हरमित सिंहको विष्फोटक ब्याटिङमा सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौ गोर्खाजसामु एक सय ४८ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४७ रन बनाएको हो।
सातौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरी र हरमित सिंहले २५ बलमा ६१ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले औसत स्कोर बनाएको हो। हरमितले १९ बलमा अर्धशतक बनाए। २० बलमा दुई चौका ६ छक्का सहयोगमा ५३ रन बनाएका हरमित सन्नी पटेलको बलमा साहब आलमको हातबाट क्याच आउट हुन पुगे।
दीपेन्द्र ३९ रन बनाउँदा रसिद खानको बलमा आदिल आलमको हातबाट क्याच आउट भए। उनले ३० बलमा तीन चौका र एक छक्का हाने।
त्यसअघि दशौँ ओभरको अन्तिम बलमा दीपेन्द्रले जीवनदान पाएका थिए। १२ रन बनाउँदा उनले प्रहार गरेको बल समात्न खोज्दा रसिद खान र साहब आलम एक–आपसमा ठोक्किँदा क्याच छुटेको थियो।
सुदूरपश्चिम एक समय ६ ओभरमा चार विकेट गुमाएर २७ रनको स्थितिमा थियो। काठमाडौका कप्तान करण केसीले पहिलो ओभरमा नै दुई विकेट लिएपछि सुदूरपश्चिम दबाबमा आएको थियो। करणले सुरुवाती दुई ओभरमा दुई रन खर्चेर तीन विकेट लिए।
आरिफ शेख २५ रन बनाउँदा रसिद खानको बलमा एलबीडब्लु धरापमा परे। सुदूरपश्चिमका ओपनर जस ब्राउन र विनोद भण्डारी शून्यमा आउट भए। क्रिस लिन दुई रन बनाउँदा करण केसी कै बलमा मिलिन्द कुमारको हातबाट क्याच आउट हुन पुगे।
इशान पाण्डे ११ रन बनाउँदा मिलिन्द कुमारको बलमा मोहम्मद आदिल आलमको हातबाट क्याच आउट भए। नरेन साउद ६ रन बनाउँदा मिलिन्द कुमारको बलमा भीम सार्कीको हातबाट क्याच आउट भएका थिए।
स्कट कुग्लेजिन एक रन बनाउँदा सन्नी पटेलको बलमा बोल्ड आउट भए। इनिङ्सको अन्तिम बलमा अविनास बोहरा एक रनमा बोल्ड आउट भए। हेमन्त धामी तीन रनमा अविजित रहे।
काठमाडौँका लागि करण केसीले चार विकेट लिए। मिलिन्द कुमार, रसिद खान र सन्नी पटेलले दुई–दुई विकेट आफ्नो नाममा गरे।
Shares

प्रतिक्रिया