इङ्ल्यान्डका कप्तान ह्यारी केनको ह्याट्रिक सहयोगमा साविक विजेता बायर्न म्युनिखले बुन्डेस लिगाको नयाँ सिजनमा सानदार सुरुवात गरेको छ।
शुक्रबार राति एलिएन्ज एरिनामा भएको सिजनको पहिलो खेलमा बायर्नले आरबी लाइपजिगमाथि ६–० को फराकिलो जित दर्ता गरेको हो।
खेलको पहिलो हाफमा ३–० ले अग्रता बनाएको बायर्नले दोस्रो हाफमा थप ३ गोल गर्यो।
घरेलु मैदानमा भएको खेलमा माइकल ओलिसले पहिलो हाफको २७ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटपछि लुइस डियाजको गोलमा बायर्नले अग्रता दोब्बर पार्यो।
पहिलो हाफको ४२ औँ मिनेटमा डियाजले व्यक्तीगत दोस्रो गोल गर्दै बायर्नलाई ३–० को अग्रता दिलाए। डियाजको दुबैको गोलमा सर्ज ग्राबीले पास उपलब्ध गराएका थिए।
खेलको ६४ को मिनेटमा ह्यारी केनको गोलमा बायर्नले पाहुना टोलीविरुद्ध ४–० को अग्रता बनायो।
केनले खेलको ७४ र ७७ मिनेटमा गोल गर्दै बायर्नका लागि सिजनको पहिलो ह्याट्रिक पूरा गर्दा टोलीले ६–० को फराकिलो जित दर्ता गरेको हो।
जितसँगै बायर्न ३ अंकमा तालिकाको शीर्ष स्थानमा छ।
Shares

प्रतिक्रिया