खेल


अनिल साहले किन छोडे कप्तानी?

अनिल साहले किन छोडे कप्तानी?

अनिल साह। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १६:३७, काठमाडौँ

जनकपुर बोल्टसका नियमित कप्तान अनिल साह मंगलबार चितवन राइनोजविरुद्धको खेलमा कप्तानका रुपमा देखिएनन्। उनी मदानमै भए पनि कप्तानको जिम्मेवारीमा भने वायन पार्नेलले थिए। 

यसअघि मंसिर १३ गते सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा त अनिलले खेल्न पाएनन्। उनी बेन्चमा बसे भने वायनले नै कप्तानी गरेका थिए। 
बेच्नमा हुँदा त नयाँ कप्तानले नेतृत्व गर्नु स्वाभाविकै हो। तर, मैदानमा हुँदा पनि किन कप्तान बनाइएन? 

जनकपुरको टोली ब्यवस्थापनको निर्णय अनुसार नै आफूले कप्तानी छोडेको अनिलले बताएका छन्। ‘मलाई पनि ब्रेक चाहिएको थियो। राम्रो भइरहेको थिएन, मलाई पनि कप्तान छोडेर एउटा खेलाडी भएर खेल्न मन थियो,’ अनिलले भने, ‘कप्तान फेर्ने निर्णय टिम व्यवस्थापनकै थियो।’

मंगलबार अनिलको अर्धशतकमा जनकपुरले पाँचौ खेलमा पहिलो जित निकालेको छ। खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अनिलले कप्तानीबाट ‘ब्रेक’ लिँदा सजिलो पनि भएको बताए। ‘ब्याटिङ गर्दा सक्दो खेल्न खोज्छु। क्याप्टनभन्दा अघि म एउटा ब्याटर हुँ। रनका लागि कोसिस गरिरहेको थिएँ। रन बनिरहेको थिएन,’ उनले भने, ‘प्रेसर पनि थियो। रन नबन्दा कतै न कतै प्रेसर त हुन्छ नै।’

आजको रन बनाउन सक्दा आत्मबल बढेको उनको भनाइ थियो। ‘रन नबनेको वेला सर्ट खेल्न पनि गाह्रो हुन्छ, दिमागमा आउट भइहाल्छु भन्ने आउँछ। रन लागिरहेको बेला आउटको कुरा दिमागमा आउँदैन। कसरी रन आउँछ भनेर सोचिन्छ,’ अनिलले भने।

मानसिक रुपमा तयार हुँदा शरीरले पनि साथ दिने गरेको उनको भनाइ थियो। लगातार प्रदर्शन राम्रो नहुँदा दबाब परेको भए पनि आज त्यसबाट बाहिरि निस्केको उनले सुनाए। ‘मानसिक रुपमा तयार हुनुपर्छ, बलियो हुनुपर्छ, अनि शरीरले काम गरिहाल्छ,’ उनले भने। 

अन्तिम चार पुग्ने सम्भावनाका विषयमा सोधिएको प्रश्नमा उनले बाँकी दुई खेलमा केन्द्रित हुने प्रतिक्रिया दिए। ‘पहिला त खाता खोल्नु थियो, आफ्नो र टिमको। आज खाता खुलेको छ। अब दुइटा खेल बाँकी छ, त्यसमै केन्द्रित हुन्छु,’ उनले भने, ‘त्यो जितेपछि हेरौला कहाँ पुगिन्छ।’ 

आजको खेलमा यसअघिको खेलमा जस्तो दर्शक थिएन। त्यस विषयमा लिएर सोधिएको प्रश्नमा पनि उनले आफ्नो टिम प्रदर्शन राम्रो नहुँदा दर्शक पनि निरास हुनु स्वाभाविक भएको बताए। ‘हाम्रो प्रदर्शन राम्रो भएन। त्यही भएर आज दर्शक मैदानमा आएनन्,’ अनिलले भने, ‘मलाई विश्वास छ, अब अर्को खेलदेखि फेरि दर्शक आउनुहुन्छ होला।’

यो पनि पढ्नुहोस् : च्याम्पियन जनकपुरको पहिलो जित, चितवन फेरि पराजित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad