खेल


गाउँ–गाउँमा क्रिकेट क्रेजः बारीको पाटाबाटै सुरु भयो प्रतियोगिता

गाउँ–गाउँमा क्रिकेट क्रेजः बारीको पाटाबाटै सुरु भयो प्रतियोगिता

दिनेश बुढा
कात्तिक २, २०८२ आइतबार १६:४३, सुर्खेत

क्रिकेट खेल प्रतियोगीताको क्रेज पछिल्लो समयमा गाउँ–गाउँमा पुगेको छ। दैलेखको ठाँटीकाँध गाउँपालिका–६ पाँचलामा लेकबेसी स्पोर्ट क्लबले आयोजनामा खेलकुद प्रतियोगीता जारी छ। भर्खरै मकै बाली पाकेर खाली भएको पाखो बारीमा खेलको आयोजना गरिएको छ। हिउँदे खेती गहुँ छर्नलाई तयार पारिएका पाखो जग्गाको एउटा ठूलो र बीच गह्रामा क्रिकेट प्रतियोगीताको आयोजना गरिएको हो। 

पाँचलामा लेकबेसी स्र्पोट क्लबले आयोजना गरेको लेकबेशी प्रीमियर क्रीकेट लिगको सुशारम्भ कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले गरे। मन्त्री भण्डारीले प्रतियोगीताको सुशारम्भ गर्दै स्थानीय स्तरमा सञ्चालन हुने यस्ता खेलकुदले प्रतिभा प्रष्फुटनमा योगदान पुर्‍याउँने भन्दै सफलताको शुभकामना व्यक्त गरे।

 

असोज ३० गतेदेखि सुरु भएको प्रतियोगिता कात्तिक ४ गतेसमम्म सञ्चालन हुने छ। 

बारीको पाटामा क्रिकेट प्रतियोगिता गर्नुपर्ने बाध्यतसँगै उत्तिकै पीडा पनि हुने गरेको स्थानीय समाजसेवी युवा जीवन रोकाय बताउँछन्।

‘पालिकामा युवा पुस्ताको रुचि खेलकुदतर्फ दिनप्रतिदिन बढ्दो छ। तर, आवश्यक सामाग्रीहरू र खेलमैदान छैन्। खेल मैदान नहुँदा यस पेशामा रुचि राख्ने बालबालिका, विद्यार्थी आफ्नो क्षमता देखाउने ठाउँ पाएका छैनन्’ रोकायाले भने। 

रोकायले खेल केवल मनोरञ्जन मात्रै नभएर स्वास्थ्य, अनुशासन र आपसी सम्बन्ध जोड्ने माध्यम भएको बताए।

उनले भने, ‘दुःखको कुरा, हाम्रा युवाहरू बारीको पाटोमा, विद्यालयको आँगन वा सडक छेउमा फुटबल, क्रिकेट र भलिबल जस्ता खेलहरु खेल्न बाध्य छन्। जसले दुर्घटनाको जोखिम पनि बढाएको छ।’

यस्तै, उनले खेलकुद प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्थापन गरिदिनका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग आग्रह गरे।

उनले भने, ‘अब समय आएको छ। गाउँ–गाउँबाट ‘युवाको ऊर्जा, खेलमैदानको जरुरत’ भन्ने नारा बोकेर कदम चाल्ने। खेलमैदान मात्र संरचना होइन, यो भविष्य निर्माण गर्ने जग पनि हो। त्यसैले खेलकुद सम्बन्धि सबै मिलेर केही हातेमालो गरौं।’

यस्तै, कर्णालीका विभिन्न जिल्लाहरुमा भलिबल र फुटबलको आयोजना हुने गरेकोमा पछिल्लो समय क्रिकेटको क्रेज गाउँ–गाउँमा पुगेको छ। अध्ययन तथा रोजगारीका लागि सहर छिरेका युवाहरु चाडवर्पको समयमा गाउँ फर्किएका छन्। हिन्दु नेपालीहरुको महान चार्ड विजयदशमी तथा शुभदीपावलीको अवसरमा गाउँ फर्किएका युवाहरु मिलेर स्थानीय युवा क्लबहरुको योजनामा क्रिकेट प्रतियोगिता आयोजनाहरु भइरहेका छन्। 

दैलेखको ठाँटीकाँध गाउँपालिकामा मात्रै दसैँ–तिहारको समयमा स्थानीय युवा क्लबहरुले फरक–फरक स्थानमा गरेका क्रिकेट प्रतियोगीताको आयोजना सम्पन्न भएको छन्। एक हप्ता अगाडी ठाँटीकाँध गाउँपालिका–४ को गैरागाउँमा क्रियटिभ युवा क्लबको आयोजनामा प्रथम गैरागाउँ प्रिमियर लिग, वडा नम्बर ६ मा धौलापडा स्पोर्टस् क्बलको अयोजनामा धौलापडा प्रिमियर लिग–२०८२ सम्पन्न भइसकेका छन्।

यस्तै, यहीँ समयमा कर्णालीका स्थानीय तहहरुले पनि क्रिकेट प्रतियोगीताका आयोजना गरिरहेका छन्। कालिकोटको रास्कोट नगरपालिका, सुर्खेतको चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिकामा लगायतका स्थानीय तहरुमा पालिका, वडा, गाउँ तथा टोलस्तरीय प्रतियोगीता भइरहेका छन् भने केही ठाउँमा सम्पन्न भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad