राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय पुरुष-महिला खो खो टोलीलाई पुरस्कृत भएको छ।
खो खो को महिला र पुरुषतर्फका दुवै टोलीले भारतमा भएको प्रथम खो खो विश्व कप तथा नेपाल र भारतबीच भएको टेस्ट म्याचमा रजत जितेका थिए।
खो खो टिम सिनियरतर्फ पुरस्कृत भएको हो। पुरुष-महिला सिनियर टोलीलाई समान १ लाख रुपैयाँसहित सम्मानित भएको हो।
राखेपले वार्षिकोत्सवको अवसरमा खो खो टिमसंगै जुनियरमा २ र पारामा १ खेलाडी, १० कर्मचारी, १ राष्ट्रिय खेल संघ, १ प्रायोजक, २ पत्रकार र १ स्थानिय तहलाई सम्मानित गरेको हो।
जुनियरको पुरुषमा बक्सिङका अर्पिल राना तथा महिलामा क्रिकेटकी पूजा महतो जनही ५० हजार नगदसहित पुरस्कृत भए।
अर्पिलले थाइल्यान्डमा भएको एसियाली यु–२२ युथ बक्सिङ तथा श्रीलंकामा भएको एसियाली बक्सिङ यु–१९ मा कांस्य पदक जितेका थिए।
पूजाले विश्वकप एसियाली छनोटमा २ सय ७२ रन बनाउनुका साथै १० विकेट लिएकी थिइा्। सोही छनोटमा ‘प्लेयर अफ द सिरिज’ हुन सफल भएकी थिइन्।
पूजा नेपाल र मलेसियाबीचको यु–१९ टी– २० विश्वकपमा ‘प्लेयर अफ द म्याच’ बनेकी थिइन्।
पारातर्फ तेक्वान्दोकी पलेशा गोवर्धन ५० हजार नगदसहित सम्मानित भइन्। पलेशाले पेरिस पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक तथा मलेसियामा भएको १० औं एसियाली पारा तेक्वान्दोमा कांस्य पदक जितेकी थिइन्।
उत्कृष्ट राष्ट्रिय खेल संघमा नेपाल क्रिकेट संघ (क्यान) १ लाख नगदसहित पुरस्कृत भएको छ। उत्कृष्ट प्रायोजकमा नेपालय इन्टरनेसनल प्रालि र उत्कृष्ट स्थानिय तहमा बागमती गाउँपालिका, मकवानपुरलाई पुरस्कृत भएको छ।
उत्कृष्ट खेल पत्रकारको पुरुषमा खेलाडी डट कमका अञ्जन खड्का र महिलामा मेरो खेल डट कमकी लक्ष्मी शाक्य जनही २० हजारसहित सम्मान भए।

कर्मचारीतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट परिषद्को सचिवालयका नायब वरिष्ठ प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेल (प्रशासन) तथा दाङ जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक भीमलाल विक (प्रशिक्षण) पुरस्कृत भए।
दुवैले जनही २५ हजार नगद पुरस्कार पाए। उत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा संघ संस्था समन्वय शाखाकी नायब वरिष्ठ प्रशासकीय अधिकृत प्रभा कर्माचार्य र प्रशिक्षणमा ललितपुर जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक तुल्सीनन्द बज्राचार्य जनही १५ हजार नगदसहित सम्मानित भए।
परिषद् सेवा पुरस्कारको प्रशासनमा ललितपुर जिल्ला खेलकुद विकास समितिका प्रशासकीय अधिकृत बाबुकाजी श्रेष्ठ र प्रशिक्षणमा तालिम तथा प्रशिक्षण विभागकी नायब वरिष्ठ एथलेटिक्स प्रशिक्षक उषाकर्ण चौधरी सम्मानित भए ।
करार सेवा पुरस्कारको प्रशिक्षणमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका सहायक कराते प्रशिक्षकद्वय संघरत्न महर्जन र कुशल श्रेष्ठ तथा प्रशासनमा राष्ट्रिय टिम तयारीकी सहायक द्वितीय दीपिका केसी र प्रशासन विभागका कार्यालय सहयोगी दुर्गा थापा पुरस्कृत भए।
परिषद् र करार सेवाका पुरस्कृतले जनही १० हजार रुपैयाँ प्राप्त गरे।
Shares

प्रतिक्रिया