खेल


महिला कबड्डी विश्वकपमा पदक जितेर फर्कन्छौँः कप्तान मानमति बिष्ट

महिला कबड्डी विश्वकपमा पदक जितेर फर्कन्छौँः कप्तान मानमति बिष्ट

नेपालखबर
साउन २, २०८२ शुक्रबार १७:५३, काठमाडौँ

नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मानमती बिष्टले दोस्रो महिला कबड्डी विश्वकपमा तल जितेर फर्कने बताएकी छिन्। 

आगामी अगष्ट ३ देखि १० तारिखसम्म भारतको  हरियाणास्थित मोरमाजरामा महिला अब विश्वकपको दोस्रो संस्करण हुँदै छ। यसै विश्वकपमा पदक जितेर फर्कने नेपाली महिला कबड्डी टोलीकी कप्तान मानमतीले बताएकी हुन्। 

उनले जुनियर र सिनियर खेलाडी दुवै टोलीमा बाहुल्यता रहेको र टोली पनि राम्रो बनेकाले आगामी विश्वकपमा राम्रो प्रदर्शन हुने आशा व्यक्त गरेकी छन्।  यसका लागि नेपालले पछिल्लो आठ महिनादेखि तयारी गरिरहेको उनको भनाइ छ। यसबीच मिसन–२०२६ को पनि तयारीमा रहेकाले टोली लयमा रहेको कप्तान मानमतीको विश्वास छ। 

एहियाका कुल ४७ राष्ट्रमध्येबाट विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै १३ वर्षपछि हुन लागेको महिला विश्वकपमा सहभागी हुन लागेको हो।  यस विश्वकपमा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, नेदरल्यान्ड्स, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्याण्ड गरी कुल १३ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। 

यसमध्ये सबैभन्दा बलियो भारत रहेको कप्तान मानमतिको भनाइ छ।  पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र घरेलु प्रतियोगिता पनि भएकाले टोलीका सबै खेलाडीहरू राम्रो लयमा रहेको उनी बताउँछिन्। स्वर्णको दाबेदारीसहित विश्वकपमा होमिने उनको लक्ष्य छ।  कम्तिमा रजत पदक जितेर फर्कने उनको विश्वास छ। 

नेपाली टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले आठ महिनाको बन्द प्रशिक्षणले तयारी राम्रो भएको उल्लेख गर्दै पदक जित्नेमा आशावादी रहेको बताए। विश्वकपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको हरियाणा जाने भएको छ। यो टोलीमा १४ खेलाडीसहित १८ सदस्यीय रहेको छ।

मानमती बिष्टको कप्तानीमा रहेको नेपाली टोलीमा जयन्ती बडु (उप–कप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मीना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन्।

प्रशिक्षकमा विष्णुदत्त भट्ट र सहायक प्रशिक्षकमा हरिना थापा छन्। टोलीको व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले शुक्रबार एक कार्यक्रमबीच नेपाली टोलीलाई बिदाई गरेका थिए।

सो अवसरमा सदस्यसचिव घिसिङले महिला खेलाडीको ग्राफ उकालो लाग्दै गएको उल्लेख गर्दै एसियाली प्रतियोगितामा पनि पदक जित्दै महिला कबड्डी टोली दक्षिण एसियामा मात्र सीमित छ भन्ने भ्रमलाई चिर्न सफल भएको बताए।

निर्देशक विष्टले देशका लागि केही गर्छु भन्ने भावनाका साथ प्रतिस्पर्धा गर्न बताउदै पदक जितेर आउन शुभकामना दिए। 

यो विश्वकपअघि नेपाली टोलीले मोरमाजरामै १२ दिनको अवधिमा प्रशिक्षणका साथै स्थानीय पाँच क्लबसँग अभ्यास खेल पनि खेल्नेछ। यो विश्वकपको पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा भएको थियो। विश्वकपको दोस्रो संस्करण १३ वर्षपछि हुन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad