शुक्रबारदेखि सुरु हुने एन्फा यू-१६ युथ लिगको तयारी पूरा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै भोलिदेखि सुरु हुने एन्फा यू-१६ युथ लिगको तयारी पूरा भएको जानकारी दिएको हो।
डबल राउन्ड रोविनको आधारमा हुने लिगमा १४ वटा ए डिभिजन क्लब सहभागी हुनेछन्। युथ लिगका खेलहरु ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने एन्फाले जनाएको छ। आवश्यकताअनुसार लिगका खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा समेत हुनेछ।
लिग विजेताले १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। लिगको विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई जनही १५ हजार रुपैयाँ दिइनेछ।
फेयर प्ले टिमले १५ हजार रुपैयाँ पाउनेछ। फिफाको ट्यालेन्ट डेभलपमेन्ट स्केम (टिडिएस)अन्तर्गत हुने लिगको तयारी खर्च स्वरुप एन्फाले प्रत्यके क्लबलाई ३ लाख ५० हजार रुपैयाँ दिनेछ। लिगको अनुमानित खर्च १ करोड २ लाख ३६ हजार ३ सय ३० रुपैयाँ रहेको एन्फाले जनाएको छ।
Shares

प्रतिक्रिया