खेल


संसारकै कठिन खेलमध्ये एकमा भाग लिँदै लन्डनवासी सन्तोष राईले स्पेनमा फहराए नेपाली झण्डा

संसारकै कठिन खेलमध्ये एकमा भाग लिँदै लन्डनवासी सन्तोष राईले स्पेनमा फहराए नेपाली झण्डा

प्रजय शुक्ल
असार १९, २०८२ बिहिबार ९:९, लन्डन

लन्डनमा बसोबास गर्ने नेपाली धावक सन्तोष राईले स्पेनको पोन्टेभेड्रामा सम्पन्न वर्ल्ड च्याम्पियनसिप लङ डिस्टेन्स ट्रायथलनमा नेपालको झण्डा गौरवसाथ फहराएका छन्। 

जुन २९ तारखि सम्पन्न उक्त प्रतिस्पर्धामा उनले ४०–४४ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्दै ४४ प्रतिस्पर्धीमध्ये उत्कृष्ट १७ स्थानमा आफूलाई राख्न सफल भएका हुन्।

तीन खेलको संयोजन- ३ किलोमिटर पौडी, १२१ किलोमिटर साइकल रेस र ३० किलोमिटर म्याराथन दौड गर्नुपर्ने यो प्रतियोगिता संसारकै सबैभन्दा कठिन खेलमध्ये एक हो।

स्पेनको पोन्टेभेड्रामा नेपालको झण्डा फहराउँदै प्रतिस्पर्धा गर्नु मेरो जीवनकै एक अविस्मरणीय यात्रा रह्यो,’ राईले नेपालखबरसँग भने, ‘अत्यधिक गर्मी र प्राविधिक चुनौतीपूर्ण कोर्सका बाबजुद प्रदर्शन सन्तोषजनक रह्यो।’

नेपाल ट्रायथलबाट छानिएका दुई खेलाडीमध्ये एक हुन्- सन्तोष राई। अर्का प्रतिनिधि अमेरिकाको बोस्टनबाट सहभागी सन्तोष कर्माचार्य हुन्, जसले ५०–५४ वर्ष समूहमा प्रतिस्पर्धा गरे।

गत वर्ष अस्ट्रेलियाको टाउन्सभिलमा पहिलोपटक विश्व च्याम्पियनसिप लङ डिस्टेन्स ट्रायथलनमा नेपालको प्रतिनिधित्व गर्दै यी दुईले इतिहास रचेका थिए। सन्तोष राई त्यतिखेर टप १३ मा पर्न सफल भए।

धावक राई नेपाल रन, यूकेका संस्थापकसमेत हुन्। उनले यसअघि पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान उजागर गरेका छन्। सन् २०२५ अप्रिल २७ मा आयोजित लन्डन म्याराथनमा उनले नेपाली राष्ट्रिय पोसाक (दौरा सुरुवाल) मा दौडिएर ‘गिनिज वर्ल्ड रेकर्ड’समेत बनाएका थिए।

उक्त म्याराथनमा उनले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गरेका थिए, जुन दौरा सुरुवालमा म्याराथन दौडिएको सबैभन्दा छिटो समय हो।

सन्तोष राईको यो सफलता केवल व्यक्तिगत उपलब्धि होइन, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति र क्षमतालाई चिनाउने प्रतीक पनि हो।

लङ डिस्टेन्स ट्रायथलनजस्तो शारीरिक, मानसिक र रणनीतिक दृष्टिले अत्यन्त कठिन खेलमा नेपाली धावकले देखाएको प्रदर्शनले भावी पुस्तालाई पनि प्रेरणा दिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad