अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा गणेश थापालाई निषेध गरिएको छ।
काभ्रेको धुलिखेल नगरपालिकाको सभाहलमा चलिरहेको एन्फाकाे नियमित साधारण सभामा सहभागी हुन कार्यक्रम स्थल पुगे पनि उनलाई नेपाल प्रहरी र एन्फाकै सुरक्षा गार्डले कार्यक्रम स्थलमा प्रवेश गर्न रोक लगाएका हुन्।
भित्र प्रवेश गर्न नपाएपछि थापा र उनी समर्थित एन्फाका पदाधिकारीसमेत प्लेकार्डसहित गेट बाहिरै उभिएका छन्।
एन्फाका प्रवक्ता सुरेश शाहले थापाले साधारण सभामा उपस्थित हुनका लागि केही प्रक्रिया पूरा गर्न बाँकी रहेको प्रतिक्रिया दिए।
‘यसबारेमा हामी पत्रकार सम्मेलन गरेरै विस्तृतमा जानकारी दिन्छौँ, उहाँले केही प्रक्रिया पूरा गर्न बाँकी भएकाले अहिले सहभागी हुन नपाउनु भएको हो,’ प्रवक्ता शाहले नेपालखबरसँग भने।
२०८१ चैत २० गते एन्फाले संघमा आवद्ध क्लबहरु लगायतका साधारण सदस्यहरुलाई वैशाख २६ गते सम्पन्न हुने नियमित साधारण सभामा सहभागी मताधिकार प्रतिनिधि तथा प्रतिनिधीहरुको नामावली उपलब्ध गराइदिन पत्राचार गरेको थियो।
उक्त पत्रपछि आर सी ३२ क्लब एकेडेमीले गणेश थापालाई पनि सहभागी प्रतिनिधिको रुपमा भाग लिन पठाउने गरी वैशाख १५ गते निर्णय गरेको थियो।
तर थापालाई साधारण सभामा सहभागी हुन नदिन भन्दै एन्फाको तर्फबाट महासचिव दामोदर भट्टराईले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। तर उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले एन्फाको माग बमोजिम आदेश दिन अस्वीकार गर्दै थापाकै पक्षमा आदेश गरेको थियो।
आदेशमा भनिएको छ, ‘सुविधा र सन्तुलनको दृष्टिकोणबाट विपक्षी गणेश थापाको सहभागीताले अखिल नेपाल फुटबल संघको २०८२ वैशाख २६ गते हुने साधारण सभाको संचालनमा प्रतिकुल असर पर्ने अवस्था देखिएन। तसर्थ वैशाख २१ मा भएको आदेशलाई परिवर्तन गरिरहन परेन।’
वैशाख २१ गते अदालतले थापालाई साधारण सभामा सहभागी हुने बाटो खुला गरिदिएको थियो। तर अदालतको आदेशविपरित उनका छोरा गौरव थापा पनि गेट बाहिरै रोकिएका छन्।
काभ्रे प्रहरीले भने आफूहरुलाई एन्फाले सुरक्षाका लागि पत्राचार गरेकाले सोही अनुसार जनशक्ति खटाएको जनाएको छ। कसलाई रोक्ने कसलाई भित्र पठाउने भन्ने विषय प्रहरीको नभई एन्फाकै सुरक्षाकर्मीले गरिरहेको पनि प्रहरीको भनाई छ।
Shares

प्रतिक्रिया