नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टिम चितवन राइनोजले आयोजना गरेको ‘चितवन राइनोज ट्यालेन्ट हन्ट २०२५’ सम्पन्न भएको छ।
ट्यालेन्ट हन्ट कार्यक्रम हेटौँडा, टाँडी र भरतपुरमा सम्पन्न भई अन्तिम छनोट गौतम बुद्ध रंगशालास्थित नमूना क्रिकेट मैदानमा गरिएको थियो।
यस ट्यालेन्ट हन्टले नेपालको विभिन्न स्थानबाट उदाउँदो प्रतिभालाई पहिचान र प्रोत्साहन गर्ने उद्देश्य बोकेको आयोजकले जनाएका छन्।
चितवन राइनोजले यसलाई घरेलु क्रिकेट विकास र भविष्यका स्टार खेलाडी तयार पार्ने दीर्घकालीन योजनाको हिस्साका रूपमा लिएको बताएको छ।
कोचिङ र छनोट समितिको विस्तृत मूल्यांकनपछि निम्न तीन खेलाडीहरूलाई एनपीएल सिजन–२ का लागि चयन गरिएको छः
सौगात ढकाल (राइट–आर्म लेग स्पिनर) – आइकोनिक प्लेयर (ट्यालेन्ट हन्ट विजेता)
सक्रिय कार्की (राइट–आर्म फास्ट बलर) – डेभलपमेन्ट स्क्वाड
नरेश प्रधान (लेफ्ट–आर्म फास्ट बलर) – डेभलपमेन्ट स्क्वाड
चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले भने, ‘ट्यालेन्ट हन्ट कार्यक्रमले फेरि प्रमाणित गरेको छ कि नेपालमा क्रिकेट खेलप्रति असाधारण क्षमता र रुचि छ। हामी यस्ता खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्ने अवसर दिलाउने लक्ष्यका साथ अघि बढिरहेका छौँ।’
चितवन राइनोजले देशभरका युवालाई खेलमार्फत सशक्त बनाउने र जरा–स्तरदेखि क्रिकेटको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।
Shares

प्रतिक्रिया