आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डमा सम्पन्न त्रिकोणात्मक सिरिज नेपाली टोलीका लागि निकै उत्साहजनक रह्यो। स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित यस सिरिजमा नेपालले खेलेका चारमध्ये तीन खेलमा सानदार जित हासिल गर्यो।
एनपीएलको पहिलो संस्करणमा कमजोर प्रदर्शन गरेका कुशल भुर्तेल पनि उच्च लयमा देखिए। जबकि सन् २०२४ लागि उनका लागि त्यति उल्लेख्य हुन सकेको थिएन। त्यसैले यतिखेर धेरैले भनिरहेका छन्– कुशल भुर्तेल लयमा फर्किए। यथार्थ त्यस्तै हो त?
नेपाली राष्ट्रिय क्रिकेटका टिमका ओपनर ब्याटर भुर्तेल क्रिकेटमा कहिलेकाहीँ जति कोसिस गर्दा पनि नहुने बताउँछन्।
‘कहिलेकाहीँ अब गर्छु नै भनेर जति कोसिस गरे नि नहुने रहेछ जस्तो लाग्यो,’ नेपालखबर सो ‘लेट्स टक’मा गफिन आइपुगेका उनले भने, ‘गेम हो। कहिलेकाहीँ लक पनि चाहिन्छ गेममा। कहिलेकाहीँ फ्लोमा सजिलै रन लागिरहेको हुन्छ। आफूले जे गर्दा पनि त्यो बल ब्याटमा आए जस्तो लाग्छ। कहिलेकाहीँ त बलै आउँदैन जस्तो लाग्छ। जतिबेला रन लागिरहेको हुँदैन, मलाई फिल हुन्छ त्यो क्षण। जतिखेर पर्फर्मेस नभइरहेको हुन्छ, त्यतिखेर बल टाढाटाढा गएको महसुस हुन्छ। जहिले रन लागिरहेको हुन्छ, त्यतिखेर जता खेले पनि त्यति रन लाग्ने जस्तो हुन्छ।’
एनपीएलमा पोखरा एभेन्जर्सका तर्फबाट मार्की प्लेयर तथा कप्तान रहेका भुर्तेलले त्यतिबेला जति प्रयत्न गर्दा पनि राम्रो प्रर्दशन गर्न नसक्दा निराश भएको बताए।
‘जति कोसिस गर्दा नि भइरहेको थिएन त्यतिबेला,’ उनले सम्झिए, ‘सायद त्यो ब्याड डेज थियो। मेरो पर्फर्मेन्स नराम्रो भए पनि टिमले राम्रो गरिरहेको भएको भए मलाई अझै खुसी लाग्थ्यो। टिमले पनि राम्रो गरिरहेको थिएन। त्यसैले अलिकति नराम्रो फिल भइरहेको थियो त्यतिखेर। अलिकति फ्रस्टेसन पनि भयो।’
‘लेट्स टक’को यो एपिसोडमा यसपटक भुर्तेलसँगै नेपाली राष्ट्रिय टोलीका पहिलो ब्याचका खेलाडी किरण राणा पनि आएका छन्, जसले सन् १९९६ र सन् १९९८ मा नेपालका तर्फबाट खेले। अहिले भुर्तेल मार्की प्लेयर रहेको पोखरा एभेन्जर्सको उनी टिम म्यानेजर पनि हुन्। किरणले नेपाली क्रिकेटको सुरुवात देखेका छन्, विश्वकप खेलेका भुर्तेल अहिले नेपाल टेस्ट राष्ट्र बनेको हेर्ने सपना देख्दैछन्। भुर्तेलकै अघि हामीले उनलाई सोध्यौँ– ‘नेपाली क्रिकेट हिजो कहाँ थियो, आज कहाँ छ? नेपालको क्रिकेटमा तपाईंले देखेको सबैभन्दा ठूलो परिवर्तन के हो?’
जवाफमा पूर्व खेलाडी राणाले भने, ‘पहिला र अहिलेमा आकाश–जमिनको फरक भइसक्यो। साथीहरूसँग खेल्दै हुर्किएको हो, कुनै ट्रेनिङ गरेको होइन,’ उनले भने, ‘मोजाको बल हुन्थ्यो, काठको ब्याट हुन्छ, त्यहाँबाट हामीले सुरु गरेको हो। त्यतिबेला अहिलेजस्तो सुविधा थिएन। कीर्तिपुरमा ग्राउन्ड त थियो तर हामीले खेल्न पाएका थिएनौँ। त्यतिबेला नै जय ट्रफी हुन्थ्यो। त्यतिबेला क्लब लेभलमा खेलेर अब्बल हुनेलाई पनि नेसनल टिममा आउन निकै संघर्ष गर्नुपर्थ्यो। खेलाडीहरू त नगन्य मात्रामै थिए। पहिले र अहिलेको तुलना गर्दा हामीले जगमा एउटा इँटा हाल्या थियौँ, या कुनै एउटा फूल वा बिरुवा रोपेका थियौँ, जसले अहिले फल दिन लागेको जस्तो लागिरहेको छ। यहाँसम्म आइपुुग्दा नेपालले विश्वकपदेखि एसियाकपसम्म खेल्यो। भाइहरूको बेला यो प्रगति देख्दा दंग छु।’
राणा खेलाडीहरूको गुड डे र ब्याड डे हुने बताउँछन्। एनपीएलको पहिलो संस्करणमा कुशलको ब्याड डेज चले पनि त्यसपछिका खेल र पछिल्लो स्कटल्यान्ड सिरिजमा उनको प्रस्तुति देख्दा उनी लयमा फर्किएको भन्न सकिने बताउँछन्।
‘मेरो पूर्व खेलाडी हुँदै टिम म्यानेजरसम्मको अनुभवले के भन्छ भने खेलाडीको गुड डे र ब्याडे डे भन्ने हुन्छ नै,’ राणाले भुर्तेलको प्रस्तुतिलाई इंगित गर्दै भने, ‘कुशलको एनपीएलमा अलिकति ब्याड डे थियो, त्यतिबेला ऊ चलेन। चल्न सकेन। ठिकै छ, इट्स पार्ट अफ गेम। तर अहिले एकदम बाउन्स ब्याक भएर आएको छ। स्कटल्यान्डमा जसरी खेलेर आयो, त्यो एकदमै राम्रो थियो। यही कन्फिडेन्स रहनुपर्छ, मैले उसलाई भनिरहेको छु। कुशल वान अफ द बेस्ट प्लेयर नै हो।’
एनपीएलको दोस्रो सिजनका निम्ति पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सातजनालाई रिटेन गरेको छ। पोखरा एभेन्जर्सले आइतबार विज्ञप्ती जारी गर्दै भुर्तेलसहित सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, दिनेश खरेल र तृतराज दासलाई आगामी संस्करणमा पनि निरन्तरता दिने जनाएको हो। भुर्तेल अलराउन्डर हुन् भने ढकाल, चन्द र खत्री बलर हुन्। रिटेन हुने ठगुन्ना, खरेल र दास ब्याट्सम्यान हुन्। भुर्तेल पछिल्लो समयका खेलहरूमा उनीहरूले देखाइरहेको प्रस्तुतिमा रिटेन गरिएको बताए।
‘रिलिज भएका पनि केही साथीहरू अब्बल छन्। उनीहरूलाई अक्सनमार्फत ल्याउन सकिने ठाउँ पनि छ,’ उनले भने।
हामीले भुर्तेल र राणाई दुवैलाई सोध्यौँ– ‘जब हार हुन्छ— मैदानमा र जीवनमा— तपाईं कसरी उठ्नुहुन्छ?’
जवाफमा कुशलले आफू हार भन्दा पनि कडा मेहनतमा ध्यान दिने बताउँछन्।
‘म चाहिँ हारभन्दा कडा मिहेनतमा विश्वास गर्छु,’ उनले भने, ‘कहिलेकाहीँ टिम नराम्रो गरेर हार्छ, कहिले आफ्नै पर्फर्मेन्सले पनि अलिकति डाउन हुन्छ तर मेरो चाहिँ त्यसपछिको गोल र मोटिभेसन भनेको कडा मेहनत नै हो। यदि मेरो पछाडि कडा मेहनत छ भने मलाई त्यस्तो धेरै टेन्सन लाग्दैन। यदि म अल्छी थिएँ भने हार्दा नराम्रो लाग्थ्यो होला। हार्दा अलिकति नराम्रो त लाग्छ नै तर ब्याक अफ द माइन्ड अब म भोलि गएर हार्ड वर्क गर्ने हो, रिजल्ट आउँछ आउँछ भन्ने चाहिँ मलाई हुन्छ।’
भुर्तेललाई समर्थन गर्दै किरणले थपे, ‘जितहार भनेको सिक्काको दुई पाटा हो। जितमा मान्छेले कमी कमजोरी खोज्दैनन्। जित्यो, जित्यो। कसरी जित्यो भन्दैनन्। तर, हारले केही सिकाउँछ भन्ने लाग्छ। जितहार त खेलको ब्युटी नै हो। यसलाई स्वाभाविक मान्नुपर्छ। हारले केही न केही सिकाएरै जान्छ। यो कमजोरी भयो, यो क्याच छुट्यो, यति खेल्दिए, यसो गर्दिए हुन्थ्यो भन्ने हुन्छ। त्यसैले मलाई लाग्छ, जितले भन्दा बढी हारले सिकाउँछ।’
लगत्तै कुशलले थपे– ‘खेलमा हार हुन सक्छ, जीवनमा हार नहोस्। खेलमा हार्यो भने त उठ्न सकिन्छ, जीवनमा हार्यो भने अलिकति गाह्रै हुन्छ।’
हेर्नुहोस्, राष्ट्रिय टोलीको पहिलो ब्याचका खेलाडी किरण राणा र कुशल भुर्तेलसँगको ‘लेट्स टक’ :

प्रतिक्रिया