एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को दोस्रो संस्करणका लागि मधेस युनाइटेडमा अनुबन्ध भएका नेदरल्यान्ड्सका खेलाडीहरू नेपाल आइपुगेका छन्।
नेदरल्यान्ड्सकी डानिक आर्डेमा, कर्टेन वेसेल्स र रोमी भिनस्ट्रा आइतबार नेपाल आइपुगेका हुन्।
सेटर आर्डेमाले आफ्नो करियरमा नेदरल्यान्ड्स, स्पेन र जर्मनीका विविध क्लबहरूमा खेलेर अनुभव समेटेकी छन्। पछिल्लो समय उनी नेदरल्यान्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्। सन् २०२४ मा उनले नेदरल्यान्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल पनि भइन्।
स्पाइकर वेसेल्सको हाल सुडोसा डेस्टो क्लबमा खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्। वेसेल्सले नेदरल्यान्ड्सको यू–१९ र यू–२० राष्ट्रिय टोलीका लागि युरोपियन तथा विश्व च्याम्पियनसिपमा प्रतिनिधित्व गरिसकेकी छिन्।
आउट साइट हिटर भिनस्ट्रा सन् २०२१ र २०२२ सिजनदेखि नेदरल्यान्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्। उनी टोलीको आक्रमण र रक्षा दुवै क्षेत्रमा भरोसायोग्य खेलाडी मानिन्छिन्। सन् २०२४ मा उनले सुडोसा–डेस्टोका लागि नेदरल्यान्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल भइन्।
खेलाडीहरूलाई मधेस युनाइटेडका मालिक शर्मिला थापा, सीईओ खुशी सिवाकोटी, मुख्य प्रशिक्षक कोपिला उप्रेती र टिम म्यानेजर निजन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
मधेस युनाइटेडको मार्की खेलाडीमा निरुता ठगुन्ना रहेकी छिन्।
इन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदैछ।
Shares

प्रतिक्रिया