फिफा क्लब विश्वकपमा पोर्टोलाई पराजित गर्दै लियोनल मेस्सी सम्मिलित इन्टर मियामीले पहिलो जित दर्ता गरेको छ।
गएराति भएको समूह ‘ए’ को खेलमा मियामीले पोर्टोमाथि २–१ को जित दर्ता गरेको हो। मियामीलाई क्लब विश्वकपमा पहिलो जित दिलाउन गोल गरेका मेस्सीले मियामीका लागि ५० औा गोल गरे।
पहिलो हाफको आठौँ मिनेटमा सामु अघेहोवाको पेनाल्टी गोलमा पोर्टोले मियामीविरुद्ध सुरुवाती अग्रता बनाएको थियो।
खेलको सुरुवातमा नै मियामीमाथि अग्रता बनाएको पोर्टोले त्यसपछि खेलमा दबाब बनाउन नसक्दा दोस्रो हाफमा दुई गोल खान पुग्यो।
खेलको ४७ औँ मिनेटमा मार्सेलो वेइगान्ड्टको पासमा टेलास्को सेगेभियाले गोल गर्दै मियामीलाई खेलमा फर्काएका थिए।
खेलको ५४ औँ मिनेटमा लियोनल मेस्सीको गोलमा मियामीले अग्रता दोब्बर पार्यो। मेस्सीले मियामीका लागि ६१ औँ खेलमा ५० गोल गरेका हुन्।
समूह ‘ए’ कै अर्को खेलमा पाल्मिरासले अल अहलीलाई २–० ले पराजित गरेको छ।
जितसँगै माल्मिरास समुह ‘ए’ को शीर्ष स्थानमा छ। मियामी दोस्रो स्थानमा छ। एक खेलमा जित र एक खेलमा बराबरी गरेका पाल्मिरास र मियामीको समान चार अंक छ। समान एक खेलमा बराबरी र एक खेलमा हार भोगेका पोर्टो तेस्रो र अल अहली चौथो स्थानमा छ।
समूह ‘बी’ को खेलमा एथलेटिको डि मड्रिडले सिट्ले साउन्डर्सलाई ३–१ ले हराएको छ। समूह ‘बी’ मा समान एक खेलमा जित निकालेका पिएसजी शीर्ष र बोटाफोगो दोस्रो स्थानमा छन्।
पहिलो जित निकालेको एथलेटिको तेस्रो स्थानमा छ। दुई खेलमा हार भोगेको सिट्ले साउन्डर्स पुछारमा छ।
समूह ‘जी’ को खेलमा भने युभेन्टस्ले अल ऐनमाथि ५–० को फराकिलो जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ। समूह चरणमा पहिलो जित दर्ता गरेको युभेन्ट्स ३ अंकमा शीर्ष स्थानमा छ। म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ।
Shares

प्रतिक्रिया