग मंगलबार नेपालले पहिलो अभ्यास खेल खेलेको छ। खेलमा नेपाल ७ विकेटले विजयी भयाे। अब क्यानडासँग अर्को अभ्यास खेल खेलेपछि नेपाली टोली विश्वकपका लागि पुनः मुम्बई पुग्नेछ। 

नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो। यसपटक नेपालका पाँच खेलाडीले पहिलोचोटि विश्वकप खेल्दै छन्। नेपाली टोलीका आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव पहिलो पटक विश्वकप खेल्न लागेका हुन्।

नन्दन यादव
नेपालले पहिलो पटक सन् २०१४ मा विश्वकप खेल्दा नन्दन यादवले आफूले पनि एकदिन विश्वकप खेल्ने सपना देखेका थिए। त्यसको १२ वर्षपछि नेपालले तेस्रो पटक विश्वकप खेल्दा नन्दन पनि विश्वकप खेल्ने टोलीमा परेका छन्। आफ्नो भाइले स्टोरीमा मेन्सन गरेपछि नन्दनले आफू विश्वकप खेल्ने टोलीमा परेको थाहा पाएका थिए।  

पेस बलर नन्दन यादव टी–२० खेल्ने टोलीमा पहिलो पटक परेका छन्। सन् २०२५ को अप्रिलमा हङकङमा भएको चार देशीय शृंखलामा कतारविरुद्ध खेल्दै नन्दनले टी–२० क्रिकेटमा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। टी–२० आईमा नन्दनले १२ खेलमा १५ विकेट लिएका थिए।
सन् २०२५ कै जुनमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै ओडीआईमा डेब्युको मौका पाएका थिए। ओडीआईको तीन खेलमा ५ विकेट आफ्नो नाममा गरेका छन्। तल्लो क्रममा ब्याटिङ गर्ने नन्दनले ६ इनिङ्समा ६८ र ओडीआईको ३ इनिङ्समा १२ रन बनाएका छन्।

शेर मल्ल
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेपछि शेर मल्लले पहिलो पटक विश्वकपमा ‘चान्स’ पाएका हुन्।

एनपीएलको पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनी लायन्सबाट उपाधि उचालेका शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपका लागि छनोट हुन सफल भएका हुन्। एनपीएलको १० खेलमा १७ विकेट लिएका शेरको इकोनोमी रेट ६.५० रहेको थियो। 

नेपालको उमेर समूह र घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेका शेर पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका हुन्।

बसिर अहमद
सन् २०२२ को अगस्टमा केन्याविरुद्ध खेल्दै बसिर अहमदले नेपालको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। अलराउण्डर बसिर बलिङ र ब्याटिङ दुवैमा आफूलाई प्रमाणित गरिसकेका छन्। 

सन् २०२४ को विश्वकप खेल्ने टोलीमा नअटाएका बसिर २०२६ को विश्वकप खेल्ने टोलीमा छन्। २२ वर्षीय बसिरले ७ टी–२० आई खेलमा २ विकेट लिएका छन् भने एक अर्धशतक सहयोगमा १ सय २३ रन बनाएका छन्। 

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै बसिर विश्वकप खेल्ने टोलीमा परेका हुन्।

आरिफ शेख
झण्डै ११ वर्षदेखि नेपालको राष्ट्रिय टोलीबाट खेल्दै आए पनि आरिफ शेखले पहिलो पटक विश्वकप खेल्ने टोलीमा स्थान बनाएका हुन्। 

श्रीलंका र मुम्बईमा गरेको अभ्यासले विश्वकपमा सहयोग पुग्नेमा आरिफ विश्वस्त छन्। अघिल्लो विश्वकप खेलेको टोलीबाट अधिकांश खेलाडी भएका कारण सुपर ८ मा पुग्ने लक्ष्यमा आफूहरु रहेको आरिफ बताउँछन्। 

सन् २०१८ मा लड्र्समा नेदरल्यान्डविरुद्धको खेलबाट आरिफले नेपालको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। ब्याटिङ र मिडियम पेस बलिङमा क्षमता राख्ने आरिफ विश्वकप खेल्ने टोलीमा पहिलो पटक परेका हुन्। 

आरिफले टी–२० आईमा ३९ को उच्च स्कोरसहित ५५३ रन बनाएका छन्। बलिङतर्फ ४ विकेट आफ्नो नाममा गरेका छन्।

लोकेश बम
२५ वर्षीय लोकेश बमले पहिलो पटक टी–२० विश्वकप खेल्दै छन्। नेपाली टोलीको दोस्रो रोजाइका विकेट किपर समेत रहेका लोकेश दायाँ हाते ब्याटर हुन्।

सन् २०२२ मा ओमानमा युएईविरुद्ध खेल्दै लोकेशले टी–२० आईमार्फत नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। लोकेशले १८ टी–२० आई खेलमा १६० रन बनाएका छन्। तल्लो क्रममा ब्याटिङ गर्ने लोकेश विशेष क्षमता राख्छन्। 

आईसीसी टी–२० विश्वकप २०२६ खेल्ने टोली
आरिफ शेख, आशिफ शेख, दीपेन्द्र सिंह ऐरी, बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, लोकेश बम, रोहित पौडेल, गुल्सन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, ललित राजवंशी र नन्दन यादव
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad